भारतीय अस्पतालमा नेपाली अलपत्र
जाजरकोट : जिल्लाको नलगाड नगरपालिका-९ तात्रगाडका ३५ वर्षीय दानबहादुर सिंह मुटुको भल्भ फेर्ने पैसा नहुँदा भारतीय अस्पतालमा अलपत्र परेका छन्। उनी भारतको लद्दाखस्थित प्रतापपुर आर्मी अस्पतालमा अलपत्र परेका हुन्। गाउँमा घर बनाउँदा लागेको २ लाख ऋण तिर्न पैसा कमाउन भारत पुगेका उनलाई त्यहाँ मुटुसम्बन्धी समस्या देखिएको थियो।
‘ज्याला मजदुरी गरेर घरको ऋण तिरौंला भनेर भारत आएका थियौं,’ दानबहादुरकी पत्नी ताराले भनिन्, ‘पति नै जटिल खालको बिरामी भएका छन्। यहाँ उपचार गर्ने पैसा छैन, कसरी घरको ऋण तिर्नु।’ लद्दाख पुग्नासाथै पति बिरामी परेपछि उपचार गर्नै समस्या भएको उनको भनाइ छ। गत माघ १९ गते एक्कासी छातिको दायाँ भागमा दुख्न थालेपछि दानबहादुर बेहोस भएका थिए।
उनलाई लद्दाखस्थित जिल्ला उप-स्वास्थ्य चौकीको इमरजेन्सीमा भर्ना गरियो। उपचार खर्च नहुँदा उनी अस्पतालमै अलपत्र परेका छन्।
‘पतिलाई व्यथाले च्याप्दै गएपछि प्रतापपुर आर्मी अस्पतालको आईसीयूमा राखेका छौं तर उपचार खर्च तिर्ने रकम छैन,’ ताराले भनिन्, ‘उपचारमा संलग्न डाक्टर योगेशकुमार एसले अप्रेसनका लागि नयाँ दिल्ली रेफर गरेका छन्।’ डाक्टरका अनुसार दिल्लीमा अप्रेसन गरेर मुटुको भल्भ फेर्न करिब ७ लाख भारतीय रुपैयाँ लाग्छ।