खानेपानीमा २ करोडको भ्रष्टाचार
काठमाडौं : साविक खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नवलपरासीका कार्यालय प्रमुख रामचन्द्र काफ्लेसमेत ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
उनीहरुविरुद्ध २ करोड २ लाख ७३ हजार विगो कायम गरिएको छ । राष्ट्रि वाणिज्य बैंकका शाखा प्रबन्धक राजुप्रसाद ढकालसमेतको मिलेमतोमा नक्कली तथा झुठ्ठा बैंक कार्यसम्पादन जमानत र अग्रिम रकम भुक्तानी बैंक जमानतका आधारमा ठेक्काको सम्झौता र मोविलाइजेशन पेश्की दिई÷लिई रकम हिनामिना भएको अख्तियारका प्रवक्ता कोइरालाले जानकारी दिए ।
यसमा सुनौला खिम्ती–अजम्बर–शिवराम जेभीका जेभी पार्टनर शिवजी सापकोटा, वैकुण्ठप्रसाद भण्डारी, धर्मराज भण्डारीसमेत मिलोमतो देखिएको छ ।
कार्यालय प्रमुख काफ्ले र लेखा अधिकृत ध्रुवराज गौतमले निर्माण कम्पनीका प्रतिनिधि तथा संचालकसँग मिलेमतो गरी सरकारी रकम हानिनोक्सानी पुर्याउने र आफूले लाभ लिने उद्देश्यले नक्कली बैंक ग्यारेण्टीको आधारमा ठेक्काको सम्झौता र मोविलाइजेशन रकम भुक्तानी दिई सरकारी सम्पत्तिको बदनियतसाथ हिनामिना, हानिनोक्सानी गरेको स–प्रमाण पुष्टि भएको अख्तियारले जनाएको छ ।
बैंक प्रबन्धक ढकालले आफूले लाभ लिने उद्देश्यले नक्कली बैंक ग्यारेण्टी बनाएर भ्रष्टाचारमा संलग्न भएको देखिएको छ ।
सुनौला खिम्ती–अजम्वर–शिवराम जेभी पार्टनर शिवराम कन्ट्रक्सनका अध्यक्ष शिवजी सापकोटा, अजम्वर निर्माण सेवाका प्रोपाइटर बैकुण्ठप्रसाद भण्डारी र सुनौला खिम्ती कन्सट्रक्सनका प्रबन्ध निर्देशक धर्मराज भण्डारीले नक्कली बैंक ग्यारेण्टी पेश गरी आफ्ना प्रतिनिधिमार्फत ठेक्काको सम्झौता र मोविलाइजेशन पेश्की भुक्तानी लिई ठेक्काको म्याद थपसमेतको कार्य गरी निजहरुले आफूलाई गैरकानूनी लाभ र्पुयाउने बदनियतले झुठ्ठा नक्कली बैंक जमानतहरु पेश गरी आयोजनाको निर्माण कार्यमा संलग्न भई भुक्तानी र ठेक्काको अन्तिम भुक्तानीसमेत लिएको देखिएको छ ।
भ्रष्टाचार निवारण ऐन, बमोजिमको सजाय गरी हानिनोक्सानी भएको बिगो रकम असुर उपर गरी जफत हुन मागदाबी विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरीएको छ ।