सेमिफाइनल समीकरण पूरा
इलाम : आयोजक माई भ्याली फुटबल क्लब इलाममा जारी ‘माई भ्याली गोल्डकप फुटबल प्रतियोगिता’को सेमिफाइनलमा प्रवेश गरेको छ। आयोजक माई भ्याली क्लबले मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा भारतको कोलकातास्थित मोहम्मदन स्पोर्टिङ क्लबलाई २–१ गोलले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो।
मंगलबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ। माई भ्याली क्लबले बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी त्रिभुभन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ। मध्यान्तरअघिको अधिकांश समय माई भ्याली क्लबले खेलमा दबाब कायम गर्यो। चौथो मिनेटमै माई भ्याली क्लबका जुनियर ओंगुइनले टोलीलाई सुरुआती अग्रता दिलाए।
पाहुना टोली मोहम्दनका लागि ४४औं मिनेटमा किरमेह बनोर्नाले जवाफी गोल फर्काए। आयोजक टोलीका गोलरक्षकले डिएरियाबाहिर हातले बल छोएपछि मोहम्दनका बनोर्नाले प्रहार गरेको फ्रिकिक गोलमा परिणत भएको थियो। दोस्रो हाफको इन्जुरी समयमा माई भ्यालीकी क्लबका लागि एन्ड्रो थियरीले निर्णायक गोल गरे।
मोहम्मदनका रक्षकले आयोजक क्लबका खेलाडीलाई डिएरिया नजिक फाउल गरेपछि पाएको फ्रिकिक प्रहारको अवसरलाई थियरीले सदुपयोग गरेका हुन्। विजेता टोलीका एन्ड्रो थियरी खेलको म्यान अफ दी म्याच घोषित भए। पहिलोे रोजाइको टिम आई लिग खेल्न व्यस्त रहेकाले आफ्नो टिमले राम्रो प्रदर्शन गर्न नसकेको मोहम्मदनका प्रशिक्षक मुरारी करले बताए। आयोजक क्लबका प्रशिक्षक दर्शन भत्ताराजले आफ्नो टोलीले अन्तिम समयमा अवसर सदुपयोग गरेर जित हात पारेको प्रतिक्रिया दिए।
माई भ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिता फागुन २४ सम्म चल्नेछ। प्रतियोगिताको विजेता टोलीले आठ लाख र दोस्रो हुने टोलीले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्न गर्नेछन्।