कांग्रेसमा फेरि विवाद : पौडेल समूहले गरे बैठक बहिष्कार

कांग्रेसमा फेरि विवाद : पौडेल समूहले गरे बैठक बहिष्कार

काठमाडौं : महाधिवेशन मिति सार्वजनिक गर्नुपर्ने माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मंसिर २६ देखि पुस ११ गतेसम्म केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार गर्‍यो। सभापति शेरबहादुर देउवाले बहुमतबाट महाधिवेशन मितिलगायतका महत्त्वपूर्ण निर्णय गरे।

पार्टी सभापति एकलौटी रुपमा अगाडि बढ्न खोजेको भन्दै पौडेल समूह थप चिढियो। शीर्ष नेताहरुबीच माघ १० गते महाधिवेशनको आन्तरिक कार्यतालिका परिमार्जनलगायत भ्रातृसंस्थामा भागबण्डा गर्ने विषयमा सहमति भएपछि कांग्रेसभित्रको विवाद मत्थर भएको थियो। तर डेढ महिना नपुग्दै कांग्रेसभित्र फेरि पुरानै विवाद बल्झिएको छ।

सभापति देउवाले कार्यकालको अन्तिममा केन्द्रीय विभाग गठन, केन्द्रीय सदस्य मनोनीत गर्नुका साथै पार्टीका सांगठनिक संरचना गठन तथा विस्तार गर्न थालेपछि पौडेल पक्ष फेरि रुष्ट बनेको हो। आफूहरुको असहमतिका बीच सभापति देउवाले महाधिवेशनलाई प्रभावित पार्ने गरी विभाग गठन र केन्द्रीय सदस्य मनोनीत गरेको आरोप पौडेल समूहको छ। पौडेल समूहले महाधिवेशनबाहेकका विषयमा सभापति देउवाले बोलाएको केन्द्रीय समिति र अन्यय कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको छ।

उपसभापति विमलेन्द्र निधि प्रमुख रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बोलाएको जिल्ला प्रशिक्षण शाखाका प्रमुख (उपसभापति) बैठक पौडेल समूहले बहिष्कार गरेको हो। प्रशिक्षण शाखाको जिल्ला प्रमुख पार्टी जिल्ला उपसभापति हुने कांग्रेस विधानमा प्रावधान छ। पौडेल समूहको बुधबार बिहान बसेको बैठकले प्रतिष्ठानका कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको थियो।

‘१४ औं महाधिवेशन मिति घोषणा भइसकेको अवस्थामा पार्टीभित्र निर्वाचन आचारसंहिता लागू भइसकेको छ। यस्तो बेला महाधिवेशनलाई प्रभावित गर्ने गरी विभाग र केन्द्रीय सदस्य मनोनीत गर्ने काम भएको छ,’ नेता प्रकाशमान सिंहले भने, ‘सभापतिज्यूको यस्तो खालका निर्णय हामी स्वीकार्दैनौं। अब महाधिवेशनबाहेकका अरु कार्यक्रममा हामी सहभागी नहुने निर्णय गरेका छौं।’ नेता सिंह निवास चाक्सीबारीमा भएको छलफलमा पौडेल समूह निकट केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापति र जिल्ला उपसभापति सहभागी थिए।

प्रतिष्ठानले बोलाएको बैठकमा सहभागी हुन सबै जिल्ला उपसभापति काठमाडौं पुगेका थिए। तर चाक्सीबारीको छलफलपछि पौडेल समूह निकट जिल्ला उपसभापति प्रतिष्ठानको बैठकमा सहभागी भएनन्।

सभापति देउवाले ४७ विभागमध्ये २० विभाग प्रमुख गठन गरेका छन् भने दुई केन्द्रीय सदस्यसहित एक दर्जन आमन्त्रित केन्द्रीय सदस्य मनोनीत गरेका थिए। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने सभापतिले विधानअनुसार नै विभाग गठन गरेको र बाँकी विभाग पनि सहमतिमै गठन हुने दाबी गरेका छन्।

‘सबै विभाग गठन गरिएका छैनन्। बाँकी विभागमा सबै पक्षलाई मिलाएर लैजाने भन्ने सभापतिको मनसाय हो,’ सञ्चार, सूचना तथा प्रचार विभाग प्रमुखसमेत रहेका प्रवक्ता शर्माले भने, ‘विमतिका विषयलाई सहमतिमै टुंग्याउने हो। यसअघि पनि पार्टीभित्र विवाद नदेखिएको होइन। अन्तिममा सहमतिमै सबै विषय टुंग्याइएको हो। अहिले पनि सहमतिको प्रयास भइरहेको छ।’

उनले केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्य मनोनीत पनि विधानको व्यवस्था अनुसार भएको दाबी गरे। ‘महाधिवेशनलाई प्रभावित गर्न खोजियो भन्ने कुरा सत्यता छैन। विधानको व्यवस्थाअनुसार नै उहाँहरुलाई मनोनीत गरिएको हो,’ प्रवक्ता शर्माले भने, ‘विधानमा अन्य दलबाट आउनेहरुलाई राजनीतिक निर्णय गरेर केन्द्रीय समिति र आमन्त्रित सदस्य थप गर्न सक्ने व्यवस्था छ।’

कांग्रेसले यसअघि उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनीत गरेको थियो भने फागुन १९ गते जंगीलाल राय र कर्णबहादुर बुढालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको थियो। त्यस्तै मोहनसिंह राठौर, शम्भुलाल श्रेष्ठ, अभिशेषप्रताप शाह, दयाराम पाण्डे, जनकराज कलौनी र भूमिबहादुर (विश्व) गुरुङलाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत भएका थिए।

५ लाख क्रियाशील सदस्यलाई प्रशिक्षण

कांग्रेसले पाँच लाख क्रियाशील सदस्यलाई प्रशिक्षण दिने भएको छ। उपसभापति विमलेन्द्र निधि प्रमुख रहेको प्रशिक्षण प्रतिष्ठानले प्रशिक्षण दिने जनाइएको छ। पार्टी कार्यालय सानेपामा बुधबार जिल्ला प्रशिक्षण शाखाका प्रमुख (उपसभापति) हरुसहित बसेको प्रतिष्ठान बैठकले ७७ वटै जिल्लाका ६ हजार सात सय ४३ वडामा सञ्चालन गर्ने प्रशिक्षण कार्यक्रमका लागि १० हजार प्रशिक्षण प्रशिक्षक तयार गर्ने कार्ययोजना अनुमोदन गरेको प्रतिष्ठानका सचिव मुक्ति आचार्यले जानकारी दिए। प्रतिष्ठानका प्रमुख निधिले सबै जिल्ला र १३० प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा प्रशिक्षण शाखा गठन गर्न जिल्ला प्रशिक्षण शाखाका प्रमुखहरुलाई निर्देशन दिएका थिए।

भेला, सम्मेलन र सभा स्थगित

कांग्रेसले पार्टीसँग आवद्ध संस्थाहरुका सबै तहका ठूला भेला, सम्मेलन र सभा लगायतका कार्यक्रम नगर्ने भएको छ। कोरोना भाइरसको जोखिमका कारण कांग्रेसले अनिश्चितकालसम्मका लागि पार्टीका भेला र सम्मेलन स्थगन गर्ने जनाएको हो।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार पत्रकार सम्मेलन आयोजना गरी कोरोना भाइरस जोखिमका कारण पार्टीले कुनै पनि सभासम्मेलन नगर्ने निर्णय गरेको जानकारी दिए। कोरोना संक्रमणबारे ‘सहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घरघरसम्म’ सतर्कता र चेतनाको अभियान सञ्चालन गर्ने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.