कोरोना प्रभाव : माथिल्लो मर्स्याङ्दीमा कडा निगरानी
बेंसीसहर : कोरोना भाइरसको त्रास विश्वभर फैलिन थालेपछि मर्स्याङ्दी गाउँपालिका–७ भुलभुलेस्थित माथिल्लोमर्स्याङ्दी–ए जलविद्युत आयोजनामा उच्च सर्तकता अपनाइएको छ। चिनियाँ कामदार हालै आएपछि आवासगृह र आयोजना स्थलमा सर्तकता बढाइएको हो।
कर्मचारीलाई बाहिर हिँडडुल गर्न र बाह्य व्यक्तिलाई भित्र आउन कडाइ गरिएको छ। चिनियाँ कम्पनी सिनो सगरमाथा होइड्रोपावर प्रवद्धक रहेको सो आयोजनामा हाल ३९ चिनियाँ र एक सय बढी नेपाली कामदार कार्यरत छन्। हालसम्म कसैलाई उच्च ज्वरो तथा रुघाखोकीको समस्या नदेखिएको आयोजनाका प्रोडक्सन एवं टेक्नोलोजी म्यानेजर लि काउयुआनले बताए।
आयोजनाले तीन प्रकारका मास्क, स्प्रिट, लिक्विड, हात धुने सेनिटाइजर, थर्मोमिटर, स्प्रेयरलगायत सामग्री खरिद गरेको छ। कर्मचारीलाई दैनिक तापक्रम जाँच गरेर मात्रै कार्यक्षेत्रमा खटाइएको छ। चिनियाँ तथा अन्य प्रशासनिक कर्मचारीलाई तीन महिनायता विदा दिइएको छैन्। ‘अत्यावश्यक काम भए बेंसीसहरसम्म जान दिइन्छ, नत्र भित्रको भित्रै हो’, आयोजनाकाजनसम्पर्क अधिकृत कर्ण अधिकारीले भने।
दैनिकजसो मासु पाक्ने चिनियाँ भान्सामा आजभोली सागसब्जी बढी पाक्न थालेको छ। ‘दैनिक सरसफाई र खानपिनमा मासु कम गर्दै सागसब्जी बढी गर्न थालेका छौं’, प्रशासन प्रमुख लि काउयुआनले भने।