गाउँपालिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
स्थानीय सरकार नै भ्रष्टाचारमा लिप्त भएको छ । घर गाउँमा नै सिंहदरबार आएर खुसी भएका जनताबाटै स्थानीय सरकारका प्रतिनिधिले कमिसन, घुस खान थालेका छन् ।
जाजरकोट जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीविरुद्ध विशेष अदालतमा घुस मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष केसी र वडा नम्बर ५ का वडा अध्यक्ष राजबहादुर शाहीविरुद्ध २५ लाख ५० हजार विगो कायम गरी मुद्दा हालेको हो ।
अध्यक्ष केसी र वडाध्यक्ष शाहीले एकआपसमा मिलेमतो गरी सेवाग्राहीसँग सडक निर्माण कार्यमा कमिसनबापत रकमको लागि बार्गेनिङ गरी पटक-पटक नगदै लिइ, बैंक खातामा जम्मा गर्न, विभिन्न होटलमा तिर्न र गाडी रिजर्भको भाडा तिर्न लगाइ विभिन्न बाहानामा घुस लिएको खुलेको छ । उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबीसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
त्यस्तै गाउँपालिकाका अध्यक्ष केसी र जनता आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर बस्नेत मिलेर ८ लाख घुस लिएको अर्को मुद्दा पनि विशेष अदालतमा दर्ता भएको छ । केसी र बस्नेतलाई घुससहित अख्तियारको टोलीले पक्राउ गरेको थियो । उनीहरूले एक आपसमा मिलेमतो गरी सेवाग्राहीसँग सडक निर्माण काम सम्पन्न पश्चात भुक्तानीको लागि सहजीकरण गरिदिन घुस लिएका थिए ।