६५ रोपनी गौचरण निजी कामय
काठमाडौं : दोलखाको तामाकोसी गाउँपालिका-४ मालुस्थित डाँडापारी छाप डाँडाको ६५ रोपनी सार्वजनिक जग्गा व्यक्तिका नाम दर्ता गरिएको छ।
मालपोत कार्यालय दोलखाका कर्मचारीको मिलोमतोमा गौचरणको जग्गा व्यक्तिका नाममा कायम गरिएको भन्दै स्थानीयले सरकारी, सार्वजनिक तथा गुठी जग्गा संरक्षणसम्बन्धी जाँचुबुझ आयोगमा उजुरी दिएका छन्।
२०४६ मा सर्वे नापीका समयमा तत्कालीन ६ नम्बर गोश्वरा दोलखाका अमिन रामप्रसाद गौतम र शंकर चौधरीसँगको मिलोमतोमा मुखिया हरिबहादुर खड्काले छोरा, भाइ-भतिजाको नाममा जग्गा नापी गराएर दर्ता गरी लालपुर्जा समेत लिएको उजूरीमा उल्लेख छन्। कित्ता नम्बर २९७, ३३६, ३३७, ३३८, ३३९, ३४१, ३४२, ३४३, ६२१, ६२२ र ६२३ को सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरिएको हो।
उजुरीअनुसार लोकबहादुर, उदयबहादुर, भक्तबहादुर, टंकबहादुर, भीमबहादुर, जगतबहादुर, इन्द्रबहादुर, बलबहादुर, सीतादेवी, कृष्णबहादुरको नाममा दर्ता गरिएको छ। यी जग्गा आवादी प्रति भन्दै पास गरिएको छ। त्यस वरिपरि कबुलियत वन क्षेत्र छ।
यो जग्गा परापूर्वदेखि नै गौचरणको रुपमा रहेको स्थानीय सन्तोष खड्का बताउँछन्। ‘यो साविकको मालु गाविस वडानम्बर ३, ४ र ५ का बासिन्दाले बस्तुभाउ चराउने गौचरण क्षेत्र हो’, उनले भने, ‘यो हाम्रा पुर्खा यो थलोमा आएदेखि नै यो बाँझो जग्गा हो।’
नापी कर्मचरीको मिलोमतोमा सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता कायम गरिएको भन्दै बदर गर्न स्थानीयले आयोगमा उजुरी दिएका छन्।
उजुरीमाथि जाँचबुझ आयोगले छानबिन पनि थालेको छ। दोलखा जिल्ला अदालतमा पनि यो मुद्दा विचराधीन छ।