वसन्त ऋतुको रंगीन पर्व फागु

वसन्त ऋतुको रंगीन पर्व फागु

मैथिली साहित्यका महाकवि विद्यापतिले वसन्त ऋतुको अनुपम सौन्दर्यको चित्रांकन गर्दा फागु महोत्सवको वासन्ती र सांस्कृतिक पक्षमाथि प्रकाश पार्नुभएको छ किनभने फागु वसन्त ऋतुमा मनाइने सबैभन्दा ठूलो लोकोत्सव हो। उहाँको एउटा वसन्त पदलाई उद्धृत गरेर उपर्युक्त कथनलाई समर्थित गर्न सकिन्छ-

‘नव वृन्दावन नवनव तरुगन
नवनव विकसित फूल

नवल वसन्त नवल मलयानिल
मातल नव अलिकूल।’
यस कथनलाई अझ स्पष्ट गर्न सकिन्छ-
‘आएल ऋतुपति राज वसन्त
घायल अलिकुल माधवी पन्थ।’

वसन्त ऋतुको पदार्पण जब प्रकृतिको प्रांगणमा हुन्छ तब भमरा समूह सबैभन्दा पहिला मातेको हुन्छ। रसिक भमरा फूलको सुवास एवं सुगन्धले भरिएको बाटोतिर अर्थात् आफ्नो गन्तव्यतिर लम्किन थाल्छ। यस्तै मादक मनोहर र मस्त तथा मधुर वातावरण सिर्जना गर्नमा वसन्त ऋतु सफल हुन्छ। चारैतिर अब सरस र सुन्दर वातावरण सृजित हुन्छ अनि मिथिलावासी पनि मदमस्त भएर फागुको लोकोत्सव मनाउन थाल्छन्। मस्ती नै यस लोकोत्सवको मूल मन्त्र हो। जीवनमा आनन्द प्राप्ति नै मानिसको ठूलो अभिलाषा हुन्छ। फागु लोकोत्सव मनाउनुको पछाडि आनन्दको अन्वेषण पनि एउटा मुख्य कारकतत्‍व हो। यसको प्रारम्भ वसन्तपञ्चमीदेखि नै हुन्छ। जब मिथिलावासी जुन अधिकांश कृषक हुन्, आफ्नो मुख्य धानबाली घरभित्र राखिसक्छन्; त्यसपछि मोजमस्तीले भरिएको लोकोत्सव फागु मनाउनमा चिन्ताविहीन भएर दत्तचित्त हुन्छन्। यो मनोवैज्ञानिक पनि हो। जब मानिस चिन्ताविहीन हुन्छ, कामकाजको बोझबाट उन्मुक्त हुन्छ अनि ऊ आमोद-प्रमोदमा लाग्न खोज्छ। यसै मनोवैज्ञानिक मनस्स्थितिको मनग्गै कुण्ठित एवं दमित उन्मुक्ति हो- फागु पर्व।

महाकवि कालिदास को शब्दमा-

उत्सव प्रियाः खलु मनष्याः
आजको आधुनिक मनोविज्ञानले पनि यस तथ्यलाई पुष्टि गर्छ। मानिस स्वभावतः उत्सवप्रिय हुन्छ। तसर्थ यसअनुरूप सुरम्य एवं सुरुचिपूर्ण वातावरण पनि सिर्जना हुनु सर्वथा स्वाभाविक हुन्छ।

संसारका विभिन्न जातिले आआफ्नो सांस्कृतिक परम्पराअनुसार आफ्नो मौलिक लोकोत्सव मनाउनुको पछाडि पनि यही तथ्य लुकेका छन्। अमेरिका र युरोपमा क्रिसमस, मुस्लिम देशहरूमा इद (रमजान) र हिन्दु देशहरूमा दसैं, दीपावली र फागु मनाउनु यसै तथ्यका ज्वलन्त उदाहरण हुन्। यस किसिमका लोकोत्सव मनाउँदा संस्कृति संरक्षणका साथसाथै मनोरञ्जनको पनि भावना पुष्ट हुन्छ। यस अर्थमा फागुको सांस्कृतिक पक्ष झन् प्रस्ट हुन्छ। कामसूत्रको ‘जय मंगला टीका’ मा सुवसन्तलाई ‘मदन महोत्सव’ भनिएको छ। यसमा नृत्य, गीत, बादादिको सम्यक् निदान हुन्थ्यो यथा (‘होलाका फाल्गुन पुर्णिमायां शृङ्गादि मुक्तेन किंशुकमार्दि कुसुम रागाभ्सा परस्परोक्षम् मिथः पटवास प्रक्षेपश्च। ‘सरस्वती कंठाभरणका अनुसार सुवसन्तकनै वसन्तावतारको पहिलो दिन हो। पृथ्वीमा उसको नवोन्मेष, उसको मंगलावतरणको मंगल उद्घोष।

समयको साथसाथमा यसमा आएका केही विकृति र केही कुरीति हटाउँदै आफ्नो लोकपरम्परामै मनाउनु मुनासिव देखिन्छ।

प्रकृतिको प्रस्फुटित पूर्ण यौवनको वासन्ती पृष्ठभूमिमा जब प्रकृति आफ्नो पीत परिधानमा परिवेष्टित हुन्छिन् र मधुमासको मन्द-मन्द मलयानील पनि संगीतमय गाना गाउँदै प्रवाहित हुन्छ तब फागुको सांस्कृतिक पर्व सम्पूर्ण नेपाल अधिराज्यमा मनाइन्छ। संगीतमय तिहारहरूमा ’फागु’ को तिहार सर्वोत्कृष्ट र सबैभन्दा सरस तथा सुहाउँदो किसिमको मानिन्छ। यसको पृष्ठभूमिमा आँपका बगैंचाहरूमा कर्णप्रिय कोइलीको सरस एवं सुमधुर पञ्चमतान, पपिहाको पी-पीको पुकार, पुष्पहरूको मधुमय मुस्कान, भौंराँहरूको संगीतमय स्वरलहरीले सम्पूर्ण वातावरण प्रतिध्वनित हुन थाल्छ। चारैतिर नयाँ उत्साह, नौलो उमंग, रमाइलो रमझमको सुमधुर र संगीतमय वातावरण दिगदिगन्तमा परिव्याप्त भइहाल्छ। वन-उपवन, खेत-खलिहान, गाउँ-गल्ली र चौबाटो-चौतारी तथा गोरेटो-घोडेटो फागुको लोकलहरीबाट निनादित हुन थाल्छ। फागुको सुमधुर सम्झनामा वासन्ती मादकता नेपाली तन्नेरी र तरुणीहरूको प्रेमासिक्त आँखामा गाजलको रूपमा खेल्न थाल्छ र नीलो आकाशमा सेतो बादल मादल लिएर संगीतको सरस धारा प्रवाहित गर्न थाल्छ। सांस्कृतिक पर्व फागु ऋतुराजको यस्तै मधुरतम एवं मादक बेलामा सम्पन हुन्छ। यसलाई मैथिली भाषामा ‘फगुआ’ र ‘होरी’ भनिन्छ। प्राकृतिक सौन्दर्यका अमर गायक महाकवि कालिदासले यसलाई (‘अभिज्ञान शाकुन्तलम्’ ‘रघुवंश’ र ‘मालविकाग्निमित्र’ मा ऋतु) उत्सवको उपाधिबाट अलंकृत गरेका छन्।

यो लोकोत्सव हिरण्यकशिपुकी बहिनी होलिकासँग सम्बन्धित भएकाले यसलाई होलिका दहन पनि भनिन्छ। हिरण्यकशिपुको आतंक र अत्याचारबाट सबै प्रजाजन प्रताडित एवं पीडित थिए। उसको छोरा प्रह्लाद भगवान्को सच्चा भक्त थिए। उसले प्रह्लादलाई मार्न एउटा षड्यन्त्र रच्यो। होलिकाको काखमा राखेर प्रह्लादलाई मार्ने योजना बनाइयो तर प्रह्लाद भगवान्को असीम कृपाबाट बच्यो। होलिका आगोमा जलेर मरिन्। त्यसै बेलादेखि यस होलिका दहनको परम्परा चल्दै आएको भनिन्छ।

मिथिलाञ्चलमा प्रतिवर्ष यो लोकोत्सव मनाइने परम्परा अद्यापि प्रचलित छ। के गाउँ के सहर सबै ठाउँमा यो समान रूपमा मनाइन्छ। रङ र अबीरको खुलमखुला प्रयोग हुन्छ। सम्पूर्ण वातावरण रंगीन देखिन्छ। यो रंगारङ लोकोत्सवमा के बालबालिका, के युवक र के बूढा सबै समानरूपमा सहभागी हुन्छ। त्यस्तै के बच्ची, के तरुणी र के बूढी सबै समान भएर आपसमा रङ र अबीरले शराबोर भएर उन्मुक्त भएर यस लोकोत्सवलाई सार्थकता र जीवन्तता प्रदान गर्छ। सालभरिको दमित एवं कुण्ठित मनोग्रन्थि फुकाउने अवसर प्रदान गर्छ यो फगुआ तिहारले। अश्लील लोकगीत गाइन्छ। गालीगलौज गरिन्छ तर कसैले न राम्रो मान्दैन। तरुनीलाई जिस्काउने गरिन्छ तर यसलाई पनि नराम्रो मानिँदैन। देवर र भाउजूका बीचमा छेडछाड स्वच्छन्दतापूर्वक चल्छ तर यसलाई पनि सामाजिक स्वीकृति नै मानिन्छ। देवर र भाउजूबीच शदीयौंदेखि गाँसिएको सुमधुर सम्बन्धको द्योतक हो यो लोकोत्सव। सालीसँग पनि यस्तै निर्बन्ध सम्बन्ध गाँसिन्छ फगुआभरि। यसै सन्दर्भमा एउटा फगुआ लोकगीतको टुकडा प्रस्तुत गरिन्छ- नकवेसर कागा ले भागा, सैयाँ अभागा न जाना।’ अर्थात् लोग्ने र स्वास्नी साथसाथ सुतेको छ तर कागले स्वास्नीको नकवेसर लिएर भागिसक्यो। लोग्ने अभागीलाई थाहै भएन किनभने ऊ मस्त भएर बेहोस अवस्थामा सुतिराखेकै छ। यस कथनको पनि सांस्कृतिक पृष्ठभूमि छ। फगुआभरि मासु, माछा र मदिरा प्रशस्त खाने परम्परा छ। यसबाहेक भाङ, कुसुमा र अन्य नशालु पदार्थको सेवन स्वतन्त्रतापूर्वक गरिन्छ। जबसम्म मानिस बेहोस हुँदैन तबसम्म यसमा कुनै व्यवधान आउँदैन। यो त भो मांसाहारीको हाल। शाकाहारीहरू भिन्नभिन्न किसिमका स्वादिष्ट भोजन हलुआ, खीर, मिठाई र फलफूल खाने गर्छन्। यिनीहरू भाङ र कुसुमा (नशालु पदार्थ जस्तो- भाङ, धतुरोलाई पिँधेर दूध किसमिस, अलैंची, काजु, नरिवल मिसाएको पेय पदार्थ) खाने गर्छन्। यस्तो पौष्टिक खाना खानुको पछाडि कामोत्तेजना बढोस् भन्ने चाहना हुन्छ। प्रेमको देउता कामदेव आफ्नो सम्पूर्ण शौर्य र पराक्रमका साथ प्रत्येक मान्छेमा कामवासनाको सञ्चारमा साथ दिन्छ। तसर्थ यस लोकोत्सवको एउटा पक्ष कामुक भावनालाई उत्तेजित पार्नु पनि हो भन्न सकिन्छ।

यस लोकोत्सवलाई कृष्ण र राधाको रासलीलासँग पनि जोडिन्छ। कृष्णले जसरी मायावी एउटा साधारण मानिसजस्तो राधा र उसकी सखीहरूसँग सहवास र सुखसयलको आनन्द लुटेका थिए। यमुनाको तटमा कदमको रूखमुनि कृष्णले राधा तथा गोपिनीहरूसँग ‘होरी’ खेलेका थिए। जनकपुरमा राम र सीताले एकआपसमा फागु खेलेका थिए। हिमालयमा शिव र पार्वतीले ‘होरी’ खेलेका थिए। त्यस्तै आजका तन्नेरी र तरुणीहरूबीच रङ र अबीर पिचकारीमा भरेर एकअर्कामाथि रंगीन आक्रमण गर्ने परम्परा शदीयौंदेखि चलिआएको छ। यस प्रसंगमा एउटा फगुआ लोकगीत प्रस्तुत गरिन्छ-

‘रङ घोरू ने प्रिय मिथिला के गोरी
मिथिला के कुल- रीति एहन थिक
खेलत फागु सबै जोडी, रङ घोरू...
किनका हाथ कनक पिचकारी
किनका हाथ अबीर झोरी, रङ घोरू...
रामजी के हाथ कनक पिचकारी
सखियन हाथ अवीर झोरी, रङ घोरू...
खेलत फागु रङ-रस मातल
मिलत गले एक-एक टोली, रङ घोरू... ’

यो लोकोत्सव साम्प्रदायिक सद्भावको प्रतीक हो। यसमा सबै जाति, सबै वर्ग र सबै वर्णका मानिस समभावले सरिक हुन्छन्। जातिपातिको कुनै बन्धन हुँदैन। अमिर र गरिबबीच कुनै भेदभाव हुँदैन। सबै समुदायका मानिस सँगै बसेर सोल्लासपूर्वक यसलाई मनाउँछन्। प्रजातान्त्रिक मूल्य र मान्यताका आधारमा यो लोकोत्सव मिथिलाञ्चलमा प्रतिवर्ष मनाइन्छ। यसको मूल उद्देश्यनै साम्प्रदायिक सद्भाव हो। यसको सबैभन्दा गहकिलो सन्देश नै सबै मानिस समान हो। यसको मूलमन्त्र नै पारस्परिक मैत्री सम्बन्ध हो। यसको शुभ र सुखद उपलक्ष्यमा सालभरिको रिसइबी, मतभिन्नता र मनोमालिन्य बिर्सेर आपसमा अँगालो मानेर यो तिहार मनाइने प्रचलन अदापि पनि छ। एकअर्काको टाउकामा अबीर दलेर र जीउमा रङ हालेर नमस्कार गरिन्छ। अँगालो मारिन्छ। दुई हृदय आपसमा गाँसिन्छ। यो नै सबैभन्दा महत्‍वपूर्ण र मौलिक पक्ष हो यस लोकपर्वको।

मिथिलाञ्चलका हरेक गाउँमा एक महिनादेखि नै गाउँभरिका कसिंगर एक ठाउँमा एकत्रित गरिन्छ र फागु पूर्णिमाको रातिको अन्तिम प्रहरमा त्यसमा आगो सल्काइन्छ। यसलाई स्थानीय भाषामा ‘सम्मत’ भनिन्छ। यसलाई पनि समभाव र सद्भावको सूचक नै मान सकिन्छ। सम्मतको प्रदक्षिणा गरेर र त्यसको खरानी शरीरमा घसेर मानिसहरू विभिन्न बाजागाजाका साथ गाउँका हरेक घरमा घुम्न थाल्छन्। ‘भले हो भले’ र ‘सुनलो मोर कबीर’ भन्दै फगुआ लोकगीत गाउँदै हरेक घरदैलोमा फगुआ लोकगीत गायक दल पुग्छ। प्रत्येक घरवालाले यथोचित स्वागत गर्छ। रङ र अबीर हालेर पान र सुपारी खान दिएर खुला हृदयले यस गायन दललाई बिदाबारी गरिन्छ। यो राम्रो परम्परा हो तर अचेल गाउँलेमा राजनीतिक मतमतान्तर एवं मतभेदले यो परम्परा लोप हुँदै गएको भान हुन्छ। यो सामाजिक लोकोत्सव साँघुरो भएर पारिवारिक पर्वका रूपमा सीमित हुँदै गएको छ, जुन सर्वथा शोचनीय र विचारनीय हो। पारिवारिक परिधिमा सीमित यस उत्सवलाई फेरि उन्मुक्त वातावरणमा ल्याउने जोडदार कोसिस हुन जरुरी छ। संक्षेपमा भन्दा फागु आमोद-प्रमोद, हास-परिहासको उल्लासमय र विलासमय लोकोत्सव हो। यसको सन्देश सर्वे भवन्तुः सुखिनः सर्वे सन्तु निरामयाः हो। सामाजिक एकता, समता र समरूपताको यो पर्व हो। यसलाई यसै सामाजिक र सांस्कृतिक सन्दर्भमा मनाउनु सर्वथा उपयुक्त होला। समयको साथसाथमा यसमा आएका केही विकृति र केही कुरीति हटाउँदै आफ्नो लोकपरम्परामै मनाउनु मुनासिव देखिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.