कोरोना भाइरस : सीमामा लापरबाही

कोरोना भाइरस : सीमामा लापरबाही

बुटवल : भारतमा कोरोना संक्रमण देखिएपछि प्रदेश नम्बर ५ जोखिम क्षेत्रमा छ। भारतसँग सीमा जोडिएका जिल्ला र ठूला नाका भएकाले भारतीयबाटै कोरोना आउने जोखिम बढेको हो।

प्रदेशको सामाजिक विकास मन्त्रालयले जोखिम न्युनीकरणका उपाय अवलम्बनमा ढिलाइ गरेको छ। रूपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाह नाका बढी जोखिमपूर्ण छन्। यी नाकामा स्थानीय पालिका र जिल्ला प्रशासनले सम्भावित संक्रमितको चेकजाँच गर्ने डेस्क बनाएका छन्। तर प्रभावकारी छैनन्। भएका डेस्कसमेत हटाइएका छन्। कामचलाउ भनी राखिएका डेस्कले जोखिम बढ्ने भन्दै त्यसको छिट्टै सुधार गर्न स्वास्थ्यकर्मीले नै माग गरेका छन्।

दाङको कोइलाबास, नवलपरासीको प्रतापुर नाकामा पनि डेस्क स्थापना गरिएको छ। जनस्वास्थ्य कार्यालय दाङका प्रमुख डा. सुनिता पौडेलले डेस्क स्थापना भए पनि जनशक्ति र उपकरण अभावले प्रभावकारी काम हुन नसकेको बताइन्। ‘स्वास्थ्यकर्र्मीको सुरक्षाका उपकरण छैनन्, बिहानदेखि रातिसम्म आवातजावत हुन्छ, ती सबै निगरानी गर्ने जनशक्ति व्यवस्थापन कठिन छ’, उनले भनिन्। निकै चहपलहल हुने भैरहवा नाकाको अवस्था पनि उस्तै छ। सामान्य खालको थर्ममिटरबाटै आगन्तुकको ज्वरो परीक्षण गर्ने गरिएको छ। भाइरस संक्रमित परीक्षणका लागि ‘इन्फारेड थर्ममिटर’ सुरक्षित मानिन्छ। दाङ २ वटा, बाँकेमा ५ वटा मात्रै त्यस्ता थर्ममिटर छन्।

सामाजिक मन्त्रालयमा संघीय विभागबाट ५ वटा र बजारबाट खरिद गरिएका ४५ वटा थर्ममिटर राखिएको छ। मन्त्रालयले बल्ल थर्ममिटर पठाउने तयारी गरेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदकुमार गिरीले बताए। बेलहिया हुँदै दैनिक ३४ वटा ठूला बसमा यात्रु नेपाल आउने गरेका छन्। रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले दुई स्वास्थ्यकर्मीले चेकजाँच गर्न असम्भव रहेको बताए। ‘कैयौं यात्रु आउजाउ गर्छन्, दुई स्वास्थ्यकर्मीले कसरी सम्भव हुन्छ ? ’, उनले भने, ‘सीमाको हेल्थ डेस्कमा जनशक्ति थप्नुपर्छ।’ संघीय स्वास्थ्य मन्त्रालयले गरेको अनुगमनबाट पनि प्रदेश ५ को सीमाका हेल्थ डेक्स कमजोर देखिएका छन्। वरिष्ठ जनस्वास्थ्य प्रशासक चुरामणि भण्डारीको टोलीले प्रदेशका सीमावर्ती जिल्लाको अनुगमन गरेको थियो। ‘हेल्थ डेक्स सबै सडकमै राखिएका छन्, जनशक्ति कम हुँदा स्क्र्यानिङमा जटिलता छ’, उनले भने।

उपचार कक्ष भने तयार
प्रदेश ५ का अस्पतालमा कोरोनाको गम्भीर प्रकृतिका बिरामी उपचार गर्ने कक्ष भने तयार गरिएका छन्। लुम्बिनी प्रादेशिक अस्पताल २, पृथ्वीचन्द्र अस्पताल ५, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० बेडको ‘आइसोलेसन’ कक्ष तयार गरिएको छ। सबैमा आईसीयु भने छैनन्। बाँके, बर्दिया र कपिलवस्तुमा तयारी चरणमा रहेको भण्डारीले बताए।

विश्व स्वास्थ्य संगठनको विश्लेषणअनुसार कोरोना भाइरस संक्रमितमध्ये ८२ प्रतिशत सामान्य प्रकृतिका बिरामी हुन्छन्। १५ प्रतिशत मध्यम खालका र तीन प्रतिशत मात्र जटिल प्रकृतिका हुन्छन्। जसका लागि अक्सिजन दिने उपकरण सहितको उपचार कक्ष आवश्यक पर्छ। प्रदेश ५ मा सरकारले सचेतनाका कामलाई समेत ध्यान दिएको छैन। प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले सीमाको निगरानीका लागि सबै क्षेत्रलाई निर्देशन जारी गरिएको बताए।

औषधिको अभाव छैन
बजारमा औषधिको अभाव भएको बताइए पनि ६ महिनालाई पुग्ने मौज्दात रहेको औषधि व्यवसायी संघ रूपन्देहीले जनाएको छ। अध्यक्ष सुरज भट्टराईले मास्क र औषधि पर्याप्त रहेको बताए। ‘भारतबाट आयात नभए पनि ६ महिनालाई पुग्ने औषधि स्टक छ’, उनले भने। स्वास्थ्यकर्मीले रुघाखोकी र भाइरल लागेका बाहेकले मास्क प्रयोग आवश्यक नरहेको बताए। लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन फिजिसियन डा. सुुदर्शन थापाले भने, ‘सामान्य खालको मास्क प्रयोगले झन् संक्रमण फैलन सक्छ, हात धुने लगायतका सावधानीबाटै बच्न सकिन्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.