म्यानपावर ठगीमा तीन सयको बकपत्र
ललितपुर : ग्वार्कोस्थित दृष्मा ओभरसिज प्रालिले पोल्याण्ड पठाइदिने नाममा ११ सयलाई ठगी गरेको अभियोगसहित दायर मुद्दामा ललितपुर जिल्ला अदालतमा तीन सयजनाको बकपत्र चलिरहेको छ। सञ्चालकले उनीहरूबाट करिब १० करोड रुपैयाँ लिएको दाबी पीडितको छ। दृष्माका सञ्चालक समितिमा रहेका १० जनाविरुद्ध गतवर्ष मुद्दा परेको थियो। तीनजनालाई प्रहरीले पक्राउ गरे पनि १० जना फरार छन्। यो मुद्दामा यतिबेला जिल्ला अदालत ललितपुरमा पीडितको बकपत्र चलिरहेको छ। जिल्ला अदालतका श्रेस्तेदार नागेन्द्र कालाखेतीका अनुसार पीडित, प्रतिवादी र साक्षीसहित कम्तिमा तीन सय जनाको बकपत्र चलिरहेको छ। शुक्रबारदेखि सुरु भएको बकपत्र २२ गतेसम्म चल्ने कालाखेतीले जानकारी दिए।
११ सय जनालाई ठगी गरेको अभियोगमा विमला लामा, अरुणकुमार महतो, हरिबहादुर लामा, दिपक तामाङ पाख्रिन, सन्दिप तामाङ, सुनिल भन्ने साङबहादुर तामाङ, धनबहादुर तामाङ, कृष्णकुमारी लामा, धरोदेवी लामा, दिपेन्द्रविक्रम शाह, विपिनकुमार यादव तथा अमितकुमार यादवविरुद्ध ठगी मुद्दा परेको छ। ओरोपीमध्ये सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ८ का हरिबहादुर लामा, धनुषा मिथिला नगरपालिका ८ का अरुणकुमार महतो, दोलखा तामाकोसी २ की विमला लामालाई पक्राउ गरे पनि अन्य फरार छन्। उनीहरू विरुद्ध २०७५ चैत्रमा जाहेरी परेको हो। जाहेरी पर्नेबित्तिकै तीनजना समातिएका हुन्।
कालाखेतीका अनुसार ठगिनेको संख्या बढ्दै गएको छ। गतवर्ष आठ सय जनाको उजुरी आए पनि हाल एघार सय पुगेको छ। प्रमाणपत्रमा काठमाडौं महानगरपालिका ९ मा कार्यालय रहेको भनिए पनि ग्वार्कोमा सञ्चालन गरिरहेका उनीहरूलाई गत फागुन २८ मा पुर्पक्षका लागि थुनामा राख्ने अनुमति अदालतले दिएको थियो।
रोजगारीका लागि पोल्याण्ड जाने आशामा ठगिएका राजु सुनारका अनुसार सुरुमै उनलाई एक लाख रुपैयाँ माग भएको थियो। पैसा लिएको सात महिना बितिसक्दा समेत पोल्यान्ड जाने कुनै प्रक्रिया अगाडि नबढेपछि उनले पैसा फिर्ता माग्न थालेका थिए।
दृष्मा ओभरसिजले सबैको राहदानी लिएको छ। उनीजस्तै सपना गुरुङ, संगीता लामा, प्रवीणकुमार चौधरी, पदम राई, प्रमिला राम्जाली लगायत ११ सयले पैसा गुमाएका थिए। पीडितका अनुसार सबैलाई दृष्माबाट सञ्चालित नबिल बचत तथा ऋण सहकारी संस्थामा पैसा जम्मा गर्न लगाइएको थियो। उनीहरूलाई दिएको पैसा जम्मा भएको भन्दै सहकारीको पासबुक समेत दिइएको थियो। पासबुकमा विमला लामाले हस्ताक्षर गरेकी छन्। उनीहरूले प्रतिव्यक्ति कम्तिमा ४५ हजारदेखि डेढ लाख रुपैयाँसम्म लिएको बताएका छन्।