गिद्धले कोरल्न सकेनन् बचेरा

गिद्धले कोरल्न सकेनन् बचेरा

चितवन : प्रजनन केन्द्रमा रहेका गिद्धले बचेरा कोरल्न सकेका छैनन्। चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्रमा राखिएका गिद्धले अण्डा पारे पनि कोरल्न नसकेका हुन्। निकुञ्जको मुख्य कार्यालय कसरास्थित केन्द्रमा ३१ गिद्धलाई अण्डा कोरल्न राखिएको थियो। यो वर्ष गिद्धले १२ अण्डा पारेका थिए तर एउटा पनि बचेरा निस्किएका छैनन्। ‘अण्डा फुटाएर हेर्दा चुच्चो, भुत्ला उम्रिएर शरीर विकास भएको थियो तर चल्ला निस्किएको छैन,’ निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले भने, ‘यस वर्ष चार डिग्रीभन्दा कम तापक्रम भएकाले बच्चा निस्कन सकेन कि भन्ने लागेको छ।’

प्रजनन समय भए पनि चल्ला ननिस्किएपछि लोप हुने खतरामा रहेको गिद्ध संरक्षणमा चुनौती देखिएको छ। गत वर्ष २० वटा फुलबाट २ वटा मात्र बचेरा कोरलेका थिए। लोपोन्मुख गिद्ध संरक्षण गर्न निकुञ्जमा प्रजनन् केन्द्र स्थापना गरिएको छ। बचेरा कोरल्न नसक्नुको यकिन कारण पत्ता नलागे पनि तापक्रम कम भएको अनुमान गरिएको छ। तापक्रम थोरै भएपछि गिद्धले बचेरा कोरल्न नसकेको गिद्ध चिकित्सक डा. विकल्प कार्कीले बताए।

गिद्धको प्रजनन प्रक्रिया मौसममा निर्भर हुन्छ। असोज र कात्तिकमा गुँड बनाउन सुरु गरेर पुसमा अण्डा पार्छन्। अण्डा पारेको ५५ देखि ६० दिनमा बचेरा कोरल्छन्। केहीले भने ढिलो गर्छन्। कोरलेका बचेरालाई सय दिन माउसँग राखिन्छ। त्यसपछि माउबाट छुटाएर एक वर्ष केन्द्रमै राखिन्छ। त्यसपछि ८ महिना सब रिलिज एडिएरी (गिद्ध छाड्ने स्थानमा राखिने खोर) मा राखेर प्राकृतिक बासस्थानमा छाडिन्छ। अहिलेसम्म ३१ वटा गिद्ध छाडिसकिएको छ भने ९ वटा छाड्ने तयारी छ। केन्द्रमा हुर्काइएका गिद्ध नवलपरासीको पिठौलीस्थित जटायु रेस्टुरेन्टमा छाडिन्छ।

०७४ मा २१ वटा फुलबाट ७ वटा र ०७३ मा १५ वटा फुलबाट ९ वटा बचेरा कोरलिएको थियो। डा. कार्कीका अनुसार बर्सेनि बचेरा कोरल्ने क्रम घट्दो छ। यसको कारण पत्ता लगाउने प्रयास भइरहेको छ। ‘यही कारणले हो भनेर पत्ता लगाउन अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञसँग छलफल सुरु गरेका छौं,’ उनले भने, ‘जति अण्डा पा¥यो त्यसबाट बचेरा थोरै निस्कनुले संरक्षणमा चुनौती भएको छ ’।

केन्द्रमा सेतो डंगर जातको गिद्धको वंश विस्तार थालिएको हो। चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पक्षी संरक्षण संघले सन् २००८ मा केन्द्र स्थापना गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.