आभारी छु, अदिची !
नेहा शर्मा ।
मलाई अहिले कसैले तिमी नारीवादी हो ? भनेर प्रश्न गर्यो भने मौन नबसीकन, शिर उठाएर भन्ने गर्छु– ‘हो, म नारीवादी हो। मेरा लागि नारीवादी यस्तो मानिस हो, जो पुरुष र महिला दुवैको सामाजिक, राजनीतिक र आर्थिक समानतामा विश्वास राख्छ।’
कलेज पढ्न थालेपछि थुप्रै मानिससँग मेरो चिनजान हुन थाल्यो। उनीहरूसँग म हेलमेल पनि हुन थालेँ। नयाँ मित्रता गाँसिन थाल्यो। साथीहरू मलाई प्रश्न गर्थे, ‘आर यू ए फेमिनिस्ट ? के तिमी नारीवादी हौ ?’ कतिपय त मेरो जवाफको प्रतीक्षा नै नगरीकन प्याच्चै भनिहाल्थे– ‘आई हेट फेमिनिस्टस। म नारीवादीहरूलाई घृणा गर्छु। नारीवाद भनेको चटक मात्र हो।’ म चुप रहन्थेँ। ठूलो द्विविधा हुन्थ्यो। नारीवादी हुँ भनौँ भने मलाई उनीहरूसँगको मित्रता गुमाउनु थिएन, नारीवादी होइन भनौँ भने सरासर झुट बोलेको हुन्थ्यो। झुटो बोलिहाल्न मन लाग्दैनथ्यो।
नाइजेरियाली लेखक चिमामान्दा एन्गोजी अदिचीलाई ‘डिस्कभर’ गरेपछि मात्रै मैले मेरो नारीवादी मनलाई खुला छोड्ने हिम्मत पाएकी थिएँ। उनीसँग मेरो पहिलो परिचय भयो, उनको पहिलो उपन्यास ‘पर्पल हिबिस्कस’ मा। थुप्रै किताब भइराख्ने हाम्रो घरको दराजमा त्यो उपन्यास कसरी आइपुग्यो, मलाई थाहा छैन। बुबा हरेक पटक काठमाडौँ जाँदा थुप्रै किताब ल्याउनुहुन्थ्यो। सायद उहाँले नै ल्याउनुभएको थियो। किताबको शीर्षक आकर्षक लागेर मैले ‘पर्पल हिबिस्कस’ पढ्न थालेँ। पुस्तक पढ्न थालेपछि म एकछिन पनि रोकिइनँ। कथामा यति आकर्षित भएँ कि न खानको ध्यान भयो, न सुत्नको।
नाइजेरियामा जन्मिएकी १५ वर्षीया काम्बिलीद्वारा कथित कथालाई अदिचीले परिवार, धर्म, विश्वास, अन्धविश्वास, हिंसा, परम्परा, नारीवादजस्ता सयौँ धागोले बुनेर सशक्त बनाएकी छिन्। क्रिसमसमा पूरै गाउँलाई खाना ख्वाउने र बाहिरी दुनियाँका लागि अत्यन्त सज्जन काम्बिलीका पिता घरमा आफ्नो परिवारसँग भने अत्यन्तै हिंस्रक हुन्छन्। घरेलु हिंसापीडित उनकी आमा बिट्राइसलाई उत्पीडित अफ्रिकी महिलाको प्रतीकका रूपमा पेश गरिएको छ। बिट्राइस कति हदसम्म पीडित हुन्छिन् भने उनीसँग आफ्नो घरमा कुन रङको पर्दा झुण्ड्याउने भन्ने कुरासम्मको पनि अधिकार हुँदैन। उनको संसार आफ्नो पतिद्वारा नियन्त्रित हुन्छ। कथाको अन्त्य भयानक छ, तर पितृसत्ता र हिंसाको अन्त्य हुने कारणले मन आनन्दित हुन्छ।
अदिचीको ‘पर्पल हिबिस्कस’बाट निकै प्रभावित भएकी थिएँ। त्यसपछि उनका अरू किताबको खोजी गरी ती पनि पढेँ। सबैभन्दा धेरै मन छोयो, उनको कथासंग्रह ‘द थिङ अराउन्ड योर नेक’ ले। प्रायः कथा महिला र पुरुषबीचको सन्तापग्रस्त सम्बन्धका बारेमा छन्। कथामा अधिकांश महिला पात्र आफ्नो पतिको अधीनमा बस्छन् र उनीहरूलाई आफ्नो पहिचान गुमिसकेको पनि पत्तो हुँदैन। केही महिला आफू यो स्थानमा कसरी आइपुगेँ भनी आफैँलाई प्रश्न पनि गर्छन्। संग्रहले यी उत्पीडित महिलाको असन्तुष्टिका लागि कुनै उपाय तोकेको छैन, तर सुझाव भने पक्कै दिएको छ– ‘महिलाहरू तब मात्र खुशी हुन सक्छन्, जब उनीहरू आफ्नो जीवनलाई अरूले भन्दा आफैँले नियन्त्रण गर्न सुरु गर्छन् र पुरुषलाई आफ्नो आवाज सुन्न बाध्य तुल्याउँछन्।’
इनुगु शहरको मध्यमवर्गीय परिवारमा जन्मिएकी अदिचीले पहिलो पटक आफू १४ वर्षकी हुँदा ‘फेमिनिस्ट’ शब्द सुनेकी थिइन्। उनको केटा साथीले उनलाई यो ‘ट्याग’ तारिफमा दिएको थिएन। त्यतिबेला उनको साथीलाई थाहा थिएन– आफूले फेमिनिस्ट भनी उपहास गरेकी साथी अदिची पछि गएर विश्वमै नारीवादकी प्रतीक बन्नेछिन्।
सुक्का नामक शहरमा आफ्ना आमाबुबासँग बसेकी अदिचीले त्यहीँ केही समय डाक्टरी पनि पढिन्। पढाइ बीचमै छोडेर उनी अमेरिकामा सञ्चार र राजनीति विज्ञान पढ्न गइन्। नाइजेरियामा हुँदा उनकी आमाले उनलाई किताबका साथसाथै फेसनलाई पनि माया गर्न पनि प्रोत्साहन गर्थिन्।
अदिचीले विशेषतः नाइजेरियाका बारेमा लेखे तापनि उनका कथामा एक प्रकारको सार्वभौमिक अनुप्रयोग पाइन्छ। सन् २०१३ मा उनले दिएको ‘हामी सबै नारीवादी हुनुुपर्छ’ भन्ने ‘टेड–टक’ निकै नै लोकप्रिय भयो। टेड–टकबाट रूपान्तरित निबन्ध सन् २०१५ मा स्विडेनमा हरेक १६ वर्षीय स्कुले विद्यार्थीलाई वितरण पनि गरिएको थियो।
उक्त भिडियोमा उनले ३० मिनेट मात्र बोले पनि, उनको बोलीको प्रभाव लामो समयसम्म रहन्छ भन्ने मलाई विश्वास छ। उनी यहाँ लैंगिकतावाद, लैंगिक भूमिका र सत्ताको राजनीतिबारे खुलेर कुरा गर्छिन्। उनको यही सम्भाषणले मलाई नारीवादको सही परिभाषा अँगाल्न मद्दत गर्यो। यसका लागि म उनीप्रति जीवनभर कृतज्ञ रहनेछु। नारीवादलाई सरल भाषामा वर्णन गरेर उनले मजस्ता कैयौँ महिलालाई आवाज दिएकी छिन्।
अदिचीले अफ्रिका, खास गरी नाइजेरियासँग मेरो परिचय गराइदिएकामा पनि उनी मेरा निम्ति प्रिय छिन्। उनका किताब पढ्नुअघि अफ्रिका मेरा निम्ति रहस्य थियो। उनकै कारणले मैले अफ्रिकाको गरिबी, भोकमरीको पर्दापछाडि चियाएर हेर्ने मौका पाएँ। त्यहाँ सुन्दर इग्बो संस्कृति र खुलापन थिए।
‘दी गार्डियन’ का अनुसार गत वर्ष अदिची लेखन कार्यशालाका निम्ति नाइजेरिया गएका बेला एक पुरुषले कार्यशालाको अन्त्यतिर उनलाई प्रश्न गरेका थिए– ‘म तपाईंलाई मन पराउँथेँ। मैले तपाईंले लेख्नुभएका सबै पुस्तक पनि पढेको छु र तपाईं मलाई औधी मन पर्नुहुन्थ्यो। तर, तपाईंले नारीवादको कुरा गर्न सुरु गरेपछि म तपाईंबारे त्यति निश्चित छैन। तपाईं मजस्ता मान्छेको प्रेम अब कसरी बचाइराख्नुहुन्छ ?’ त्यस दिन ती युवाको प्रश्नबाट अदिचीका साथीहरू निकै क्रुद्ध भएका थिए, तर उनलाई भने त्यस युवाको बहादुरी र इमानदारी मन परेको थियो। उनले पनि त्यही भावमा जवाफ दिएकी थिइन्– ‘तपाईं आफ्नो प्रेम आफैँसँग राख्नुहोस्, किनभने, दुःखको कुरा, तपाईंहरूले मलाई माया गरेको औधी मन पर्छ तर यदि मप्रति तपाईंको प्रेम यस्ता शर्तहरूको साथ आउँछ भने, म तपाईंको प्रेमलाई स्वीकार गर्न सक्दिनँ।’
मलाई अहिले कसैले तिमी नारीवादी हो ? भनेर प्रश्न गर्यो भने मौन नबसीकन, उनीहरूलाई बोल्न नदिईकन, शिर उठाएर भन्ने गर्छु– ‘हो, म नारीवादी हो। मेरा लागि नारीवादी यस्तो मानिस हो, जो पुरुष र महिला दुवैको सामाजिक, राजनीतिक र आर्थिक समानतामा विश्वास राख्छ। नारीवादका आ–आफ्नै संस्करण हुन्छन् र यदि तपाईं मेरो यो सिद्धान्तका कारण मसँग घृणा गर्नुहुन्छ भने म तपाईंको मित्रता स्वीकार गर्न सक्दिनँ।’