१२ वर्षपछि यसरी समातिए पत्रकार साहका हत्यारा..

१२ वर्षपछि यसरी समातिए पत्रकार साहका हत्यारा..

कलैया : अपराधपछि खुलेयाम घुमेर सुरक्षा अवस्थालाई १२ वर्षदेखि गिज्याउदै आएका पत्रकार वीरेन्द्र साहका हत्यारा अन्ततः पक्राउ परेका छन्।

पत्रकार साह हत्या प्रकरणका मुख्य अभियुक्त कुन्दन भनिने नरेन्द्रकुमार फौजदारलाई प्रहरीले शनिबार राति घरबाटै पक्राउ गरेको हो। राजनीतिक संरक्षणमा कानुनी दायराभित्र आउन नसकेका ५१ वर्षीय फौजदार व्यस्त बजारबाट पत्रकार साहलाई अपहरण गरी हत्या गर्ने समूहका एक मुख्य सदस्य हुन्। 

समाचार संकलनका लागि बाराको पिपरा बजार पुगेका पत्रकार साहलाई कुन्दनसहितका व्यक्तिले २०६४ असोज १८ गते अपहरण गरे। पत्रकारलाई साहलाई जबरजस्ती मोटरसाइकलमा राखेर लगिदै गर्दा त्यसको प्रत्यक्षदर्शी स्थानीय थिए। घटनालगत्तै प्रहरीले पत्रकार साहको खोजी गरेपनि सफलता हात पार्न सकेन्। 

एक महिनाभन्दा बढी समयपछि पत्रकार साहको शव कार्तिक २२ गते टांगियाबस्तीको जंगलमा गाडिएको अवस्थामा भेटियो। गोली प्रहार गरी हत्या गरेर जमिनमुनि गाडिएको अवस्थामा उनको शव फेला परेपछि बारासहित देशभरका पत्रकार आन्दोलित हुन पुगे। प्रहरीले हत्यामा संलग्न बारा ईनर्वासिराका मेनेजर गिरी र खोपवाका रामएकवाल सहनीलाई पक्राउ गर्यो‍। 

पक्राउ परेका दुबैलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनायो। दुईमध्ये मेनेजर गिरी ११ वर्ष जेल सजाय भुक्तान गरी रिहा भइसकेका छन् भने रामएकवाल सहनी १० वर्षदेखि जेलमा छन्। गिरीलाई गतवर्ष सरकारले कैदमाफी दिने निर्णय गरेपछि रिहा गरिएको थियो। 

हत्यामा संलग्न अन्य तीनमध्ये फौजदार पक्राउ पर्दा अझै दुई व्यक्ति जीतपुरसिमरा उपमहानगरपालिका २० बसडिल्वाका लालबाबु चौधरी धामी र ईनर्वा मझरियाका हरेराम पटेल फरार छन्। उनीहरुलाई प्रहरीले खोजी सूचिमा राखेको छ। 

प्रहरीको विवरणअनुसार अदालतले फरार करार गरी फौजदारसहित अन्य दुईको मुद्दा मुल्तबी राखेको थियो। फरार करार भई प्रहरीको खोजी सूचीमा रहेपनि घटनापश्चात फौजदार भने खुलेयाम घुम्दै आएका थिए। 
पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक कृष्ण पंगेनीले दिएको जानकारीअनुसार फौजदार घटनाका मुख्य अभियुक्त हुन्। पत्रकार साहलाई अपहरण गर्न फौजदारको भूमिका मुख्य रहेको प्रहरी अनुसन्धानबाट देखिन्छ। 

घटनाका मुख्य अभियुक्त मानिएका फौजदारलाई पक्राउ गर्न भने प्रहरीले चासो देखाएको थिएन्। यसबीचमा बारामा दर्जनौको संख्यामा प्रहरी प्रमुख फेरिए। 
प्रहरी स्रोतका अनुसार जिल्लामा आउने प्रहरी प्रमुखले राजनीतिक दबाबका कारण फौजदारसहितका अन्य फरार व्यक्तिलाई पक्राउ नगर्न निर्देशन दिने गरेका थिए।
 जिल्ला प्रमुखको जिम्मेवारी लिएर आएलगत्तै पत्रकारसँगको भेटमा प्रत्येक प्रहरी उपरीक्षकले पत्रकार साहको हत्यामा संलग्न अपराधीलाई पक्राउ गर्ने प्रतिबद्धता जनाउथे तर पूरा नगरी फर्कन्थे। 

सोहीक्रममा प्रहरी प्रमुख भएर एक महिनाअघि बारामा प्रहरी उपरीक्षक पंगेनी आए। पत्रकारसंगको पहिलो भेटमा उस्तै प्रतिबद्धता जनाएका पंगेनीले आफू जिल्लामा आएको एक महिनामै फौजदारलाई पक्राउ गरे। पत्रकार साहको हत्यारालाई पक्राउ गर्न प्रदेश २ का प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रधुम्न कार्कीले समेत चासो देखाएका थिए। 

फौजदारलाई प्रहरीले पछिल्लो १५ दिनदेखि पछ्याइरहेको थियो। फौजदार प्रहरीलाई झुक्याउदै रौतहटको बाल्चनपुर र बाराको विभिन्न स्थानमा बस्दै आएका थिए। 

फौजदार बारागढी गाउँपालिका ६ गडहलस्थित आफ्नै घरमा आएको सूचना पाएपछि प्रहरी नायब उपरीक्षक गौतम मिश्र र गोविन्द पुरिसहित ३५ जना प्रहरी मध्यरात २ बजे उनको घरमा पुगेका थिए। घरलाई घेरा हालेर फौजदारलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीयबीच घम्साघम्सीसमेत भयो। प्रहरीले त्यसक्रममा चार राउण्ड हवाई फायर गरेर फौजदारलाई ३ बजे नियन्त्रणमा लिन सफल भयो। 

परिवार र स्थानीयले अवरोध गरेपछि उनीहरुलाई भगाउन हवाई फायर गरेर फौजदारलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक पंगेनीले पत्रकार सम्मेलनमा बताए। प्रहरी उपरीक्षक पंगेनीले १२ वर्षमा खोलो फर्किन्छ भनेझै पीडितलाई न्याय दिलाउने क्रममा सफलता हात परेको बताए। 

लामो समय खुलेयाम घुमेका फौजदार केही वर्षयता प्रहरीलाई झुक्याउदै जिल्लामा बसिरहेका थिए। यसअघि उनी किन पक्राउ पर्न सकेनन् भन्ने बिषयमा आफूले बताउन नसकेपनि आफूले जिल्लामा आएदेखि फरार अपराधी पक्राउ गर्ने अभियान सुरु गरेको र त्यसै क्रममा फौजदारलाई पक्राउ गरेको प्रहरी उपरिक्षक पंगेनीले बताए। 

यसैगरी १२ वर्षअघि हत्या गरिएका पतिको हत्यारा पक्राउ परेपछि पत्रकार साहकी पत्नी उमरावतीदेवीले दोषीलाई कडा कारवाही गर्न माग गरेकी छन्। हत्याराले आफ्नो परिवारको खुशी छिनेको भन्दै भावुक बनेकी उमरावतीदेवीले फरार अभियुक्तलाई पक्राउ कडा कारवाही गरे आफ्नो परिवारलाई राहत मिल्ने बताइन्।

बाराका पत्रकार वीरेन्द्र साहको १२ वर्षअघि भएको हत्याका मुख्य अभियुक्त कुन्दन भनिने नरेन्द्रकुमार चौधरीलाई पत्रकार सम्मेलनमा सार्वजनिक गरिदै। पत्रकार साहको अपहरणपछि गोली हानेर हत्या भएको थियो। हत्यापछि फरार फौजदारलाई प्रहरी शनिवार राती घरबाटै पक्राउ गरेको हो। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.