महिला मन्त्री नहुँदा सत्तापक्षमै असन्तुष्टि

महिला मन्त्री नहुँदा सत्तापक्षमै असन्तुष्टि

हेटौंडा : बागमती प्रदेश सरकार गठन भएको २ वर्ष बिते पनि सरकारमा महिलाको उपस्थिति हुन सकेको छैन। बागमती प्रदेशसभामा रहेका १ सय १० प्रदेशसभा सदस्यमध्ये ३७ जना महिला छन्। तीमध्ये २६ जना सत्तारुढ दल नेकपाका महिला प्रदेशसभा सदस्य हुन्। केशव स्थापित पदमुक्त भएपछि भौतिक पूर्वाधार विकास मन्त्रालयमा महिला मन्त्री नियुक्त हुने अपेक्षा गरिएको थियो। तर, मुख्यमन्त्री डोरमणि पौडेलले केही समय सम्हालेपछि रामेश्वर फुयाँल भौतिक पूर्वाधार मन्त्री नियुक्त भए। तेस्रो पटकसम्म मन्त्रिपरिषद् विस्तार हुँदासमेत महिलाले अवसर नपाएपछि सत्तापक्ष दल नेकपाका महिला प्रदेशसभा सदस्य असन्तुष्ट भएका छन्।

नेकपाका महिला प्रदेशसभा सदस्यहरूले पार्टीभित्र पनि महिलालाई मन्त्री बनाउन ‘लबिङ’ गर्दै आएका छन्। भौतिक पूर्वाधार मन्त्रालयमा महिलालाई मन्त्री नियुक्त गर्न महिला प्रदेशसभा सदस्यहरूले पार्टी र मुख्यमन्त्रीलाई दबाब दिएका थिए। तर, उक्त मन्त्रालयको जिम्मेवारी फुयाँलले पाएपछि महिला प्रदेशसभा सदस्य थप असन्तुष्ट छन्।

तेस्रो पटकसम्म मन्त्रिपरिषद् विस्तार हुँदा पनि मन्त्रिमण्डलमा महिला अट्न नसकेपछि नेकपाभित्रकै महिला प्रदेशसभा सदस्य असन्तुष्ट छन्। उनीहरूले मन्त्रिमण्डल समावेशी नभएको भन्दै प्रदेशसभा, पार्टी संसदीय दलमा आवाज उठाउँदै आएका छन्। ‘हामीले पटक–पटक सदन र पार्टीमा कुरा उठाएका छौं तर हाम्रा नेताको मानसिकता नै महिलालाई मन्त्री बनाउनु हुन्न भन्ने छ कि जस्तो लाग्न थालिसक्यो’, नेकपा प्रदेशसभा सदस्य मुनु सिग्दलेलले भनिन्, ‘नेताहरू अझै पनि महिलालाई मन्त्री बनाउन तयार देखिँदैनन्।’ नेकपाका प्रदेशसभा सदस्य कुमारी मोक्तानले पार्टीभित्रको स्वार्थ नमिल्दा प्रदेशले महिला मन्त्री नपाएको बताइन्।

नेकपाकै प्रदेशसभा सदस्य सीता अधिकारीले पुरुषलाई नै भागबन्डा नपुगेका कारण महिलालाई अवसर नदिइएको बताइन्। उनले भनिन्, ‘आफ्नो मन्त्रिमण्डलमा महिला मन्त्री बनाउन नसक्नेले अन्य क्षेत्रमा समावेशीकोे कुरा गर्न सुहाउँदैन।’

प्रतिपक्षमा रहेको दलले पनि प्रदेश सरकारमा महिला मन्त्री हुनुपर्ने आवाज उठाउँदै आएको छ। ‘मन्त्रिपरिषद् समावेशी छैन, हामीले सदनमा पनि कुरा उठाएका छौं’, कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक राधा घलेले भनिन्, ‘सकार आफैं समावेशी छैन भने यसले समानता र समावेशीताको क्षेत्रमा काम गर्छ भनेर अपेक्षा गर्न मिल्दैन।’

प्रदेशसभामा कांग्रसेका ७, १ विवेकशील साझाको १, नेमकिपाको १, राप्रपाको १ र राप्रपा संयुक्त १ जना महिला प्रदेशसभा सदस्य छन्। बागमती प्रदेश सरकारले भने अब हुने मन्त्रिपरिषद् विस्तारमा महिला मन्त्री थपिने जनाएको छ। ‘अब मन्त्रिमण्डल थप हुँदा वा पुनर्गठन हुँदा महिला मन्त्री थपिन्छ’, प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले भने, ‘तपाईंहरूले छिट्टै महिला मन्त्री पाउनुहुुन्छ।’ बागमती प्रदेशमा मुख्यमन्त्री कार्यालयसहित ७ वटा मन्त्रालय छन्। सबैमा पुरुष मन्त्री छन्।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.