‘कतै बलात्कार, कतै हत्या प्रयास’
ललितपुर : ११०औं अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा ६५ वर्षीया वृद्धा बञ्चरो प्रहारबाट गम्भीर घाइते भएकी छन्। वृद्धालाई उनकै ७४ वर्षीय श्रीमान्ले बञ्चरो हानेका हुन्। अरूसँग नजिकिएको आशंकामा यस्तो घटना भएको हो।
उक्त घटना शनिबार बेलुकी ७:३० बजे गोदावरी नगरपालिकामा डुकुछाप ८ मा भएको हो। महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख टेकप्रसाद राईका अनुसार घटनामा संलग्न रहेका वृद्ध झलकबहादुर लामालाई शनिबार नै नियन्त्रणमा लिइएको छ। लामाकी श्रीमती ६५ वर्षीया कान्छीमायाको टाउकोमा गम्भीर चोट लागेकाले बोल्न सक्ने अवस्था छैन। उनको यतिबेला पाटन अस्पतालमा उपचार भइरहेको छ। लामाले कान्छीमाया अरूसँग लागेको आशंकामा बञ्चरो हानेको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ।
सामान्य झगडा भए पनि रिस थाम्न नसकेर हतियार उठाएको वृद्धको भनाइ रहेको छ। उमेरले डाँडाकाटेका वृद्धको मुद्दा दर्ता भइसकेको राईले जनाए। ‘उनी कानुनअनुसार दण्डसजायका भागीदार हुनेछन्’, उनले भने, ‘वृद्ध भन्दैमा माफी हुँदैन।’ यस्तै अर्को घटनामा दुई वर्षदेखि छोरीलाई जबरजस्ती करणी गर्दै आएको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्। दोलखाका ४५ वर्षका व्यक्तिले छोरीलाई बलात्कार गरेको भन्दै उनकी आमाले प्रहरीमा जाहेरी दिएकी हुन्। ललितपुरमा बस्दै आएका आमाछोरीले सातदोबाटो वृत्तमा जाहेरी दिएको प्रहरीले जानकारी दिएको छ।
पीडितका अनुसार बाबुले उनलाई दुई वर्षदेखि निरन्तर बलात्कार गर्दै आएको खुलेको हो। हाल युवतीको स्वास्थ्य परीक्षण सकिएको र आरोपित बाबु नियन्त्रणमा आइसकेका प्रहरीले जनाएको हो। गत शुक्रबार अर्की २७ वर्षीया महिला अपरिचित कारचालकबाट बलात्कृत भएकी छन्। महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी निरीक्षक रमेशकुमार श्रेष्ठका अनुसार महिलाले दिएको सूचनाका आधारमा सीसीटिभी फुटेजलाई हेरिँदैछ। कारचालक चाँडै नियन्त्रणमा आउने प्रहरीको दाबी छ।