९ वर्षमा बन्यो राहुघाटको भवन

९ वर्षमा बन्यो राहुघाटको भवन

बेनी : नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले म्याग्दीमा निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनाको प्रशासनिक र आवास भवन निर्माण सम्पन्न भएको छ। यो निर्माण सुरु भएको ९ वर्षमा पूरा भएको हो।

रघुगंगा–३ पिप्लेमा ४० मेगावाट क्षमताको आयोजनाको कार्यालय र कर्मचारी आवासका लागि २०६७ मा १० वटा भवन निर्माण सुरु गरेको थियो। पहिलेको ठेकेदार कम्पनीले अधकल्चो बनाएर छोडेको भवन उसँग सम्झौता रद्द गरेर नयाँ ठेक्का प्रक्रियाबाट पूरा गरिएको रघुगंगा हाइड्रो लिमिटेडका सिभिल महाशाखा प्रमुख राजकुमार श्रेष्ठले बताए।

गोर्खा कन्स्ट्रक्सन एन्ड स्वच्छन्द जेभीसँग २०६७ कात्तिक ४ गते ११ करोड १० लाख ६७ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। १८ महिनामा भवन बनाइसक्ने सम्झौता गरेका दुईवटा कम्पनीको आन्तरिक द्वन्द्वले ढिलासुस्ति भएपछि २०७५ कात्तिक ९ गते रद्द गरेको थियो।

चारवटा भवन बनाएको ठेकेदारले एउटा भवनको जगसमेत हालेको थिएन्। सिभिल महाशाखा प्रमुख श्रेष्ठका अनुसार अधुरा पाँचवटा भवन बनाउन दुईवटा प्याकेजमा ठेक्का सम्झौता गरिएको थियो। नयाँ ठेक्काबाट झ्यालढोका राख्ने, टायल बिछ्याउने, वायरिङ, पलम्बिङसम्बन्धी काम गरेको हो।

एक करोड २७ लाखमा सम्झौता गरेको जम्बुदिप कन्स्ट्रक्सनले तीनवटा र ७९ लाख ७२ हजारमा सम्झौता गरेको दावा–त्रिशक्तिले दुईवटा भवन सकेर हस्तान्तरण गरेको हो। जम्बुदिपले लक्ष्यभन्दा एक महिना अघिनै काम सकेको थियो। एक करोड ३५ लाख रुपैयाँ लागतमा १-१ तले दुईवटा स्टोर र कन्टिन भवन निर्माणको ठेक्का मूल्यांकनको चरणमा रहेको श्रेष्ठले बताए।

भवन निर्माणमा ढिलाइ हुदाँ कम्पनी रघुगंगा हाइड्रो लिमिटेडको कार्यालय बेनी र काठमाडौंबाट सञ्चालन गरिएको थियो। भवन बनेपछि सबै कार्यालय पिप्लेबाटै सञ्चालन गरिएको कम्पनीका प्रशासन प्रमुख मदन गिरीले बताए।

आयोजनाको सुरुङ, विद्युत्गृह र बाँध निर्माणको काम तीव्र गतिमा अघि बढेको छ। २०७४ मंसिर ५ गते छ अर्ब रुपैयाँमा सम्झौता गरेको भारतीय जेपी एसोसिएट्सले सिभिल निर्माणको कामलाई तीव्रताका साथ अघि बढाएको जनाएको छ। भारतीय एक्जिम बैंकको ४४ मिलियन डलर सहुलियत ब्याजदरको ऋणमा निर्माण गर्न लागिएको आयोजनाको २६ महिनाको भौतिक प्रगति २२ प्रतिशत पुगेको छ। ठेक्का अवधि ४५ महिनाको हो। घुमाउनेतालदेखि दग्नाम र झिँको सिमानामा बन्ने बाँधसम्म ११ किलोमिटर पहुँचमार्ग बनाएको छ। पहुँचमार्गमा नाली र पर्खाल निर्माण गरिरहेको छ।

बाँधतर्फ जाने बाटोमा पर्ने बुक्लस्थित रघुगंगा नदीमाथि बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। झिँ र दग्नामको सिमामा बाँध बन्ने आयोजनाको छ किलोमिटर २ सय मिटर सुरुङ र एक किलोमिटर पेनस्टक पाइप रहनेछ। पिप्लेको तिल्केनीचौरमा विद्युत्गृह बन्नेछ। अधेरीखोलाको अडिट २ को ३ सय मिटर सुरुङ खनेर सकेको छ।

अडित १ र अडित ३ तर्फ मुख्य सुरुङ खन्न थालेको छ। पिप्लेको अडिट ३ को २ सय ५५ मिटर सुरुङ खनेको छ। पिप्लेमै बनाउन लागिएको ५२ मिटर गहिरो सर्च ट्र्याकको १२ मिटर खाडल खनेको छ। पावर हाउस र बाँधको फाउन्डेसन खन्न थालेको छ। अडिट १ मा पुग्ने रघुगंगा नदीमाथि अर्को अस्थाई बेलिब्रिज बनाउन लागेको छ।

भारत हेभी इलेक्ट्रकल्स लिमिटेड (भेल)सँग एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा आयोजनाको इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता भएको रघुगंगा हाइड्रो लिमिटेडका प्रबन्ध सञ्चालक गणेश केसीले बताए।

सबैभन्दा कम दररेट कबोलेको भेलसँग भएको सम्झौता ऋण लगानीकर्ता भारतीय एक्जीम बैंकले स्वीकृत गरेको छ। भेल भारतको सरकारी निर्माण कम्पनी हो। भोइट हाइड्रो र एन्ड्रिज हाइड्रो पनि ठेक्का प्रक्रियामा सहभागी भएका थिए।

भेलसँग विद्युत्गृह भित्रका उपकरण र स्वीचार्डका उपकरण आपूर्ति, ढुवानी र जडान गर्ने प्रयोजनका लागि सम्झौता गरिएको हो। कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्र्याक्ट (ईपीसी) प्रारूपमा राहुघाट बनाउन लागिएको हो। रघुगंगा हाइड्रो लिमिटेड विद्युत् प्राधिकरणको सहायक कम्पनी हो।

००००००००००००

अर्धजलाशययुक्त (पिआरओआर) प्रबिधिको बाँध रहने यस आयोजनाले सन २०२३ को जनवरी ३१ देखि वार्षिक चौबिस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत उत्पादन गर्ने लक्ष्य सहित २०७५ चैतमा विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो।                                 

२०७२ मा पुरानो ठेक्का तोडेपछि रोकीएको राहुघाटको सुरुङ खन्ने काम चार वर्षपछि गत असार ७ गतेबाट सुरु भएको थियो। रघुगंगा लगायतका निर्माणाधिन जलविद्युत आयोजनाबाट उत्पादीत विद्युत केन्द्रीय प्रशारण लाइनमा जोड्नका लागि विद्युत प्राधिकरणले खुर्कोट दाना प्रशारण लाइनका साथै राहुघाटमा सब स्टेशन बनाउन जग्गा अधिग्रहण गरेको छ।

आयोजनाको सामाजिक समस्या समाधानका लागि जनप्रतिनिधि, प्रभावित र कम्पनीका प्रतिनिधि सहभागि संयन्त्र बनाइएको प्रशासन प्रमुख गिरीले बताए। उनका अनुसार आयोजना प्रभावित २० जनालाई साढे दुई महिने हाउस वायरीङ सम्बन्धी तालिम सञ्चालन गर्न लागिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.