विकास निर्माणमा महिलाकै भर

विकास निर्माणमा महिलाकै भर

मुगु : मुगुको सोरु गाउँपालिकाका अधिकांश पुरुष रोजगारीका लागि कालापहाड (भारत) गएका छन् । पुरुष जति सबै धन कमाउन कालापहाड र अन्य वैदेशिक रोजगारीमा गएपछि यहाँका गाउँ महिलाकै भरमा छन् । गाउँ पुरुषविहीन हुन थालेपछि यहाँका महिला विकास निर्माणलगायत मर्दापर्दा सबैखाले काममा एकजुट हुन थालेका छन् ।

सोरु गाउँपालिका-९ माझघट्टदेखि एकल काटिएसम्मको ११ सय मिटर सिँचाइ कुलो र खत्याड गाउँपालिका-२ भुवनेखोलादेखि नाइढुंगासम्मको २४ सय ४० मिटर तथा सोही गाउँपालिका-३ चुच्चेदेखि मानसैनासम्मको ११ सय मिटर सिँचाइ कुलो निर्माणमा महिला जुटेका छन् । कुलो निर्माण गर्न पुरुष नभएपछि महिला नै अघि बढेका हुन् । कुलो निर्माणमा खटिएका कुल ४ सय ८४ श्रमिकमध्ये ३ सय ३० जना महिला छन् ।

‘गाउँका पुरुष कामको खोजीमा देश विदेशका विभिन्न ठाउँमा छन् । गाउँमा आउने विकास निर्माणमा खटिने पुरुषको संख्या निकै कम छ,’ सोरु-९ की गोरीकला कामीले भनिन्, ‘गाउँमा हुने निर्माणका काम महिलाकै भरमा छन् । चुलोचौको र मेलापातमा सीमित हामी महिलाका लागि वैकल्पिक रोजगारीको अवसर सिर्जना भएकोे छ ।’ महिला एकजुट भएर सिँचाइ कुलो निर्माणमा खटिँदा आफूले पनि रोजगारी पाएको उनको भनाइ छ । काममा खटिएका महिलाले उचित ज्याला पाउन् र आर्थिक अनियमितता नहोस् भनेर बैंक खातामार्फत् ज्याला भुक्तानी गर्न थालिएको छ।

काममा खटिएका सबै महिलाले ज्याला लिन बैंक खाता खोलेका छन् । उनीहरूको दैनिक ज्याला बैंक खातामै जम्मा गर्ने गरिएको आरसीडीसीका जर्मन नेपालीले बताए । यसअघि उपभोक्ता समिति र ठेकेदारबाट ज्याला भुक्तानीमा ठगिएका मजदुर महिला बैंक खातामार्फत् ज्याला पाउँदा खुसी भएका छन् । बैंक खातामार्फत् ज्याला पाउने भएपछि आम्दानीको रकमसमेत सञ्चय हुने उनीहरूको अपेक्षा छ । स्थानीय तहका सबै विकास निर्माणका काममा पनि बैंक खातामार्फत् ज्याला भुक्तानी भए मजदुर ठगिने सम्भावना न्यून हुने सरोकारवालाको भनाइ छ ।

विश्व खाद्य कार्यक्रमको सहयोगमा सञ्चालित जीविकोपार्जन कार्यक्रमअन्तर्गत गाउँमा सिँचाइ कुलो निर्माण सुरु भएको हो । कार्यक्रम लागू हुनुभन्दा पहिले घरधुरी सर्वेक्षण गर्दा महिला घरमूली भएको घर बढी छनोट भएका थिए । आफ्नो वडाका तीनवटै बस्तीका अधिकांश पुरुष ज्याला मजदुरी र व्यापारका लागि भारत गएपछि महिलाबाहेक दक्ष मजदुर पाउन मुस्किल परेको सोरु-९ का वडाध्यक्ष परुनाथ योगीले बताए । ‘पुरुषहरू कामको खोजीमा गाउँ छाडेर गए । गाउँका विकास निर्माण योजना अपुरै छन्,’ स्थानीय रामदेवी योगीले भनिन्, ‘अधुरा विकासका योजना सम्पन्न गर्न हामी महिला जुटेका हौं ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.