पैसारु जोगाउँदै नयाँ पुस्ता
धनवाङ (प्यूठान) : लोपोन्मुख पैसारु नाच संरक्षणमा स्वर्गद्वारी नगरपालिका-२ धनवाङका नयाँ पुस्ता लागेका छन्। वर्षौदेखि पुर्खाले देखाउँदै आएको पैसारु नाच संरक्षणमा युवाले अभिरुचि देखाएका हुन्।
यसै क्रममा गाउँमा सञ्चालन भएको होमस्टेमा आउने पाहुनालाई पैसारु देखाएर स्वागत गर्न थालिएको छ। नयाँ पुस्ताले नाचमा चाख देखाएपछि अघिल्लो पुस्ता अब यसको संरक्षण हुनेमा विश्वस्त भएको छ।
‘पुस्तौं अघिदेखि पैसारु नाच देखाउने गरेको सुनिन्छ’, स्थानीय १८ वर्षीया लक्ष्मी पुनले भनिन्, ‘सबै युवा मिलेर नाच्ने गर्छौं। सबैले मन पराउनु भएको छ।’ उनीसहित २० जनाले पैसारु देखाउने गरेका छन्। यस नाचमा मादल, डमरु, बाँसुरी, झ्यालीलगायत बाजा बजाइन्छ।
स्थानीय ६० वर्षीय निमबहादुर पुनका अनुसार पैसारुले किसानलाई प्रेरणा दिने गरेको छ। नृत्यको हाउभाउले खेतमा धान रोप्ने, काट्ने र धान निफनेको जस्तो गरिन्छ।
‘पुर्खाहरू यसैगरी नाचेको भन्ने जानकारी छ,’ उनी भन्छन्, ‘अध्ययन गर्दा धानखेतीका बारेमा पैसारु नाचको सन्देश पाइयो।’ विभिन्न २२ तालमा नाचिने भए पनि अहिले चार थरीका तालमा मात्र देखाउने सकिएको उनको भनाइ छ। गाउँका छोरानातिलाई नाच जोगाउन हौसला दिने गरेको उनले बताए।
स्थानीयले झन्डै एक घण्टा जति पैसारु देखाउने गर्छन्। पुनका अनुसार जिल्लामै धनवाङमा मात्र यो नाच देखाउने गरिएको छ। नृत्य गर्नेहरु आफ्नो परम्परागत मगर समुदायको पोसाकमा सजिएका हुन्छन्। २०७१ सालदेखि यहाँ सामुदायिक मगर होमस्टे सञ्चालित छ।
नाच देखाएको दुईदेखि तीन हजार लिने गरेको होमस्टे व्यवस्थापन समितिका उपाध्यक्षसमेत रहेका पुनले जानकारी गराए। स्थानीय परिकारसँगै कलासंस्कृतिले पाहुना लोभ्याएको छ। त्यस्तै, मेला महोत्सवमा पनि पैसारु देखाइन्छ।२०६९ सालदेखि स्थानीयले व्यावसायिक प्रदर्शन गर्न थालेका हुन्।
प्यूठानकै पहिलो होमस्टेलाई नमुना बनाउन योजना अघि सारिएको स्वर्गद्वारी नगरपालिका प्रमुख नेत्रबहादुर रोका क्षेत्रीले बताए। कलासंस्कृतिको जगेर्ना र स्थानीय परिकार संरक्षण गर्ने स्थानीय सरकारको दायित्वअनुसार योजना अघि सारिएको उनको भनाइ छ। रोका क्षेत्रीका अनुसार पूर्ण सरसफाइयुक्त गाउँ भएकाले पर्यटकको आकर्षण बढिरहेको छ। स्वर्गद्वारी दर्शन गर्न आउनेलाई होमस्टेमा बसाउने योजना बनाएको उनले सुनाए। स्वर्गद्वारीको धरमपानी बजारबाट आठ किलोमिटर यात्रापछि होमस्टे पुग्न सकिन्छ।
होमस्टेमा कला संस्कृतिसँगै लोकल कुखुराको मासु, मकैको आटो, सिस्नो, टिमुर, कोदोको ढिँडो, फापरको रोटी, गुन्द्रुक, भटमास, सुन्तलालगायतको स्वाद लिन पाइन्छ। वडाध्यक्ष मीनराज रानाका अनुसार १६ घरमा व्यावसायिक होमस्टे सञ्चालनमा छ।