विपन्न युवती यौन हिंसाको सिकार
फिदिम : विपन्न परिवारका महिला यौन हिंसाको सिकार बनेका छन्। विपन्न महिलाको यौन शोषण गर्न समाजका प्रतिष्ठित पुरुष संलग्न रहेको प्रहरी आँकडाले देखाएको छ। विपन्नतामाथि गिद्धे नजर लाउने पुरुषको चरित्रलाई चित्रण गरेको अधिकारकर्मीको ठहर छ।
बाल यौन दुराचारको आरोपमा फाल्गुनन्द गाउँपालिका-१ नवमीडाँडास्थित सिद्धेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद दुलाल पक्राउ परे। तीन कक्षामा अध्ययनरत १३ वर्षीया छात्रालाई यौन हिंसा गरेको आरोपमा दुलाल पक्राउ परेका हुन्।
हेडसरले आफूमाथिदुर्व्यवहार गरेको आमालाई भनेपछि घटना सार्वजनिक भएको थियो। छोरीमाथिदुर्व्यवहार गर्ने दुलालविरुद्ध आमाले फागुन ८ मा प्रहरीमा उजुरी दिएपछि दुलाल पक्राउ परेका हुन्। ‘हाम्रो गरिबीमाथि हेडसरले खेलबाड गर्न खोजे’, छात्राकी आमाले भनिन्, ‘छोरीलाईदुर्व्यवहार गरेपछि पैसा दिउला भनेर सामसुम गर्न खोजेका थिए।’
नवमीडाँडामा उनीहरूको दुई रोपनी चार आना पाखोबारी छ। घर खर्चको जोहो गर्न पीडित छात्राका बाबु इलामको एक होटलमा काम गर्न गएका छन्। ‘ श्रीमानले मासिक सात हजार पठाउनुहुन्छ’, छात्राकी आमा भन्छिन्, ‘म बनिबुतो गरी छोरा-छोरीलाई पढाउँछु। हाम्रो गरिबीमाथि हेडसरले खेलबाड गरे।’
याङवरक गाउँपालिका-३ ओयामका अमृत योङ्याविरुद्ध १९ वर्षीया युवतीले पुस २५ गते प्रहरीमा उजुरी दिइन्। साइनोमा नातिनी पर्ने ती युवतीले जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेपछि योङ्या फरार छन्। श्रीमान्सँग सम्बन्ध बिग्रिएपछि ती युवती माइतमा बस्दै आएकी थिइन्। ‘मेरो माइतीको घर जग्गा छैन’, ती युवती भन्छिन्, ‘बुबासँग अर्कोकै घरमा बसेर जीवन चलाइरहेको छु।’
युवतीले तीन वर्षीया छोरी र बाबुलाई पाल्न योङ्याको बाख्रा फर्ममा काम गर्न थालेकी थिइन्। ‘बाजेको बाख्रा फर्म र घरमा काम सघाउने गरेको थिए’, उनी भन्छिन्, ‘काम लगाउने बहानामा बाजेले नै मलाईदुर्व्यवहार गर्थे।दुर्व्यवहारको पीडा खप्न नसकेर प्रहरीमा उजुरी दिए।’
परिवार चलाउन योङ्याको बाख्रा फर्मममा काम गर्दा यौन हिंसाको सिकार बन्नुपरेको उनको भनाइ छ।
कुम्मायक गाउँपालिका-१ यासोककी १९ वर्षीया दलित युवतीले स्याबरुम्बाका रमेश खड्कासँग साउन २८ गते प्रेम विवाह गरिन्। सुकुमबासी दलित परिवारकी ती युवतीलाई खड्का परिवारले बुहारीका रूपमा स्वीकार गरेन्न। रमेशसँगको सम्बन्धबाट ती युवती गर्भावती भइन्।
गर्भ फाल्न गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङलाई खड्का परिवारले अघि सार्यो। सुकुमबासी दलित परिवारकी ति युवातीको पेटमा हुर्किएको २१ साताको गर्भ जबर्जस्ती फालियो थियो। ‘म सुकुमबासी दलित परिवारको भएकै कारण मेरो भविष्यमाथि खेलवाड भयो’, युवती भन्छिन्, ‘मेरो ठाँउमा उपल्लो जातकी युवती भएको भए खड्का परिवारले बुहारी स्वीकार गथ्र्याे।’ भू्रण हत्याको आरोपमा सातजनाविरुद्ध जिल्ला अदालत पाँचथरमा मुद्दा चलेको छ।
चालु आवमा ३१ वटा यौन हिंसासम्बन्धी मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन्। ‘यौन हिंसाको सिकार बनेर मुद्दा दर्ता गर्ने अधिकांश महिला विपन्न परिवारका छन्’, जिल्ला प्रहरी कार्यालय पाँचथरको तथ्यांकले देखाएको छ।