असत्यमाथि सत्यको जित
कोन तालमें ढोलक बाजे,
कोन तालमें मजिरा जाहि तालमें राधा नाचें,
ताहि तालमें मिरा जोगिरा सा...रा..रा.....।
अर्थात जुन तालमा ढोलक र मजिरा बाज्छ त्यही तालमा राधा र मिरा नाच्छिन्, जोगिरा सा..रा..रा...। यस्तै यस्तै लोकगीत र संस्कृतिको झलक दिने रंगैरंगको पर्व अर्थात होली (फागु पर्व) घर आँगनमा आइपुगेको छ। वर्षभरिको आपसी शत्रुता, ईश्र्या, द्वेष, रिस राग, कलह, ठूलो र सानो जातबीचको खाडललाई बिसाएर पारस्परिक प्रेम र स्नेह दर्शाउने उत्कृष्ट सन्देश बोकेको होली पर्व राजधानीबासीले सोमबार र उपत्यबाहिर मंगलबार र बुधबार गरी दुई दिन उल्लासमय वातावरणमा मनाउने प्रचलन छ।
कोरोना भाइरसका संक्रमण फैलन सक्ने भन्दै उपत्यकामा भने सरकारले सकेसम्म होली नखेल्न आग्रह गरेको छ। तराईका जिल्ला प्रशासन कार्यालयहरूले पनि सकेसम्म होली सचेत भएर खेल्न सूचना नै जारी गरेका छन्। होली पर्वलाई साम्प्रदायिक सद्भावको प्रतीक पनि मानिन्छ। यसमा सबै जातजाति, धर्मालम्बी र सबै वर्णका मानिस समभावले सरिक हुन्छन्। धनी र गरिबबीच कुनै भेदभाव हुँदैन। अधर्ममाथि धर्मको जित, असत्यमाथि सत्यको जित र कुकर्ममाथि सुकर्मको जितको प्रतीकका रूपमा मनाइने रंगविरंगी होली पर्वको तयारी सम्पन्न भएको छ। होलीलाई जातीय संरचना र संस्कृतिअनुसार विभिन्न नामबाट चिनिन्छ।
भारतीय नागरिकले होली, नेपालीले फागु पूर्णिमा, भोजपुरिया, अवधि र मिथिलाञ्चलवासीले फगुवा अथवा ‘होरी’ भन्ने चलन छ। कसैले होलिकोत्सव भने कसैले फाल्गुनोत्सव, मदनोत्सव, कामोत्सव, अंगोत्सव, मधुउत्सव र चैत्रोत्सव नामले पनि यसलाई सम्बोधन गर्दै आएका छन्। नाम विविध भए पनि यसको मूल सन्देश एउटै हो— वर्षभरिको आपसी रिसरागलाई थाति राखेर यस पर्वको माध्यमबाट राम्रो सम्बन्ध विस्तार गर्नु।
अधर्ममाथि धर्मको जित, असत्यमाथि सत्यको जित र कुकर्ममाथि सुकर्मको जितको प्रतीकका रूपमा रंगविरंगी होली पर्व मनाइने गरिन्छ।
‘व्यस्त, तनावग्रस्त तथा बोझिलो मनलाई किनारा लगाएर केही समयका लागि भए पनि खुसीपूर्वक बाँच्न यो पर्वले सिकाउँछ,’ मैथिली संस्कृतिविद् डा.रामदयाल राकेश भन्छन्। पर्वको मूलमन्त्र नै पारस्परिक मैत्रीसम्बन्ध हो। सालभरिका रिस राग, मतभिन्नता र आपसी मनमुटाव बिर्सेर एक आपसमा अंगालो (गलामा गला मिलाएर) मारेर यो पर्व मनाउने चलन छ। होलीको आरम्भ वसन्त पञ्चमीदेखि नै हुन्छ। जब मानिस चिन्ताविहीन, तनावमुक्त हुन्छ र कामकाजको भारीबाट उन्मुक्त हुन्छ तब ऊ आमोद प्रमोद र मनोरन्जनमा लाग्न खोज्छ।
क्षणिक समयका लागि भए पनि ऊ आनन्द प्राप्त गर्न खोज्छन्। होलीको वैज्ञानिक विशेषता पनि यिनै हुन्। वसन्त ऋतु उत्सर्गमा पुगेका बेला, बोटविरुवामा रंगिचंगी फूल फुलेका बेला, कोइली सुमधुर र सरस गीत गाइरहेको बेलामा मनाइने यो पर्वको मिथिलाञ्चलमा अति महत्व छ।
पौराणिक तथा धार्मिक पक्ष
लंकाका राजा रावणमाथि विजय प्राप्तिपछि अयोध्या (अबध) का राजा राम (रघुवीर) ले प्रेमभावका साथ यो पर्व अयोध्यामा मनाएका थिए। हिरण्यकशिपुले धर्मका प्रचारक आफ्ना अवोध छोरा प्रह्लादलाई मार्न रचेको प्रपन्च निस्तेज भएपछि होली मनाउन थालिएको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ। धार्मिक ग्रन्थका अनुसार प्रह्लाद भगवान् विष्णुका ठूलो भक्त थिए। उनी चौबीसै घन्टा भगवानकै पूजाअर्चनामा समय बिताउँथे। अधर्मको पक्षमा रहेका उनका पिता राजा हिरण्यकशिपुलाई छोराको यस्तो प्रवृत्ति पटक्कै मन पर्दैनथ्यो। एकदिन उनले आफ्नो बहिनी होलिकाको काखमा प्रह्लादलाई राखेर आगोमा जिउँदो जलाउने प्रयास समेत गरे। तर ईश्वरको कृपाका कारण प्रह्लाद आगोको रापमा जल्न सकेनन्। बरु बहिनी होलिकाको जलेर मृत्यु भएको थियो। अधर्ममाथि धर्मको जित भएको प्रतीकको रूपमा यसै समयदेखि होली मनाउन थालिएको हो। आगोको रापमा होलिकाको दहन भएकाले यो दिनलाई होलिकादहन पनि भन्ने गरिन्छ।
संस्कृतिविद् डा. दयालका अनुसार यो पर्वलाई राधा र कृष्णको रासलीलासँग पनि जोड्ने गरिएको छ। शृंगार रसकी धनी राधा र कृष्णले रंग र अबिर प्रयोग गरी यो पर्व मनाएका थिए। कृष्णले एउटा साधारण मायावी मानिससरह राधा र उनका सखीहरूसँग यो दिन सहवास एवं सुख सयलको आनन्द अनुभव गरेका थिए। यमुनाको तटमा कृष्णले राधा र गोपिनी समूहसँग होरी खेलेका थिए। हिमालयमा शिव र पार्वतीले होरी खेलेका थिए।
यस्तो हुन्छ मिथिलाञ्चलको
‘होरी’ मिथिलाञ्चलका हरेक गाउँमा एक महिना पहिलेदेखि नै गाउँभरीको फोहोर संकलन गरी एक स्थानमा जम्मा गर्ने चलन छ। फागु पूर्णिमा अन्तिम रातको अन्तिम प्रहरमा संकलन गरिएको फोहोरको थुप्रोमा आगो लगाइन्छ। यसलाई स्थानीय भाषामा ‘सम्मत’ भनिन्छ। यसलाई पनि समभाव र सद्भावको सूचक नै मान्न सकिन्छ। सम्मतको प्रदक्षिणा गरेर त्यसको खरानी शरीरमा दलि गायक दल बाजागाजाका साथ गाउँका घरदैलोमा विभिन्न प्रकारका लोकगीत गाउँदै घुम्छन्। घरदैलोमा आइपुगेका यस्तो दलमाथि रंग र अबिर हालेर पकाइएको माल्पुआ, गाजरको हलुवा, चामलको पुरी, खसीको मासु, दहिवाडा, दही, अचार, विभिन्न प्रकारका मिठाई, पान र सुपाडी खुवाएर स्वागत गर्ने चलन छ।
‘तर, अचेल गाउँघरमा राजनीतिक मतमतान्तर र मतभेदका कारण यो परम्परा लोपोन्मुख छ,’ डा.राकेश भन्छन्। मिथिलाञ्चलमा होलीपर्वका दिन आफूभन्दा ठूलाबडाको खुट्टामा अबिर चढाएर सानोले आशीर्वाद लिने यसका सकारात्मक पक्ष हुन्। घरमा आएका पाहुनालाई आदर सत्कार गरी परिवारका सबै सदस्य मिष्ठान्न परिकार सेवन गरी विभिन्न प्रकारको भाँडोमा तयारी गरी राखिएको रंग छ्यापेर र अबिर दलेर होली मनाइन्छ।
नकारात्मक पक्ष
अचेल मादक पदार्थ सेवन गरी वर्षभरिको रिसराग निकाल्न पनि यो पर्वलाई लिन थालिएको छ। ‘वर्षभरीको रिसराग मेटाउने यो पर्वको अहिले व्यापक दुरुपयोग भएको छ,’ अर्का संस्कृतिविद् धिरेन्द्र प्रेमर्षिले भने, ‘समय फेरिँदै गएको छ। अहिले यो पर्वको मौलिक विशेषता र महत्व नै धरापमा परेको छ। वर्षभरिको रिसराग निकाल्न, कुटपिट गर्न र हत्या गर्न यो दिनलाई अहिले बढ्दो प्रयोग गर्न लागिएको छ।’ उनका अनुसार नयाँ पुस्ताले होली मनाउने नाममा भाङ, गाँजा, धतुरो र मादक पदार्थ सेवनलाई प्राथमिकता दिन थालेका छन्। छालालाई नकारात्मक असर पुर्याउने उद्देश्यले नयाँ पुस्ताले रंगमा विभिन्न प्रकारका रासायनिक पदार्थ मिसाएर अश्लिलतापूर्वक यो पर्व मनाउने कार्यलाई तीव्रता दिएका छन्।
पछिल्ला वर्षहरूमा अबिर र रंग लगाउने बहानामा महिलाको संवेदनशील अंग स्पर्श गर्न खोज्नुजस्ता नकारात्मक पक्ष पनि यदाकदा नसुनिएको होइन। यस्ता विकृति समयमै रोक्न समाजमा जनचेतना फैलाउउनुपर्ने संस्कृतिविद्को भनाइ छ।