भीमफेदी-कुलेखानी सुरुङमार्ग : वैशाखमा टेन्डर गर्ने तयारी
हेटौंडा : हेटौंडा-कुलेखानी-काठमाडौं सडकअन्तर्गत भीमफेदीदेखि कुलेखानीसम्म सुरुङमार्ग निर्माण गर्न वागमती प्रदेश सरकारले वैशाखमा टेन्डर आह्वान गर्ने तयारी गरेको छ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले भीमफेदी पुलको एक किलोमिटर माथिबाट कुलेखानीको हेवीसम्म सुरुङमार्ग निर्माण गर्न लागेको छ। सुरुङ निर्माणपछि भीमफेदीदेखि कुलेखानीसम्मको १५ किलोमिटर सडक ३ दशमलव २५ किलोमिटरमा सीमित हुनेछ। हाल सम्भाव्यता अध्ययनको काम भइरहेको छ।
सम्भाव्यता अध्ययनअनुसार सुरुङमार्गको प्रवेशद्वार निर्माण हुने भीमफेदी गाउँपालिकाको धाप क्षेत्रमा भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलसहित प्राविधिकको टोलीले शुक्रबार अवलोकन गरेको छ। सम्भाव्यता अध्ययनका क्रममा रहेको प्राविधिक टोलीका इन्जिनियर भूगर्भशास्त्री ईश्वर दाहालले ४० दिनमा सम्भाव्यता अध्ययनको प्रतिवेदन मन्त्रालयमा बुझाइने बताए। सुरुङमार्गको भौगर्विक र सम्भाव्यता अध्ययन सकिने वित्तिकै टेन्डर आह्वान गर्ने भौतिक पूर्वाधारमन्त्री फुयाँलले बताए।
प्रदेश सरकारले चालु आर्थिक वर्ष सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्न १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। डिजाइन बिल्टमा ठेक्का आह्वान गर्ने तयारी गरेको मन्त्रालयले नयाँ आर्थिक वर्ष २०७७÷७८ को सुरुवातसँगै निर्माणकार्य थाल्ने मन्त्री फुयाँलले बताए। ‘हामी ३ वर्षभित्र सुरुङमार्ग निर्माणको काम सम्पन्न गर्नेछौं’, उनले भने, ‘त्यसका लागि करिब १२ अर्ब रुपैयाँ बजेट खर्च हुने हुनेछ, हामी संघीय सरकारसँगको समन्वय र दाताबाट बजेट व्यवस्थापन गर्नेछौं।’
भीमफेदीदेखि कुलेखानीसम्म सुरुङमार्ग दुई लेनको हुनेछ। सुरुङमार्गभित्र एकातर्फ ग्यास र अर्कोतर्फबाट तेल लैजान पाइपलाइन राख्ने ठाउँसमेत छुट्टयाइने मन्त्रालयले जनाएको छ। सुरुङमार्ग निर्माण हुँदा हेटौंडा काठमाडौंको यात्र करिब २ घण्टामा गर्न सकिनेछ।
प्रदेश सरकारले अध्ययन थालेको उक्त सुरुङमार्ग जनतासँग सेयर रकमसमेत उठाएको नेपाल पूर्वाधार विकास कम्पनी निर्माण गर्न संघीय सरकारसँग अनुमति लिएको थियो। २०६८ भदौ २० गते स्थापना भएको कम्पनीले २०६९ साल जेठ १ गते सरकारसँग प्रारम्भिक परियोजना सम्झौता गरी अनुसन्धान कार्यारम्भ गरेकोमा उक्त कम्पनीले काम गर्न सकेको छैन।
प्रदेश सरकारले सुरुङमार्ग निर्माण प्रक्रिया अघि बढाएपछि भीमफेदीबासी उत्साहित छन्। ‘हामी यहाँ मुआब्जालगायत समस्या समाधान गर्न तयार छौंं’, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले भने, ‘योपटक भने हल्लामा मात्र सीमित हुन्न भन्नेमा विश्वस्त छौं।’