तस्बिरमा भैरहवाको होली
भैरहवा : आज तराईका विभिन्न जिल्लाहरुमा होली मनाइँदैछ । तर, यस वर्षको होली कोरोना प्रभावले सुनसान भएको छ । अघिल्ला वर्षका तुलनामा अहिले बजारमा चहलपहल कम देखिएको छ । भैरहवा बजारमा हुने संगातिक कार्यक्रम पनि यो होलिमा भएन ।
स्थानीय प्रशासनले भीडभाड गरी रंग नखेल्न अनुरोध गरेको थियो । होलीको सुरक्षालाई मध्यनजर गर्दै रुपन्देही प्रहरीले जिल्ला भरी सुरक्षा व्यवस्था पनि पारेको छ । जिल्लामा मोबाइल गस्ती, पैदल, मोटरसाइकल गस्ती लगायत प्रहरी टिमहरु विभाजन गरी जिल्ला भरी खटाइएको छ । ठाउँठाउँमा प्रहरी चेकिङ प्वाइन्ट राखिएको छ । प्रहरीले सभ्य रुपमा होली मनाउन माइकिङसमेत गरिरहेको छ ।
कोरोनाको त्रास रहे पनि त्यसलाई छिचोल्दै आंशिक रूपमा सर्वसाधरणले होली खेलेका छन् । एक आपसमा मित्रता, आत्मीयता, सामिप्य र सद्भाव दर्शाउन साथीभाइलाई अबिर तथा रङ लगाई होली पर्व मनाउँदै छन् । क्रिकेट खेलाडी शक्ति गौचनले पनि सर्वसाधरणलाई रंग लगाएर होली पर्व मनाएका छन् । पहाडी तथा हिमाली जिल्लामा होली मनाइएको भोलिपल्ट तराईमा होली पर्व मनाउने गरिन्छ ।
बजारका विभिन्न स्थानमा होलीका लागि राखिएका सामग्री विगतमा जस्तो विक्री नभएको व्यवसायीहरूको भनाइ छ ।
‘अघिल्लो वर्षहरुमा हप्ताअघि देखि नै व्यापार हुन्थ्यो तर यस वर्ष त्यति भएन’ भैरहवामा रंग विक्री गर्न पसल थापेर बसेका शम्भुनाथ केशरीले भने, ‘कोरोनाको त्रासले होलीको रौनक नै देखिएन ।’





प्रतिक्रिया दिनुहोस !