विश्व प्रसिद्ध भ्लगर्स नेपाल आउँदै
काठमाडौं : एसियाका आठ देशमा हिमाली ताल र यसबाट उत्पन्न हुने नदी तथा खोलाको सिंगो पारिस्थितिक पद्धति (इकोसिस्टम) संरक्षणका लागि भ्लगर्सले पहल सुरु गरेका छन्। हिमताल तीव्र गतिमा पग्लिँदा यस क्षेत्रका अर्बौं मानिसको जीवन जोखिममा छ।
भ्लगर्सको प्लेटफर्म ‘वर्ल्ड भ्लगर्स च्यालेन्ज डट कम’ का डिजिटल संयोजक शिवानी प्रधानले प्रभावशाली भ्लगर्सले यसमा पहल गर्ने बताइन्। यसका लागि भारतका जित सेलाल र आहाना कुम्रा, मेक्सीको एलेक्स टिन्डा, कोलम्बियाका जुआन्स वेलेज, अमेरिकाका स्टिलिडाभिस र कारिग आडम्स र नेपालका अनुस्का श्रेष्ठ र नीति शाह छन्।
भि-लग युवा पुस्ताका सूचनाका स्रोत भएकाले यो पहल फलदायी हुने बताइएको छ। सामाजिक सञ्जाल (सोसल मिडिया) का यी नायक, नायिकालाई एभरेस्टको आधारशिविर खुम्बु हिमतालमा साहसिक पर्यटनका लागि लैजाने र नदीको उत्पत्तिबारे उनीहरूको अनुभवका कथा नयाँ पुस्तासम्म पुर्याउन पहल गरिनेछ ।
यो अभियानले १२ जना भ्लगर्ससँग समझदारी गरेको छ। यीमध्ये केहीको गोपनियताका कारण नाम खुलाइएको छैन। यी भ्लगर्समा ३ करोड रहेका छन्। यो अभियान अहिलेसम्मकै ठूलो सोसल मिडिया अभियान हुनेछ।
खुम्बुमा यात्राको नेतृत्व चर्चित पर्वतारोही निर्मल पुर्जा र मिङ्मा डेभिड शेर्पाले सहयोगी भूमिका निर्वाह गर्नेछन्। उनीहरूको यात्रामा आधारित ‘रियालिटी सो’लाई ‘वर्ल्ड भ्लगर्स च्यालेन्जर्स’ नाम दिइएको छ। यो रियालिटी सो सिमोस सुनुवारले निर्देशन गर्नेछन्। यो अभियानअन्तर्गत संसारको सबैभन्दा उचाइको स्थानमा भ्लगर्सको सम्मेलन हुनेछ। त्यस्तै खुम्बु हिमताल क्षेत्रबाट पोडकास्टमार्फत सचेतना जगाइने आयोजकले जनाएको छ ।