जब साधु ‘बलात्कारी’ हुन्छ
इटहरी : पूर्वीय मान्यता छ– साधु भएपछि सांसारिक मायामोहको जालबाट टाढा रहनुपर्छ। साधुहरू विवाह बन्धनमा बाँधिदैनन्। उनीहरू भगवानको भक्ति र आरधना गर्छन्। तर, विश्वभरमै यस्ता धेरै साधु–सन्त छन्, जो बलात्कारमा मुछिएर दोषीसमेत करार भएका छन्।
हिन्दू हुन् वा मुस्लिम, बौद्ध हुन् वा इसाई, दुव्र्यवहार तथा बलात्कार र यस्तै नैतिक पतनको घटनामा धर्मगुरुहरू मुछिएकै छन्। पछिल्लो समय पूर्वी नेपालको सुनसरी जिल्लाको चतरामा आश्रम बनाएर बसेका सिद्धबाबा कृष्णदास भनिने कृष्णबहादुर गिरी बलात्कार मुद्दामा पुर्पक्षका लागि जेल चलान गरिएका छन्।
भू–समाधिका कारण पटक–पटक चर्चामा आएका उनीविरुद्ध उनकै एक अनुयायीले बलात्कारको मुद्दा दर्ता गरेपछि योग र आयुर्वेदका कारण चर्चा कमाएका कृष्णदासका खराब दिनको सुरुवात भयो।
काठमाडाँै घर भएकी र दुई सन्तानकी आमासमेत रहेकी एक महिलाले आफूलाई चतरास्थित आश्रममै कृष्णदासले बलात्कार गरेको आरोप लगाइन्। सुरुमा जाहेरी नै लिन नचाहेको प्रहरीले पछि घटना सार्वजनिक भइसकेपछि भने जाहेरी लियो। मुद्दा दर्ता भएलगत्तै बाबा विराटनगरस्थित विराट नर्सिङ होममा गत मंसिर १२ गते भर्ना भए।
यता जिल्ला अदालतमा उपस्थित गराउनसमेत प्रहरीलाई हम्मेहम्मे परेको थियो। बल्लतल्ल अदालत पुगेका उनलाई अदालतले अस्पतालमै बसेर बयान दिने सुविधा दियो। त्यही अदालतले पछि उनलाई तीन लाख धरौटीमा छाड्ने आदेश दियो।
आदेश चित्त नबुझेपछि विराटनगरस्थित उच्च अदालतमा मुद्दा पर्यो। उच्च अदालतले माघ ९ गते थुनामा राखेर अनुसन्धान गर्न आदेश दियो, तर आदेश आउनु केही घण्टाअघि नै उनी भारततिर भागे।
नाटकीय शैलीमा उनी फेरि फागुन १९ गते जिल्ला अदालत सुनसरीमा उपस्थित भए। अहिले उनलाई उच्च अदालतको आदेशअनुसार झुम्का कारागारमा थुनामा राखिएको छ।
देशका राष्ट्रपति, प्रधानमन्त्रीदेखि विदेशी नेता तथा सन्तलाई समेत आफ्ना अनुयायी बनाउन सफल रहे पनि कृष्णदास विवादास्पद पृष्ठभूमिका कारण चर्चामा आइरहन्थे।
अस्पतालमा नाटक
मुटुको समस्याको उपचार गर्न भन्दै भर्ना भएका कृष्णदासले त्यहाँ उपचार कम र परामर्श बढी गर्थे। उनलाई भेट्न उनका निकट अनुयायी, वकिल, विभिन्न सरकारी कर्मचारी र व्यापारी पुगिरहन्थे। सबैसँग मज्जाले कुरा गर्ने उनी बयानका लागि प्रहरी पुग्नेबित्तिकै भने बिरामी भएको नाटक गर्थे।
अझ रोचक कुरा त के सार्वजनिक भयो भने, उनले अस्पतालमा दादको औषधि बढी लिएको भेटियो। गाइनो वार्डमा बसेर दाद र लुतोको औषधि लिएका उनले प्रहरीलाई समेत प्रभावमा पारेर मुद्दा कमजोर बनाएको आरोप लाग्यो।
महिलाबाट एकोहोरो म्यासेज
बलात्कार उजुरीको विषय बाहिरिएपछि एकातिर कृष्णदासको आलोचना भइरहेको थियो भने अर्कातिर उनका अनुयायीले उनलाई फसाउने षडयन्त्र भएको आरोप लगाएका थिए।
उनीहरूले बलात्कारको आरोप लगाउने महिलाले कृष्णदासलाई पठाएको भनिएका म्यासेजहरू सार्वजनिक गरे। म्यासेजमा ती महिलाले एकतर्फी रूपमा कृष्णदाससँग प्रेमभाव व्यक्त गरेको पाइएको थियो।
छ महिनाअघिदेखि पठाइएका म्यासेजमा भेटेर चुम्बन गर्ने र अँगालो हाल्नेलगायत सन्देश छन्। एउटा म्यासेजमा लेखिएको छ, ‘एकचोटि भेट्न पाए नि हुन्थ्यो, कति चुम्न मन छ। के यो झुटो हो ? हजुरको मनमा टोलाउँदा आफैँ मुस्कुराउँछन् यी ओठ, के यो नाटक हो ?’
ती महिलाले कृष्णदासलाई पटक–पटक भेट्न खोजेको र भेट्नका लागि आफूहरूलाई पनि गुहारेको जगत्गुरु रामानन्दचार्य सेवा पीठका अध्यक्ष तथा स्थानीय अगुवा गणेश सुब्बा ‘विरही’ले जानकारी दिए। पीठ कृष्णदासको आश्रम हो। पटक–पटकको कोसिस असफल भएपछि बलात्कारको आरोप लगाएको हुन सक्ने विरहीको भनाइ छ। आश्रममा बस्ने सुभद्रा ढकाल तथा सृष्टि अधिकारी लगायतले पनि आरोप निराधार भएको बताए।
बालसन्तसँग जुँगाको लडाइँ
२०५५ सालताका नै चतरामा आश्रम बनाएर गुरुकुल पद्धतिबाट शिक्षण आरम्भ गरेर बसेका बालसन्त मोहनशरण देवाचार्यले कृष्णदासलाई चतरा ल्याएका थिए। दुवै मिलेर २०५९ सालमा महाकुम्भ पनि गरे। तर, पछि दुवैबीच फाटो देखियो, जुन बढ्दै गएर पछिल्लो कुम्भसम्म आइपुग्दा बालसन्त एक्लै भए।
‘मकहाँ आइरहेपछि माया लागेर छेउमै बस न त भनेर माया गरेर राखेको थिएँ,’ बालसन्तले केही महिनाअघि गरिएको महाकुम्भका क्रममा भनेका थिए, ‘तर, पछि औँलो दिँदा डुँडुलो निल्न खोजे, म रुन मात्र सकेको छैन।’
महाकुम्भपछि बालसन्तले २०६७ सालमा जगतगुरुको उपाधि पाए। तर, कृष्णदास टाढिँदै गए। उनको स्वभावलाई लिएर बालसन्तले गुनासो गर्दै आएका थिए।
यस बीचमा कृष्णदासले पटक–पटक भू–समाधि लिए। पोखरा र चतरामा नौ दिनसम्म जमिनमुनि बिनाअक्सिजन र खानेकुरा गरेको भू–समाधिले उनलाई चर्चित बनायो। भू–समाधिमाथि शंका गर्ने पनि प्रशस्तै थिए।
पछिल्लो समय महाकुम्भका लागि बालसन्त अभियान र प्रचारप्रसारमा रहेका समयमा कृष्णदासले अझ आक्रामक प्रचारका साथ चतरामै तारकब्रह्म महायज्ञ लगाए। नेपालका शहरबजारका पोलमा उनको फोटोसहितको महायज्ञको प्रचार थियो भने राष्ट्रिय पत्रिकाहरूमा पूरा पृष्ठका विज्ञापन छापिएका थिए। धेरैले त महायज्ञलाई नै महाकुम्भका रूपमा समेत बुझे।
तारकब्रह्म महायज्ञपछि भारतबाट आएका केही साधुसन्तले कृष्णदासलाई जगतगुरु घोषणा गरे। जसमा बालसन्तको असन्तुष्टि थियो।
तारकब्रह्ममा बालसन्त सहभागी हुन सकेनन्। पछि महाकुम्भको उद्घाटनमै यी दुईबीच भनाभनसमेत भयो।
सजिलै जगतगुरु नबनिने बताउँदै बालसन्तले भनिदिए, ‘काशीको विद्वत् सभाले चार वर्षको मन्थनबाट मात्रै मलाई जगतगुरु बनाएको हो।’ अनि, कृष्णदासले पनि भने, ‘देशभरका सन्त नजुटेको कुम्भ कुम्भ नै होइन।’
आश्रममा आशीर्वाद लिन पुग्थे भीआईपी
कृष्णदास महाराज उच्च ओहोदाका कर्मचारी, नेता, मन्त्री तथा भारतीय अधिकारीहरूलाई समेत प्रभावमा पार्न सक्षम थिए।
राष्ट्रपति, प्रधानमन्त्रीदेखि कर्मचारीका हाकिमसम्म उनलाई ढोग्थे। नेपालका शीर्ष उद्योगी, नेतासँगको उनको संगतकै कारण सिँचाइको जग्गाबाट उनलाई कसैले हटाउन नसकेको बताइन्छ।
सबै क्षेत्रका विशिष्ट व्यक्तिहरू उनको आश्रममा उनको आशिर्वाद लिन पुग्थे। उनको आश्रममा नेपालकै अग्लो र ठूलो हनुमानको मूर्ति स्थापित छ।
उनको आश्रममा केही समयअघिसम्म पनि योग ध्यान शिविर नियमित हुन्थे। नाडी विद्याबाट रोग पत्ता लगाई जडीबुटीको बिक्री गर्ने गरिएको थियो। दैनिक दर्जनौँको संख्यामा बिरामीहरू उपचारका लागि उनको आश्रममा पुग्थे।