लडाकु बनाउन बालिका अपहरण : हतियारसहित विप्लव समूहका १४ जना पक्राउ

लडाकु बनाउन बालिका अपहरण :  हतियारसहित विप्लव समूहका १४ जना पक्राउ

उदयपुर : लडाकु बनाउन बालिका अपहरण गर्ने नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका १४ जना नेता कार्यकर्तालाई प्रहरीले बिहीबार हतियारसहित उदयपुरबाट पक्राउ गरेको छ। धनुषाको गणेशमानचारनाथ नगरपालिका–५ चिसापानीका लालबहादुर मोक्तानकी १४ वर्षीया छोरी करिनालाई फागुन २८ गते गौरीखोलाबाट अपहरण गरी ल्याउनेक्रममा प्रहरीले उदयपुरको कटारी–१ खसीबासबाट पक्राउ गरेको हो।

आफ्नो समूहमा आवद्ध गराउँदै लडाकु बनाउने उद्देश्यले अपहरण गरी भाग्दै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ। १ नम्बर प्रदेश र २ नम्बर प्रदेश प्रहरीको समन्वयमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरूलाई मेडइन युएसए लेखेको ९ राउण्ड गोलीसहित पेस्तोल तीन नाल, सकेट वम ११ वटा, प्रेसर कुकर वम एक, डेटोनेटर तार दुई मिटर, खुकुरी दुई थान, मोवाइल दुई, पार्टीका प्रचार तथा बन्दोबस्ती सामग्रीसहित पक्राउ गरिएको प्रहरी नायब महानिरीक्षक प्रधुम्न कार्कीले जानकारी दिए।

पक्राउ परेकामा ६ जना युवती र ८ जना पुरुष छन्। प्रक्राउ पर्नेमा इलाम याकथोकका मुस्कान राई, आयुस मगर, सुनसरीका विवेक खड्का, सर्लाहीकी रिता कार्की, सोलुखुम्बुका विकास राई, ताप्लेजुङकी रन्जना राई रहेका छन्। यस्तै, उदयपुरका अभिनास तामाङ, त्रियुगा नगरपालिकाका आशिस लामा, धनकुटा पाख्रिबासकी अनिता राई, सिन्धुली ईश्वर पुनमगर, कैलालीकी अनुस्का राउत, मोरङकी सपना राई, आशिष श्रेष्ठ र भोजपुरका मनोराम राई रहेको डीआइजी कार्कीले पुष्टि गरे।

पक्राउ पर्ने अधिकांश किशोरकिशोरी छन्। बुधबार अपरहणमा परेकी बालिकालाई खोज्न २ नम्बर प्रदेशका ८२ जना सशस्त्र प्रहरी र ३४ जना नेपाल प्रहरी गरी एक सय १६ जना परिचालन गरिएको थियो। डीआइजी कार्कीले भने, ‘अपहरण गरेको २४ घण्टाभित्र नेपाल प्रहरी र सशस्त्र प्रहरीको क्रियाशीलताले उद्धार गर्न सफल भयौं।’

उनले घटनापछि रातभर आफूहरू सुत्न नपाइएको बताए। ‘बालिका अपहरणमा परेपछि म र सशस्त्र प्रहरीका डीआइजी राजु अर्याल रातभर सुत्न पाएका छैनौं,’ उनले भने, ‘रातभर प्रहरीले सम्भावित ठाउँमा मोबाइल लोकेसन हेर्दै पच्छ्यायौं।’ अपहरण परेलगत्तै आफन्तले प्रहरी चौकी चिसापानीमा खोजीका लागि जाहेरी दिएका थिए।

सशस्त्र प्रहरी निरीक्षक गणेशदत्त पाण्डेको कमान्डमा १७ जना, सुरक्षा वेश नक्टाझिजको १० जना र इलाका प्रहरी कार्यालय ढल्केवरबाट प्रहरी निरीक्षक तिर्थबहादुर कार्कीको कमाण्डमा ९ जनाको टोली परिचालित भए पनि फेला पार्न सकेन। बिहीबार पूनः ठूलो संख्यामा प्रहरी परिचालन गरेर अपहरित बालिका अपहरणमुक्त गरिएको छ।

उनलाई अपहरण गरेको खास कारण पत्ता नलागे पनि लडाकु बनाउनका लागि अपहरण गरिएको हुनसक्ने अनुमान गरिएको छ। प्रहरी स्रोतकाअनुसार विभिन्न प्रलोभनमा पारेर आफ्नो समूहमा आवद्ध गर्न अपहरण गरेर लिइएको बुझिएको छ।

पक्राउ परेका विप्लव समूहका नेता कार्यकर्तालाई घटनास्थलमै राखिएको छ। वमसमेत भएकाले सेनाको डिस्पोजल टोली बोलाइएको र डिस्पोज गरेपछि मुचुल्का तयार पारी सबेलाई धनुषा प्रहरीलाई बुझाइने जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढामगरले जानकारी दिए। उनले घटना धनुषा जिल्लाबाट भएकाले उतै पठाउने तयारी भइरहेको बताए। पक्राउ परेकाको सबै युवायुवती चन्द समूहका छापामार भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

यसरी भयो अपहरण

बालिकाको खास घर सिन्धुलीको दुधौली नगरपालिका–३ हो। दुधौली घर भए पनि उनीहरूको खेती धनुषाको गणेशमानचारनाथ नगरपालिका–५ चिसापानी थियो। बुवा–आमा खेती गर्न धनुषा गाईगोठ लिएर झरेपछि बालिका पनि त्यहीँ बस्दै आएकी थिइन्।

त्यसक्रममा गाउँबाट हजुरआमाको मृत्युको खवर आएपछि अभिभावक सिन्धुली गएका थिए। गाईगोठमा बालिका मात्र देखेपछि विप्लव समूहका १४ जना कार्यकर्ता बुधबार राति हतियारसहित त्यहाँ पुगेका थिए। अभिभावक कोही नभएकाले उनीहरूको बालिकासँग लामो संवाद भयो।

पार्टीमा हिड्ने, राम्रो हुन्छ, जनताका निम्ति संघर्ष गर्नेजस्ता कुरा भएपछि बालिकाले परिवारसँग सोध्ने बताइन्। उनी तयार नभएपछि अपहरण गरिएको प्रहरीले बताएको छ। पीडितका बुवा लालबहादुर मोक्तानलाई सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन।

उदयपुर सेक्रेटरी पनि पक्राउ

यसैबीच चन्द समूहका जिल्ला सेक्रेटरी ५४ जीतबहादुर पुलामीमगरलाई पनि प्रहरीले बिहीबार बिहान पक्राउ गरेको छ। उदयपुरगढी गाउँपालिका–७ अधेँरीका चित्रबहादुर खपांगीमगरको घरमा लुकिछिपी बस्दै आएका मगरलाई सोही गाउँपालिकाको वडा नम्बर ४ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

केही दिनयता खपांगीको घरमा बसेर विप्लव समूहको नाममा योजना बनाएको, गतिविधि बढाएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरिएको एसपी बुढामगरले जानकारी दिए। २०७६ माघ १३ गते लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईको कार्यकक्षमा वम राखेको, २०७४ सालको संघीय निर्वाचनमा चुनाव प्रचार प्रसारका क्रममा मंसिर १३ गते कांग्रेस क्षेत्र नम्बर २ का उमेदवार नारायणबहादुर कार्कीलगायतका ७ जनालाई लक्षित गरी उदयपुरगढी–६ दनुवारबेसी सडकमा एम्बुस थापेर अंगभंग बनाएको आरोपमा मगरविरुद्ध अदालतमा मुद्दा चलिरहेको एसपी मगरले बताए।

यस्तै, एनसेल टावर, व्यक्ति तथा कार्यालय र सडकलाई लक्षित गरी वम राखेर त्रास फैलाएको जस्ता मुद्दा रहेको उनले बताए। पक्राउ परेका मगरलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.