भ्रुणहत्या प्रकरण : धरौटीमा छुटे गाउँपालिका अध्यक्ष
फिदिम : जिल्ला अदालत पाँचथरमा इजलाशको ढोका बाहिरपट्टी बिहीबार समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटा कुर्सीमा बसिरहेका थिए। सापकोटासँगै अर्को कुर्सीमा भ्रुणहत्या गराउन दबाब दिएको आरोप लागेका कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ बसेका थिए। वरपरबाट प्रहरीले पहरा दिइरहेका थिए।
‘आज अदालतमा नेताहरूको खुब भिडभाड छ,’ श्रेस्तेदार राजकुमार न्यौपानेले भने, ‘अदालतमा यस्तो भीड कहिल्यै हुँदैनथ्यो।’ अदालत पारिसरको भीडमा पूर्वमन्त्री डम्बरसिंह सम्बाहम्फे, नेकपा पाँचथरका अध्यक्ष राजकुमार भण्डारी, गाउँपालिका उपाध्यक्ष सीता आचार्य, वडाध्यक्षलगायतका दर्जनौं नेता कार्यकर्ताको लाइन नै थियो।
अन्तरजातिय विवाह गरेकी दलित युवतीको पेटमा हुर्किएको भ्रुणहत्या गरेको आरोपमा फरार रहेका गाउँपालिका अध्यक्ष चेम्जोङ ३५ दिन कटाएर बिहीबार अदालतमा उपस्थित भएका हुन्। जिल्ला अदालत पाँचथरका न्यायाधीश मोहनराज भट्टराईको एकल इजलासले आरोपित चेम्जोङ्लाई ५५ हजार धरौटीमा छाड्न आदेश दिएको छ। यसअघि भ्रूणहत्याको आरोपमा पक्राउ परेका फिदिममा सञ्चालित समर्पित अस्पतालका चिकित्सक विसालचन्द्र सुवेदी, सोही अस्पतालका पब्लिक रिलेसन अफिसर शिशिर आङ्बो र कुम्मायक गाँउपालिकको यासोकमा सञ्चालित यासोक फार्मेसीका खगेन्द्र घिमिरे जनही ८० हजार धरौटीमा छुटेका थिए।
भ्रूणहत्याको आरोपमा मुद्दा परेका सात जनामध्ये चार जना धरौटीमा छुटेका छन्। युवतीसँग विवाह गरेका आरोपित रमेश खड्का, रमेशका दाजु सन्तोष खड्का र दिदी कमला भने अझै फरार छन्। कुम्मायक गाउँपालिका–१ यासोक बजारकी १९ वर्षीया दलित युवतीको पेटमा हुर्किएको २१ हप्ताको भू्रण हत्या गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा परेको थियो। मेघा बैंक कुम्मायक शाखामा कार्यरत स्याबरुम्बाका रमेश खड्कासँग प्रेम विवाह गरेकी ती युवती सुकुम्वासी दलित परिवारकी हुन्।
‘अध्यक्षकै दबाबमा भ्रूणहत्या’ शीर्षकमा अन्नपूर्ण पोस्टमा समाचार प्रकाशित भएपछि ती युवतीले गाउँपालिका अध्यक्ष चेम्जोङसहित सात जनाविरुद्ध माघ २२ गते प्रहरीमा जाहेरी दिएकी थिइन्। रमेशसँग साउन २८ गते फिदिमस्थित शिवालय मन्दिरमा गएर प्रेम विवाह गरेको पीडित युवतीको भनाइ छ। विवाहपछि गर्भवती बनेकी युवतीको गर्भ फाल्न गाउँपालिका अध्यक्ष चेम्जोङ, रमेशका दाजु सन्तोष र कमला खड्काले दबाब दिएको युवतीको भनाइ छ।
गर्भ नफाले गाउँपालिकाबाट दिइने सेवा सुविधाबाट वञ्चित गराउने र गाउँ निकाला गर्ने भनेर अध्यक्ष चेम्जोङसहित रमेशका दाजु र दिदीले धम्क्याएर गर्भ फाल्न लगाएको भन्दै युवतीले जाहेरी दिएकी थिइन्। दबाबपछि ती युवतिलाई पुष २४ गते फिदिमस्थित समर्पित अस्पताल ल्याइएको थियो। पुष २६ गते राति युवतीको पेटमा रहेको २१ हप्ताको भ्रुणहत्या गरेर २८ गते अस्पतालबाट डिस्चार्ज दिइएको थियो।