सिरहाको तीन नाकामा हेल्थ डेस्क
सिरहा : छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड-१९)का संक्रमित भेटिएपछि नेपाल-भारत आवतजावत हुने सिरहाका तीन नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ । त्यस हेल्थ डेस्कमा भारतबाट आउनेहरुलाई सोधपुछ र शंका लागेको व्यक्तिलाई 'इन्फ्रारेड थर्मोमिटर'को सहायताले टाढाबाटै तापक्रम जाच्ने गरिएको छ।
जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख डाक्टर कृष्णदेव यादवका अनुसार सिरहाको माडर, बरियारपट्टि र ठाडी नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ । यसबाहेक जिल्लाभरिमा सुरक्षित रहने जनचेतनासम्बन्धी कार्यक्रम गरिरहेको उनले जानकारी गराए । आइसोलेसन वार्ड स्थापनाका लागि पहल भइरहेको उनले सुनाए ।
यी नाकामा १० दिन अगाडिदेखि नै हेल्थ डेस्क स्थापना गरिएको थियो । तर उपकरण अभावका कारण व्यवस्थित हुन सकेको थिएन् । बिहीबारदेखि त्यहाँ टाढाबाटै तापक्रम नाप्ने 'इन्फ्रारेड थर्मोमिटर' राखिएको स्वास्थ्य कार्यालय प्रमुख यादवले बताए । बजारमा पर्याप्त मात्रामा मास्क नपाइरहेको उनले सुनाए । डेढ हप्तासम्म साधारण थर्मामिटरले तापक्रम नाप्नुपर्ने कारणले हेल्थ डेस्कमा बस्ने स्वास्थ्यकर्मीले प्रभावकारी रुपमा काम गर्न सकेका थिएन ।
त्यतिबेला उनीहरुले न्युन व्यक्तिलाई तापक्रम नाप्ने गरेका थिए । १० देखि ५ बजेसम्म मात्रै सरकारी स्वास्थ्यकर्मी नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा बस्थ्यो । बिहीबारदेखि बिहान ६ देखि राती १२ बजेसम्म स्वास्थ्यकर्मी बस्नुपर्ने व्यवस्था गरिएको डाक्टर यादवले बताए । तीन 'सिफ्ट' मा ६÷६ घण्टाको समय मिलाएर स्वास्थ्यकर्मीको ड्युटी मिलाइएको उनले सुनाए ।
लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा भारतबाट बढी बिरामी उपचारका लागि आउने गरेका छन् । कोरोना भाइरसको संक्रमित कोही नभित्रियोस भनेर सावधानी अनाइरहेको अस्पतालका निर्देशक अभिशेक रोसनले बताए । 'अस्पतालमा बिरामीको उपचारमा कार्यरत स्वास्थ्यकर्मीलाई अनिवार्य मास्क प्रयोग र बिरामी जाचेपछि हात सफा गर्न अनिवार्य गराएका छौँ, 'उनले भने, 'ठाडी नाकामा अस्पतालको सहयोगमा हेल्थ डेस्क पनि स्थापना गरिएको छ ।'
त्यस डेस्कमा अस्पतालका तर्फबाट दुईजना कर्मचारी र 'इन्फ्रारेड थर्मोमिटर' एक थान सहयोग गरिएको छ । कोरोना भाइरसको नाममा कालोबजारी गर्नेलाई तत्काल कारवाही गर्न सम्बन्धित निकायलाई प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले निर्देशन दिएका छन् । 'भाइरसको त्रास देखाएर कालोबजारी गर्नेलाई कारवाही गरिनेछ । प्रहरीलगायत निकायलाई निर्देशन गरिएको छ,'उनले भने, 'सावधानी अपनाउन जनचेतना मुलक कार्यक्रम गरिरहेका छौँ ।'
सीमाका सुरक्षाकर्मीलाई कडाई गर्न पनि निर्देशन गरिएको उनले जनाए ।सभा, सम्मेलन रोकिएपछि व्यवसायीको कारोबारमा गिरावट आएको जिल्ला उद्योग वाणिज्य संघ सिरहाका अध्यक्ष अशोक अमात्यले सुनाए ।