कोरोना प्रभाव : अन्नपूर्ण पदमार्गमा पर्यटकको स्वास्थ्य जाँच
बेंसीसहर : कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम न्युनिकरणका लागि हिमाली जिल्ला मनाङ प्रवेशद्वारमा हेल्थडेक्स स्थापना गरिएको छ । दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटक ओहोरदोहोर हुने मनाङमा अब स्वास्थ्य जाँच गरेर मात्र प्रवेश दिइने भएको छ । मनाङ नासों गाउँपालिका १ धारापानीमा हेल्थडेक्स स्थापना गरी पर्यटकको स्वास्थ्य जाँच सुरु गरिएको हो।
जिल्ला प्रशासन कार्यालय मनाङको अगुवाइमा मनाङ नासों गाउँपालिका, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पातल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) धारापानी चेकपोष्टको संयुक्त पहलमा हेल्थ डेस्क स्थापना गरिएको हो । मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलका अनुसार हेल्थडेक्समा बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाइएको छ ।
अन्नपूर्ण पदमार्गमा पर्ने यस क्षेत्रमा पर्यटकीय सिजनमा दैनिक ५ सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछन् । 'यहाँको प्रमुख आधार नै पर्यटन हो । घुम्न आउने पर्यटकलाई रोक्न सकिएको छैन, तर सजगता चाँही अपनाइएको छ, नासो गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले भने, 'कोरोना संक्रमण विश्वव्यापी समस्या भएकोले यसबाट जोगिन स्थानीयस्तरमा प्रचारप्रसार र सचेतनाका कार्यक्रमपनि गरिरहेका छौं ।'
कैदीबन्दीलाई सचेतना
जिल्ला प्रशासन कार्यालय मनाङले कारागारका कैदीबन्दीलाई कोरोना भाइरसबाट जोगिने उपायबारे स्वास्थ्य जानकारी गराएको छ। मनाङ जिल्ला अस्पतालका मेडिकल अफिसर डा. प्रतिक न्यौपानेले सरसफाई, हातधुने तरिकार, माक्स लगाउने तरिका आदिबारे जानकारी गराएका थिए ।
यस्तै, चामेस्थित नेपाली सेनाको रणदल गुल्मले पनि चामे र नासोँ गाउँपालिकामा कोरोना भाइरसबारे सचेतना कार्यक्रम सञ्चालन गरेको छ । सेनाले कोरोना रोगको लक्षण र बच्ने उपायबारे स्थानीयलाई सचेत गराइएको गुल्मका उपसेनानी फत्त श्रेष्ठले बताए ।