‘स्टीङ अपरेशन’ तिब्र पार्दै अख्तियार

‘स्टीङ अपरेशन’ तिब्र पार्दै अख्तियार

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला दिनमा स्टीङ अपरेशन तिब्र पारेको छ । दिनहुँजसो कर्मचारी र सार्वजनिक पदाधिकारी स्टिङ अपरेशनको फन्दामा पर्न थालेका छन् ।

अख्तियार टोलीले शुक्रबार मात्रै रुपन्देहीस्थीत नापी कार्यालयका नापी अधिकृत सरोज श्रेष्ठसहित पाँच कर्मचारीलाई १७ लाख घुससहित नियन्त्रण लिएको छ । अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाका अनुसार जग्गा कित्ताकाटमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिदै गर्दा नापी अधिकृत श्रेष्ठ, सर्भेक्षकद्वय तिर्थराम भण्डारी, थानेश्वर चौधरी, नायब सुब्बा धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा र मतियार राजकुमार अर्याललाई बुटवल सिद्धार्थ नगरपालिका वडा, १३ को अशोका होटल छेउबाट पक्राउ गरेको हो ।

शुक्रबार नै अख्तियारले धादिङ मालपोत कार्यालयमा गरेको स्टिंग अप्रेसनमा २ जना व्यक्ति घूससहित पक्राउ गरेको छ । जग्गा रजिस्ट्रेसन फाँटमा करार सेवा कार्यरत सूर्य अधिकारीलाई नगद रकम दिँदै गरेको अवस्थामा भू–सेवा केन्द्रका लेखापढी व्यवसायी कान्छो नारायण श्रेष्ठलाई अख्तियारले पक्राउ गरेको हो ।

स्थानीय सहकारी संस्था लिमिटेडको जग्गा फकुवा सम्बन्धी फाइलमा घूस मागेपछि लेखापढी व्यवसायी श्रेष्ठ मार्फत अधिकारीले १७ हजार ५ सय नगद बुझे लगत्तै अख्तियार टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

यता बिहीबार साँझ डिभिजन वन कार्यालय दोलखामा डिभिजन वन अधिकृत (दशौं तह) सन्तमाया श्रेष्ठलाई २ लाख ३ हजार ५ सय रुपैयासहित भक्तपुरको गठ्ठाघर चोकबाट नियन्त्रण लिएको छ । अख्तियारको टोलीले काठ व्यापार गर्ने व्यापारीसँग घुस रकम उठाई सरकारी गाडीमा दोलखाबाट काठमाडौं आउदैं उनलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला अदालत कपिलवस्तुमा दोभाषेको रुपमा करारमा कार्यरत विश्वनाथ कुर्मी (चौधरी) ले २ लाखसहित अख्तियारको फन्दामा परेका छन् । ठगी मुद्दामा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग कपिलबस्तु नगरपालिका वडा नं. १ स्थित महामाया प्रेस गौढीचोकबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता कोइरालाले जानकारी दिए ।

कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा नायब सुब्बा डोरप्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठ अख्तियारको स्टीङ अपरेशसनमा परेका छन् । अभिलेख अध्यावधिक गर्ने प्रयोजनका लागि आउने अख्तियारवाला व्यक्तिबाट काम सहज गरिदिए वापत उनीहरुले ५ हजार घुस लिएका थिए । कार्यालय परिसरबाटै अख्तियारले पक्राउ गरेका नासु पन्थी र लेखापरीक्षक श्रेष्ठबीच लिने दिने क्रममा उक्त रकमसहित दुवैलाई कार्यालय परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

आर्थिक वर्ष २०७६÷७७ को पछिल्लो समयमा १४४ स्टीङ् अपरेसन गरेको छ । फागुनमा अख्तियारले १६ वटा स्टीङ अपरेशन चलाएको छ । माथिल्लो तहका कर्मचारीदेखि कार्यालय सहयोगीसम्म रङ्गेहात पक्राउ परेका छन् । बिचौलियादेखि जनप्रतिनिधि समेत स्टीङ अपरेशन परेका छन् । जाजरकोटको जुनीचाँदे गाउँपालिका जाजरकोटका अध्यक्ष कृष्ण बहादुर केसीलाई अख्तियारको स्टीङ अपरेशसनमा परेका छन् । उनलाई यही माघ ११ गते ८ लाख घुससहित पक्राउ गरेको छ । उनीविरुद्ध अख्तियारले दुई वटा घुस मुद्दा हालि सकेको छ ।

गाउँपालिका केसीले उपभोक्ता समितिमार्फत भएको सडक निर्माणको काम सम्पन्न पश्चात भुक्तानीका लागि सहजीकरण गरिदिने भनी घुस लिएका थिए ।अख्तियारले स्टीङ अपरेसन सञ्चालनको विशेष टाक्स फोर्स नै बनाएको छ । अख्तियारले भ्रष्टाचार, अनियमितता, घुस, अकुत सम्पत्ति आर्जनमा संलग्नलाई कानुनी दायरामा ल्याउने कामलाई तीव्रतासाथ अगाडि बढाएको प्रवक्ता कोइरालाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.