जोमसोम विमानस्थल, मुक्तिक्षेत्र र घाँसामा कोरोना हेल्थ डेस्क
जोमसोम : पछिल्लो सयम विश्वकै चिन्ताको बिषय बनेको नोवल कोरोना भाईरस ( कोभिड–१९ ) रोगले आमजनमानसमा आंतकित तुल्याएको छ । यस रोगको संम्भावित जोखिम न्युनीकरण गर्न हिमाली जिल्ला मुस्ताङले पनि सावधानी अपनाउन थालेको छ ।
जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल मुक्तिक्षेत्र, एकमात्र जोमसोम विमानस्थल र म्याग्दी र मुस्ताङको सीमावर्ती क्षेत्र थासाङ–४ घाँसामा एकै साथ पर्यटक चेकजाँचका लागि कोरोना हेल्थ डेस्क स्थापना गरिएको छ ।
दैनिक हवाई तथा धावनमार्ग हुँदै मुस्ताङ भित्रिने आन्तरिक तथा बाह्य पर्यटकको अनिवार्य स्वास्थ्य चेकजाँच गराएर मात्रै मुस्ताङ पस्न पाउने व्यवस्था मिलाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताए । विश्व समूदाय नै यतिबेला कोरोनाबाट त्रसित रहेको अवस्थामा जिल्लामा यस रोग रोकथाम गर्न हेल्थ डेस्क स्थापना गरिएको प्रजिअ अर्यालले बताए । उनले हेल्थ डेस्कमा जाँच गरेपछि मात्रै मुक्तिनाथ दर्शन गर्न अनुमती दिइने व्यवस्था मिलाइएको बताए ।
शनिबार मुस्ताङका ३ स्थानमा एकसाथै हेल्थ डेस्क सेवा सुरु भएको हो । शनिबार हेल्थ डेस्क उद्घाटनलगत्तै पोखरादेखि जोमसोम ओर्लिएका हवाई यात्रुलाई हेल्थ डेस्कका स्वास्थ्य चिकित्सकले जरो, रुखा, खोकी लगायतको चेकजाँच गरेको जोमसोम विमानस्थलका निमित्त कार्यालय प्रमुख शिवकुमार भुषालले बताए ।
थासाङको घाँसामा पनि सवारी साधनमा मात्र आउने यात्रुको स्वास्थ्य परीक्षण गरिएको छ । यस्तै , मनाङको बाटो मुक्तिनाथ निस्कने राउण्ड अन्नपूर्ण पदयात्री तथा जोमसोम हुँदै मुक्तिनाथ जाने पर्यटकलाई दोहोर्याएर हेल्थ डेस्कमा स्वास्थ्य चेकजाच गर्ने गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङको अग्रसरतामा वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिका, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, अन्नपूर्ण संरक्षणक्षेत्र, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायतको संयुक्त पहलमा कोरोना हेल्थ डेस्क स्थापना गरिएको हो । हेल्थ डेस्कमा मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थी लगायतलाई बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म, थासाङको घाँसामा बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म र जोमसोम विमानस्थलमा बिहान ६ बजेदेखि १२ बजेसम्म यात्रुलाई स्वास्थ्य चेकजाँच गर्ने व्यवस्था मिलाइएको छ ।
पछिल्लो समय कोरोना भाइरसको संक्रमण चर्चा चुलिए पनि मुस्ताङमा कोरोना प्रभाव खासै छैन । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई स्वास्थ्य चेकजाँच गरिने वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुले बताए । उनले धार्मिक तथा पर्यटकीय केन्द्र भएकाले मुस्ताङ भित्रिने पर्यटकलाई स्वास्थ्य निगरानी गरेर संक्रमण फैलिन रोक्नुपर्ने सुझाए ।