दुर्गममा छैन स्वास्थ्य सेवा
ताप्लेजुङ : खुट्टामा काँटीले घोचेपछि कञ्चनजंघा पदमार्गमा पर्ने जापानटारीका इटेन शेर्पालाई पति लाक्पाले लेलेप स्वास्थ्यचौकी पुर्याए। कात्तिक अन्तिम साता फक्ताङलुङ गाउँपालिका–६ स्थित उक्त स्वास्थ्य चौकीमा टीटी खोप थिएन्।
करिब डेढ घन्टा हिडाएर स्वास्थ्यचौकी पुर्याएका लाक्पाले गाउँपालिकाको केन्द्रसमेत रहेको तापेथोक स्वास्थ्यचौकीमा फोन गरेर सोधे। ‘त्यहाँ पनि छैन भन्नुभयो,’ उनले भने, ‘भोलीपल्ट गाडी खोजेर जिल्ला अस्पताल नै पुर्याउनुपर्यो। ’ त्यसको एक महिनाअघि छोरालाई कुकुरले टोकेको बेला पनि रेविज खोप लगाउन सदरमुकाम नै पुग्नुपरेको उनी सुनाउँछन्।
जापानटारबाट फुङलिङ पुग्न एक दिन लाग्छ। पुसको दोस्रो साता वडा नम्बर ५, हेल्लोककी चन्द्रकुमारी लिम्बु पौषको दोस्रो साता सोहि गाउँपालिका–५ हेल्लोककी चन्द्रकुमारी लिम्बु काखमा छोरी च्यापेर रानीपुल पारीको उकालो चढ्दै गरेको भेटिइन्। ज्वरोले तीन सातादेखि थलिएकी छोरीको उपचार गर्न ललेप पुगेकी लिम्बुले त्यहाँ उपचार गराउन पाइनन्।
चुन्द्रकुमारीले भनिन्, ‘निको हुन्छ कि भन्दै पर्खिएँ, झन साह्रो पार्न थालेपछि आउनुपर्यो। ’ स्वास्यचौकीमा औषधि नपाएपछि अन्नतः छोरीलाई उपचारका लागि सदरमुकाम नै पुर्याइन्। यी दुई त प्रतिनिधिमात्र हुन्। यहाँका अधिकांश मानिस सामान्य टाउको दुखेदेखि गम्भीर बिरामीको उपचार गर्न सदरमुकाम नै धाउनुपर्छ। न गाउँका स्वास्थ्यचौकीमा भनेको जस्तो उपचार पाइन्छ, न औषधि नै।
स्वास्थ्यचौकीमा निःशुल्क पाउने उपचारका लागि महँगो खर्चेर सदरमुकाम धाउन यहाँका स्थानीय बाध्य छन्। भौगोलिक विकटताका कारण एउटा गाउँबाट अर्को गाउँको स्वास्थ्यचौकीमा पुग्न घन्टौं हिँड्नुपर्छ। लेलेपका आम्जिलेजाबाट स्वास्थ्य चौकी पुग्न एक दिन लाग्छ। ढाङयाम र ग्याब्लाबाट दुई दिन लाग्छ। लेलेपकै घुन्सामा सामुदायिक स्वास्थ्य इकाइ छ। अन्य गाउँबाट त्यहाँ पुग्न एकदेखि दुई दिन नै लाग्छ।
ग्याब्लाका १९ वर्षीय तेन्जिङ शेर्पालाई २०७५ भदौमा दाँत दुख्ने व्यथाले सतायो। उपचारका लागि जिल्ला अस्पताल आउन तीन दिन लाग्ने हुँदा घरमै हेलिकप्टर झिकाइयो। काठमाडौंबाट चार्टर गरेको हेलिकोप्टर प्रतिकूल मौसमका कारण बस्न सकेन। तीन दिन पर्खिए। त्यसपछि स्ट्रेचरमा बोकेर अस्पताल ल्याउने क्रममा उनी बिते। ‘गाउँमा उपचार गर्न पाएको भए छोरो बाँच्थ्यो होला,’ तेञ्जिङका बुबा थाक्चेले भने।
हिमाली गाउँका बासिन्दाले सर्वसुलभ स्वास्थ्योपचारका लागि सरकारले ल्याएका नयाँ–नयाँ योजना सुनेका मात्रै छन्। गाउँमा स्वास्थ्याचौकी भए पनि सदरमुकाम आउनुपर्ने उनीहरूको बाध्यता हो। ‘महिलाहरू अझै गर्भ जाँच गराउन पाउँदैनन्,’ आम्जिलेजाकी फुपुफुटी शेर्पाले भनिन्, ‘मैले दुई सन्तान चौंरी गोठमै जन्माएँ, अझै त्यही अवस्था छ। ’
कञ्चनजंघा हिमालको काखमा रहेको खम्वाचेनमा याक पालन गर्दै आएका ६४ वर्षीय नुपु शेर्पालाई ढाड दुख्ने र दमको समस्या छ। नुपुकी ५६ वर्षीया पत्नी पेम्बा पनि बिरामी परिरहन्छिन्। अस्पताल पुग्न तीन दिन पैदल हिडेर रानिपुलदेखि मात्रै गाडी चढ्न पाइन्छ। ‘अस्पताल गएर जाँच गराउने मन छ,’ नुपुले भने, ‘तर, हिँडेर पुग्ने आँट छैन, यतिकै मरिने भैयो। ’ जनप्रतिनिधि चुनिएपछि पनि पहिलेको अवस्थामा सुधार नभएको स्थानीयको गुनासो छ।