पर्यटन अफिसलाई क्वारेन्टाइन बनाइने
भोजपुर : कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारीका लागि क्वारेन्टाईन बनाईने भएको छ। भोजपुर नगरपालिका-१२ टक्सारस्थित तत्कालिन समयमा बनेको पर्यटन सूचना केन्द्रको कार्यालयलाई क्वारेन्टाईन बनाईने भएको हो।
वर्षौदेखि खाली रहेको उक्त पर्यटन अफिसमा क्वारेन्टाईन राख्न दैविक प्रकोप उद्वार समिति व्यवस्थापनको तयारीमा जुटेको छ। सरकारी तथा गैरसरकारी सरोकारवाला निकायको समन्वयमा व्यवस्थापन गरिने जनाइएको छ। क्वारेन्टाईनमा तत्काललाई १० जनासम्म विरामीलाई राख्ने व्यवस्था मिलाइने प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिए।
‘संक्रमणको जोखिम उच्च भएकाले खाली रहेको पर्यटन अफिसलाई क्वारेन्टाईन बनाईने निर्णय गरेका हौँ’ प्रजिअ पुरीले भने, ‘संक्रमणकालिन अवस्थामा कोहि विरामी भए वा संक्रमित भए, तत्काललाई त्यहिँ राखिनेछ, पछि संख्या बढे अन्यत्र व्यावस्थापन गर्नेछौँ’ सूचना केन्द्र नजिकै रहेको भोजपुर विमानस्थलमा हेल्थ डेस्क राखिने जनाइएको छ।
यस्तै रोगको त्रास व्यापक भइरहेको बेला उपभोगीय सामानमा पनि व्यापारीबाट ठगिने सम्भावनालाई नियन्त्रण गर्न अनुगमन तीव्र बनाउनुपर्ने नागरिक समाजका संयोजक पर्शुराम तिवारी बताउँछन्। ‘एकातिर रोग संक्रमणको त्रास अर्कोतिर कालोबजारीको चपेटामा नागरिकलाई नपार्न अनुगमनमा विशेष ध्यान दिनु जरुरी छ' उनले भने 'संक्रमणको नाममा कालो धन्दा रोक्नु हाम्रो कर्तव्य पनि हो।’ कोरोना संक्रमणबाट सम्भावित जोखिमको बहानामा हुनसक्ने कालोबजारी र कृत्रिम अभाव हुन नदिन तीव्र बजार अनुगमन गरिने प्रजिअ पुरीले बताए।
जिल्ला अस्पताल भोजपुरले पनि संक्रमणको जोखिमलाई विशेष प्राथमिकतामा राखेर आफ्ना स्वास्थ्यकर्मीलाई अति जरुरी काम बाहेक विदा नदिने र निरन्तर सतर्क अवस्थामा रहने गरि परिचालन गर्ने जनाएको छ। जिल्ला अस्पताल भोजपुर प्रमुख डा. पवित्रा श्रेष्ठका अनुसार अस्पतालले आईसोलेसन एरिया र बेड व्यवस्था मिलाउनेछ। स्वास्थ्य कार्यालयबाट पनि ‘र्यापिड रेसपोन्ज’ टिमको जिम्मेवारी दिई काम लगाउने डा. श्रेष्ठले बताइन्।