भरतपुरमा ७२ घण्टाभित्रै कोरोना विशेष अस्पताल बनाइने

भरतपुरमा ७२ घण्टाभित्रै कोरोना विशेष अस्पताल बनाइने

चितवन : कोरोना संक्रमणको उच्च जोखिम नियन्त्रणका लागि भरतपुरमा अस्थाई अस्पताल निमार्ण गरिने भएको छ। ७२ घण्टाभित्र संचालन हुने गरी कोरोनाको उपचार केन्द्रको रूपमा अस्पताल बनाउन लागिएको हो। 

जिल्लामा आवश्यक सुविधासहितको आइसियु, एचडीयु र जनरल वार्डसहित ७० शैयाको अस्पताल बनाउन लागिएको नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष अनिलविक्रम जानकारी दिए। चारैतिर पर्खालले घेरिएको र प्रयाप्त स्थान भएकोले चितवन उद्योग संघको प्रदर्शनी केन्द्रलाई भरतपुर कोरोना विशेष अस्पताल बनाउन लागिएको उनले बताए। आइसियु र हाइ डिपेन्डेन्ट यूनिट (एचडियु ) १०-१० शैयाको हुने छ। बाँकी ५० जनरल बेड हुनेछ। 

‘पहिलो चौविस घण्टामा पूर्वाधार बनाउने त्यसको ४८ घण्टामा मेडिकल सामाग्री ल्याएर सेवा दिने योजनामा छौँ’, नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष अनिलविक्रम कार्कीले भने, ‘कतै संक्रमित भइहाले अन्य मानिसमा नपुगोस् भनेर सतर्कता अपनाउन लागेका हौँ।’ उनले अस्पतालको ओपिडी ब्यवस्थापनको जिम्मेवारी पाएका छन्। 

उद्योग संघको कार्यालयसँगै जोडिएको तीन वटा ठुला हल छन्।  त्यसमा आइसियु, एचडियु र जनरल बेड छुट्टाछुट्टै राखिनेछ। जिल्लामा संक्रमित फेला परे उपचारको प्रवन्धको लागि अस्पतालको ब्यवस्था गर्न लागिएको हो। उच्च जोखिममा रहेकाको उपचार हुनेछ। तीन दिनभित्रमा अस्पतालको पूर्वाधार तयार गर्न जिम्मेवारी दिइएको छ। कोरोनको शंका लागेका विरामीलाई मात्र त्यहाँ राखिनेछ। महामारी हुन नदिन सजगता अपनाइएको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले बताइन्। ‘भयावह नहोस् भनेर हामी तयारी अवस्थामा छौँ’, दाहालले भनिन्, ‘सबैको समन्वयमा क्वारेन्टाईनसँगैको अस्पताल स्थापना गर्न लागेका हौँ।’  

अस्पताल तयार गर्न जिम्मेवारी बाँडफाँड गरिएको छ। कोरोना विशेष अस्पताल निमार्णमा आवश्यक पूर्वाधार सहितको  सामाग्री भरतपुर महानगरपालिका, जिल्ला समन्वय समिति, उद्योग वाणिज्य संघ चितवन र चितवन उद्योग संघले २४ घण्टाभित्र तयार गर्नेछन्। त्यसको ४८ घण्टामा बाँकी काम सम्पन्न गरेर अस्पताल संचालन गरिनेछ। 

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सुरुवातमै आइसियुको लागि आठवटा उच्च स्तरको वेड र आठवटा भेन्टिलेटर उपलब्ध गराउने भएको छ। दुईजना चिकित्सकले ओपिडिको ब्यवस्थापन हेर्नेछन्। भरतपुर अस्पताललाई जनशक्ति ब्यवस्थापन, चितवन मेडिकल कलेजलाई आइसियु, निजी अस्पताल समन्वय समिति र पुरानो मेडिकल कलेजलाई जिम्मा दिइएको छ।  हुन सक्ने जोखिम नियन्त्रणका लागि सतर्कता बढाइएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए। 

उपचारमा खटिने चिकित्सक स्वास्थ्यकर्मीलाई बस्ने खाने ब्यवस्था गरिने छ। अस्पताल ब्यवस्थापनको लागि जिल्लामा संयन्त्र निमार्ण गरिएको छ। भरतपुर महानगरपालिकाले बैठकको आयोजना गरेको हो। जिल्लामा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण पूर्व तयारीका लागि भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। 

जिल्लाका अन्य अस्पताल तथा स्वास्थ्य संस्थामा परीक्षणको क्रममा शंका लागेमा बिरामीलाई उक्त अस्पतालमा पठाउने छन्। अन्य स्थानमा स्क्रिनिङ गरेपछि मात्रै उक्त अस्पतालमा बिरमी पठाइने छ। 

भरतपुर विमानस्थल हुँदै आवतजावत गर्ने यात्रुहरू तथा विभिन्न स्थानीय तहका वडाका मानिसहरूको स्क्रिनिङ टेष्ट गर्ने जिम्मा भने जिल्ला स्वस्थ्य कार्यालयलाई दिइएको छ। भरतपुरमै नमूना परीक्षण गर्न मिल्ने व्यवस्था गर्न माग गरिएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.