भाजपाको नीति र हाम्रो चुनौती
धार्मिक अतिवादमा आधारित राज्य स्थापना गर्न भारतीय जनता पार्टी (भाजपा ) ले गरेको दशकांै लामो प्रयासको प्रतिफलस्वरूप उसको नेतृत्वमा भारत अब क्षेत्रीय अस्थिरताको सूत्रधार पो हुने हो कि भन्ने चिन्ता बढेको छ। पछिल्लो समय नागरिकता ऐन संशोधनबाट त्यहाँ उदांगो भएको राज्यनियोजित साम्प्रदायिक उग्रताले यो क्षेत्रमा धर्मनिरपेक्षता, समतामूलक समाजवादी नीति, अविछिन्न लोकतन्त्र र संघीयताको अभ्यासको अग्रज सो मुलुकका सबै छिमेकीका लागि दुःखद् छ। यसले निम्त्याउने क्षेत्रीय सुरक्षा एवं सामाजिक चुनौती खेप्न बेलैमा तयारी गर्न सकिएन भने भारतमा जे हुन्छ त्यसले समग्र दक्षिण एसियालाई खल्बल्याउने छ। नेपालको भारतसँगको खुलमखुला सीमा सम्बन्धलाई मध्यनजर गर्ने हो भने भारतको अस्थिरताको सबैभन्दा ठूलो सिकार नेपाल नै हुनेछ।
भाजपाको उदयको आधार पूर्ण हिन्दुत्वसहितको अखण्ड भारतको विचारमा आधारित छ, जहाँ बहुसंख्यक परम्परावादीको मत उसलाई प्राप्त छ। कांग्रेसको पतनमा भाजपालाई एक निर्विकल्प शक्तिका रूपमा स्वीकार गर्न भारतीयहरू विवश छन्। र, अक्सर घटना चाहे त्यो सोनिया गान्धीको नागरिकताको विषय होस् या पुलमा आक्रमण भाजपाले आफ्नो पक्षमा उपयोग गर्न रणनीतिक चातुर्यमा ऊ सफल भएको छ। उसको वैचारिक लाइनबाट प्रेरित धार्मिक अतिवादको लपेटा अयोध्या, गुजरात हुँदै दिल्लीदेखि आसाम मेघालयसम्म पुगेको छ। समयमै त्यसको प्रभावलाई सामना गर्ने नीति नेपालले लिनुपर्छ अन्यथा त्यसको ठूलो मूल्य चुकाउनुपर्ने छ। अतिवादले विकसित गर्ने क्षेत्रीय अस्थिरताको आडमा विभिन्न शक्तिहरूले एक वा अर्को नकाबमा नेपाललाई क्रिडास्थल बनाउने प्रयास फेरि गर्न सक्छन् र हामीले तीव्र मानवीय क्षति भोग्नुपर्ने छ।
अस्थिर नेपालले भारतको हित गर्दैन भनेर भारतीयहरूले ढिला नै भए पनि सोच्न थालेकै बेला भारत स्वयं अस्थिरताको साँधमा उभिन पुगेको छ। भारत अस्थिर भयो भने त्यसले हाम्रो राष्ट्रिय सुरक्षा र हितमा कस्तो प्रभाव पार्छ ? सम्भवतः हामीले मुख्य तीन चुनौतीको सामना गर्नुपर्ने छ ः पहिलो, ठूलो मात्रामा भारतीय आप्रवासीको नेपाल आगमन हुनेछ। दोस्रो, आतंकवादीले नेपालको खुला सीमाको रणनीतिक प्रयोग गर्न सक्ने छन् र तेस्रो, नेपालको सीमाभित्र भारतीय साम्प्रदायिक अतिवादको विस्तार हुनेछ। हामीले भारत उग्रतातर्फ जाँदै गर्दा यीमध्ये कुनै एक वा सबै चुनौती बेहोर्न पर्ने हुनसक्छ।
संस्थागत संस्मरणमा खासै विश्वास नगर्ने हाम्रो परिपाटीका कारण हामीले सम्प्रदायका आधारमा विभाजित भारत एवं पाकिस्तान र तीबीचको लडाइँको विस्तृत अध्ययन गरेका छैनौं। त्यससँगै ६० को दशकमा भएको तामिलहरूको संघर्ष, ७०÷८० को दशकमा नागाल्यान्ड, आसाम आदि पूर्वोत्तर भारतमा भएका उल्फा र पश्चिम उत्तरमा खालिस्तानलगायतका विद्रोह र विखण्डनको प्रयासको नेपालमा परेको प्रभावको खासै विश्लेषण छैन। हामीले सतहमा ती समय आसामबाट खेदिएका नेपाली र पन्जाबीहरूको नेपाल प्रवेशलाई मात्र सम्झेका छौं। त्यसपछि भारत ९० को दशकमा धार्मिक कट्टरता र आतंकवादको चपेटामा पर्यो, जसको छायामा नेपालबाट उडेको जहाज अपहरण गरेर अफगानिस्तान पुगेको मात्र याद छ र त्यसको पनि विश्लेषण छैन। ६० को दशकमा भारतको नक्सलबारीबाट उठेको उग्र–साम्यवादी विचारले नेपालको राजनीतिको केन्द्रमा करिब ५० वर्ष गहिरो गरी प्रभावित गरिसक्यो र त्यो विचारलाई नै हामीले मूलधारको राजनीतिको नाम दिई सक्यौं तर हामीलाई हेक्का नै छैन कि त्यो कहाँबाट किन उदय भएको थियो। यी सबै घटनामा नेपाल र नेपाली प्रत्यक्ष र परोक्षरूपमा प्रभावित भएको छ तर फेरि पनि भारतमा हुनसक्ने त्यस्तै हिंसाजन्य घटना र सम्भावित असरबारेमा हामीले आवश्यक विश्लेषण र पूर्वतयारी गरेका छैनौं।
नेपालीलाई नेपालको सरहदभित्र शान्तिसँग बाँच्ने वातावरण तय गर्न नेपालले छिमेकी देशका मुख्य दलहरूलाई सकारात्मक रूपमा प्रभावित गर्ने सामथ्र्यको विकास गर्नुपर्छ
भारतमा आज कुनै एक पक्ष आफूलाई सर्वोपरि स्थापित गर्न भौतिक र मानसिक हिंसा प्रयोग गर्छ र अर्को पक्ष त्यसको प्रतिकारमा उर्लनु स्वाभाविक भएको छ। हिजो गान्धी भारतका आदर्श थिए र उनको भारतमा (हिंसाको प्रतिकार केवल शान्तिबाट सम्भव छ) प्रभाव थियो। तर आज नाथुरामलाई त्यहाँ नायक बनाउन खोजिँदैछ र दिनदहाडै ‘गोली मारो’ को नारा लाग्छ।
बेलायती उपनिवेश मध्य भारत र पाकिस्तान सन् १९४७ मा विखण्डित हुँदैनथे र एकीकृत नै रहन्थे भने त्यसबाट भारतमा उल्लेख्य मुस्लिम समुदायको उपस्थिति हुन्थ्यो, जसले दुईवटा सम्भावना निर्माण हुन सक्थ्यो : भारतमा तीव्र धार्मिक विग्रह बढेर सो मुलुक आजको भन्दा पनि अस्थिर भई अन्ततः अझै व्यापक विखण्डनतर्फ नै जान्थ्यो वा उल्लेख्य मुस्लिम उपस्थितिले त्यहाँ धार्मिक सन्तुलन कायम हुन्थ्यो र दुवैले एकअर्काका सहअस्तित्व स्वीकार गरेर अझ स्थिर रूपमा भारतले प्रगति गर्न सक्थ्यो। तर भारत विखण्डित भएर पनि स्थिर हुन सकेन। कारण त्यहाँका अल्पसंख्यकको आत्मसम्मानको जगेर्ना हुन सकेन। र, जबसम्म भारतभित्र सबै सम्प्रदाय र वर्गको सहअस्तित्वलाई राज्यले खुला दिलले आत्मसात् गर्दैन हामी सबैभन्दा नजिकको खुला नाकासहितको छिमेकीको नाताले चैनको निद्रामा सुत्न सक्ने छैनौं। त्यसबाहेक हाम्रो भारतमाथिको आर्थिक निर्भरता, भारतीय फौजमा नेपाली उपस्थिति र तीन परमाणु शक्ति राष्ट्रले घेरिएको भौगोलिक अवस्थितिले पनि हामीले चैन लिने अवस्था छैन।
नेपालीलाई नेपालको सरहदभित्र शान्तिसँग बाँच्ने वातावरण तय गर्न नेपालले छिमेकी देशका मुख्य दलहरूलाई सकारात्मक रूपमा प्रभावित गर्ने सामथ्र्यको विकास गर्नुपर्छ र संवादका ढोका सबैसँग खोल्नुपर्छ ताकि हाम्रो उपस्थितिले माने राखोस्। यथास्थितिलाई स्वीकार गर्ने पूर्ववत् त्वम् शरणम्को आत्मसमर्पणवादी बाटो छाडेर राष्ट्रिय हित र सुरक्षाका पूर्वतयारीका हरसम्भव उपायको उपभोग गर्न हामीले भारतप्रति सार्थक अवधारणा, नीति र रणनीति लिनु पर्नेछ।
भाजपाको उग्रवादी धार्मिक नीति र त्यसको पक्ष र प्रतिकारमा त्यहाँ उठ्ने उग्रवादको सम्भावनालाई नकार्न सकिँदैन। यससबाट नेपाल चपेटामा पर्न सक्नेछ। उग्रवादको प्रभाव न्यून गर्न नेपाल–भारत सम्बन्धलाई राष्ट्रिय स्तरमा मात्र होइन, जनस्तरमा लैजानुपर्छ। सीमा व्यवस्थापन उत्तम नभई हाम्रा सम्बन्ध स्थिर हुँदैन र स्थिर सम्बन्धविना हाम्रा सम्बन्ध सौहार्द हुन सक्दैन। तसर्थ, सीमा समस्या समाधान र दुवैतर्फ आवागमन र बहिर्गमनको अभिलेखीकरण हाम्रा सामूहिक सुरक्षाका लागि अपरिहार्य छन्। जब यी दुई विषयलाई आत्मसात् गरिन्छ तब भाजपाले सिर्जना गरेको वा गर्न सक्ने अतिवादउन्मुख नीतिको प्रभावलाई हामी हाम्रो भूमिमा न्यून गर्ने दिशामा केही हदसम्म सफल बन्न सक्छौं। यसबाहेक क्षेत्रीय शान्तिका लागि बृहत्तर संवाद निरन्तर भइरहन आवश्यक छ ताकि पछि हामी कुनै पनि सम्भावित दुर्घटनाको सिकार बन्न नपरोस्। हाम्रो नीति सक्छौं भने भारत वा अन्य छिमेकमा अतिवादलाई बढ्न नदिऔं, सक्दैनौं हाम्रो सीमाभित्र त्यसको प्रभाव निस्तेज बनाऔं।