कोरोना आशंका : उपचारमा आनाकानी

कोरोना आशंका : उपचारमा आनाकानी

परासी : कोरोना संक्रमित आशंका गरिएका एक बिरामीलाई अस्पतालले भर्ना लिन नमानेपछि बिरामी र उनको परिवार तनावमा छ। स्वास्थ्यकर्मीले बिरामीलाई छुन नमानेपछि आफन्त अत्तालिएका छन्। चारवटा अस्पतालमा धाउँदा समेत उनलाई कसैले भर्ना लिएका छैनन्।

 तीन दिनअघि खोकी लाग्ने, टाउको दुख्ने र ज्वरो आएका पश्चिम नवलपरासी रामग्राम नगरपालिका-१६ हकुईका ३५ वर्षीय एक युवालाई परासीदेखि बुटवल र चितवनदेखि काठमाडौंका अस्पतालले समेत भर्ना लिन नमानेपछि बिरामी अलपत्र परेका हुन्।

 उनको अवस्था दिन प्रतिदिन चिन्ताजनक बन्दै गएको छ। बिरामी ट्रक चालक हुन्। सुरुमा खोकी र ज्वरो आएको उनलाई परासीको एक क्लिनिक पुर्‍याइएको थियो। त्यहाँबाट उनलाई पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी पठाएपछि अस्पतालले प्रादेशिक अस्पताल बुटवल रिफर गर्‍यो। प्रादेशिक अस्पताललमा सामान्य चेकजाँच गरेपछि त्यहाँका चिकित्सकले कोरोनाको आशंका गर्दै पुरानो मेडिकल कलेज चितवन पठाए।

 त्यहाँ पनि कोरोनाको लक्षण भन्दै काठमाडौं पठाइएको थियो। तीन दिनसम्म अस्पताल चाहार्दै हिँडेका आफन्तले बिरामीलाई कलंकीको एक निजी अस्पतालमा पुर्‍याए। उक्त अस्पतालले टेकु अस्पताल पठाएपछि बिरामीका आफन्तले निको नहुने ठानेर पुनः बिहीबार परासी अस्पताल ल्याएका छन्। एम्बुलेन्समा ल्याइएका बिरामीलाई त्यहाँका चिकित्सक र स्वास्थ्यकर्मीले झार्न मानेनन्। एम्बुलेन्समा रहेका उनलाई चिकित्सकले प्रादेशिक अस्पताल बुटवलमै पठाएका छन्। तीन दिनको अवधिमा बिरामीकी पत्नी, बाबु र आमाले पालो गरी अस्पताल लैजाने गरेका थिए। बिरामीकी पत्नी दुई वर्षे छोरीलाई सँगै लिएर हेरचाहमा खटिएकी छन्।

बिरामीका छिमेकी सुग्रिव बाँनियाले कुनै अस्पतालले भर्ना लिन नमानेको बताए। ‘सरकारले हरेक अस्पतालमा आइसोलेसन वार्ड स्थापना गरेको जनाएको छ। बिरामीलाई त्यहाँ राखेर निगरानी गर्नुको सट्टा गैरजिम्मेवार तरिकाले रिफर गरिएको छ। यदि कोरोना नै भएको भए सम्पर्कमा आएका परिवारको अवस्था के हुन्छ’, उनले प्रश्न गरे। बिरामीकी पत्नी शान्तिले कुनै अस्पतालले भर्ना निलिँदा अवस्था गंभीर हुँदै गएको बताइन्। ‘अस्पतालहरू चाहार्दै हिँड्यौं। कसैले पनि भर्ना गर्न मानेनन्। के भएको हो भन्नेबारे थाहा छैन’, उनले भनिन्। ‘अवस्था गंभीर हुन थालेपछि जे सुकै होला भनेर फेरि परासी अस्पताल आएका थियौं। एम्बुलेन्सबाट बिरामी निकाल्न चिकित्सकले मानेनन्। फेरि बुटवल पठाए’, उनले भनिन्। 

पृथ्वीचन्द्र अस्पताल परासीका कोरोना फोकल पर्सन डा.पवन अग्रहरीले प्रादेशिक अस्पतालले कोरोनाको लक्षण देखिएको रिपोर्ट दिएको बताए। ‘प्रादेशिक अस्पतालमा आइसोलेसन बेड छ। त्यहाँ राखेर निगरानी गर्नु पथ्र्यो। सिधै चितवन पठाइएको छ। त्यहाँ समेत वास्ता नगरेपछि बिरामी काठमाडौं हुँदै फेरि परासी आएका छन्’, डा.अग्रहरीले भने। जिल्ला अस्पतालबाट यसअघि नै पठाइएकोले उनलाई पुनः भर्ना गर्न नसकिएको उनले बताए। जिल्ला अस्पतालमा समेत चारवटा आईसोलेस बेड स्थापना गरिएको छ। तर उनलाई त्यहाँ नराखी रिफर गरिएको हो। स्वास्थ्य कार्यालयसँग समन्वय गरी प्रादेशिक अस्पताल पठाइएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताए। चिकित्सकहरूले नै बिरामीलाई हेर्न छाडेको बारे प्रजिअ दाहालले त्यसरी बेवास्ता गर्नु गलत भएको प्रतिक्रिया दिए।

स्वास्थ्य कार्यालयले सीमा नाकाका चार स्थानमा हेल्थ डेस्क राखेर निगरानी गर्दै आएको छ। निगरानीका क्रममा शंकास्पद एक बिरामी देखिएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताए। तापक्रम लिने क्रममा सुस्ता गाउँपालिकाका एक जनामा शंकास्पद लक्षण देखिएको उनले बताए। ती व्यक्ति भारतबाट झोलनीपुर नाकाबाट नेपाल आउँदै थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.