कोरोना आशंका : चौतर्फी आलोचनापछि बिरामी अस्पताल भर्ना (अपडेट)

कोरोना आशंका : चौतर्फी आलोचनापछि बिरामी अस्पताल भर्ना (अपडेट)

परासी : चिकित्सकको चौतर्फी आलोचना बढेपछि कोरोना संक्रमित आशंकका गरिएका बिरामीलाई प्रदेश ५ को प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरिएको छ । प्रादेशिक अस्पतालले कोरोनाको आशंकामा भर्ना नगरेर अन्यन्त्र पठाएका पश्चिम नवलपरासी रामग्राम नगरपालिका-१६ हकुईका ३५ वर्षीया एक युवकको प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो । 

बिरामीका परिवारले परासीदेखि काठमाडौंसम्मका चारवटा अस्पताल धाउँदा समेत उनलाई भर्ना गर्न सकिएको थिएन।
खोकी लाग्ने, टाउको दुख्ने र ज्वरो आएपछि उनले परासीकै एक निजी अस्पतालमा उपचार गराएका थिए । त्यसपछि पृथ्वीचन्द्र जिल्ला अस्पताल पुगेका उनलाई अस्पतालले प्रादेशिक अस्पताल बुटवल पठाएको थियो । बुटवलले कोरोनाको आशंका भन्दै पुरानो मेडिकल कलेज चितवन पठाएको थियो । उक्त अस्पतालले समेत भर्ना नगरी बिरामीलाई काठमाडौं पठाइएको थियो ।

काठमाडौंको कलंकीस्थित एक निजी अस्पतालले शंकास्पद देखेपछि उनलाई टेकु पठाएको बिरामीका आफन्तले बताए । बिरामीको अवस्था जटिल बन्दै गएको र कुनै पनि अस्पतालले भर्ना लिन नमानेपछि आफन्तले आश मारेर पुन: घर ल्याएका थिए ।

घर ल्याउने क्रममा बिरामीका आफन्तले पुनः पृथ्वीचन्द्र अस्पताल परासीमा ल्याएका थिए । एम्बुलेन्समा ल्याएका बिरामीलाई चिकित्सकले छुन समेत मानेका थिएनन् । जिल्ला अस्पतालमा आइसोलेसन वार्ड छ । तर चिकित्सकले उपचारका क्रममा लगाउने पोशाक र अन्य सामाग्री नभएको र रोग सर्ने भन्दै बिरामीलाई नहेर्ने जनाएपछि प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल र स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालले बुटवल अस्पतालसँग समन्वय गरेका थिए । 
चिकित्सकले बिरामीको उपचार नगराएको भन्दै आलोचना हुन थालेपछि मुख्यमन्त्री कार्यालयको समेत ध्यानआकर्षण पश्चात उनलाई प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो । बिरामीको उपचारका बारेमा प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. राजेन्द्र खनालसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
 
हाल उनलाई प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरब ढकालले बताए । उनलाई अक्सिजन दिएर राखिएको छ । 'हिजो रातीदेखि बिरामीलाई आइसोलेसनमा राखेर उपचार गरिएको छ । आज बिहान थ्रोड स्वाबबाट नमुना संकलन गरेर परीक्षण गर्न पठाइएको छ,' प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेट खनाललाई उद्दृत गर्दै स्वास्थ्य प्रमुख ढकालले भने। उनको अवस्था सुधारोन्मुख हुँदै गएको उनले बताए ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले उक्त बिरामीका बारेमा ध्यानआकर्षण भएको बताए । 'आंशकामा अस्पतालमा आइसकेपछि बिरामीलाई भर्ना गरेर राख्नुपर्ने थियो । त्यसो नगरिनु कमजोरी हो । यो हाम्रो लागि पाठ हो । अस्पताललाई गम्भीर भएर उपचारमा लाग्न भनेका छौं,' प्रेस सल्लाहकार केसीले भने।

बिरामीसँग चार दिनको अवधिमा उनकी श्रीमती, दुई वर्षे छोरी, बाबु र आमाले पालो दिँदै अस्पताल लैजाने काम गरेका थिए । बिरामीलाई अस्पताल लैजाने क्रममा दुईवटा एम्बुलेन्स प्रयोगमा आएका छन् । 'बिरामीलाई संक्रमण नदेखियोस् हामीले कामना गरेका छौं तर देखियो भने उनीसँग सम्पर्कमा आएकालाई कस्ले निगरानी गर्ने ?,' छिमेकी सुग्रिव बाँनियाले भने ।

पृथ्वीचन्द्र अस्पताल परासीका कोरोना फोकल पर्सन डा. पवन अग्रहरीले प्रादेशिक अस्पतालले कोरोनाको लक्षण देखिएको रिपोर्ट दिएपछि जिल्ला अस्पतालमा नराखिएको बताए । आइसोलेसन वार्ड भएपनि उपचारमा प्रयोग हुने कुनै सामाग्री नभएकाले भर्ना गर्न नसकिएको उनको भनाई छ । 'सरकारले आशंका गरिएका संक्रिमतको खोजतलास गर्नुको सट्टा सम्पर्कमा आएका बिरामीको पनि उपचार नगराई ठाउँ ठाउँमा पठाउँछ । यो कस्को कमजोरी हो,' डा. अग्रहरीले भने । 

पहिलो पटक प्रादेशिक अस्पताल पुगेका बिरामीलाई त्यहाँ नराखेर अन्यत्र पठाउनु नै अस्पतालको गम्भीर लापरबाही भएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.