अतीतको चिनारी शिक्षाको नाभि
हार्दिकता, आत्मीयता र उदारता पस्किएर मादी मुक्तकण्ठले हाम्रो स्वागत गरिरहेको थियो तर हामी भने मादीबाट बिदा मागिरहेका थियौं।
कुनै बेला मादी शिक्षाको केन्द्र थियो। प्रजातन्त्रको स्थापनालगत्तै खुलेको मादी विद्यालय एउटा विशाल वटवृक्ष भएर झांगियो, जसले थुप्रै रसिला फल जन्मायो। पूर्वाञ्चलका विभिन्न जिल्लाबाट अध्ययनका लागि विद्यार्थीहरू मादी आउँथे। २०२७ सालमा मादी माध्यमिक विद्यालयको पुछारमा रहेको प्राथमिक विद्यालयबाट मैले कक्षा २ पास गरेको थिएँ। कुनै चाडपर्वमा विद्यालयको भिरालो भागबाट वितरीत सुन्तला टिप्न हामी बुर्कुसी मार्दै दगुथ्र्यौं। विद्यालय जाँदा–आउँदा चिस्यानले नरम भएको खेतमा थलामारी खेल्थ्यौं। थलामारी अर्थात् एक ठाउँमा उभिएर अधिकतम दूरीसम्म उफ्रने छोटो जम्प। कहिले बाटाछेउ फुलेका फूल टिप्थ्यौं त कहिले धानका बाला स्पर्श गरेर रमाउँथ्यौं।
तुम्लिङटारबाट अरुण तरेपछि कुनै बेला शिक्षा÷सचेतनाका लागि प्रसिद्ध दिङ्ला पुगिन्छ। दिङ्ला जहाँ बालागुरु षडानन्दले १९३२ सालमा संस्कृत पाठशाला स्थापना गरेका थिए, जुन सम्भवतः नेपालकै पहिलो संस्कृत विद्यालय थियो। मेरा प्रपितामहका दीक्षा गुरु थिए षडानन्द। उनले दीक्षा मन्त्र प्रदान गरेका थिए। अरुण सेरोफेरो यात्रामा मैले दुन उपत्यका सम्झिएँ। भारतको उत्तराखण्ड राज्यको देहरादुन मसुरीको सिवालिक शृंखलामा दर्जनौं नामी शैक्षिक प्रतिष्ठान छन्, जहाँ आफ्ना लालाबालालाई भर्ना गराउन प्रभावशाली÷धनाढ्यहरूले समेत भनसुन गर्नुपर्छ। दिङ्लादेखि मादीसम्मको क्षेत्र आधुनिक शिक्षाको नाभिस्थल बन्न सक्ने मीठो कल्पनामा म हराएँ। पूर्वाधारको कुरा गर्ने हो भने तुम्लिङटारमा पक्की हवाई अड्डा छ। दुइटा सडक मार्गबाट वसन्तपुर÷हिले हुँदै केही घन्टामा इटहरी पुगिन्छ र फराकिलो दक्षिण एसियाली सडक सञ्जाल छुन सकिन्छ।
धरानदेखि धनकुटासम्मको ५२ किमि लामो मोटरबाटो २०३३ सालमा निर्माण सुरु भई ६ वर्षमा सम्पन्न भएको थियो। बाल्यकालमा मादीदेखि धरानसम्मको यात्रा कहिले बोकिएर कहिले पैदल छिचोलेको थिएँ मैले। कस्सिएर हिँड्नेहरूलाई दुई दिन लाग्ने त्यो यात्रा हामी केटाकेटी र भारी बोक्ने भरियाका लागि पाँच दिनसम्म लाग्थ्यो। मधेसबाट मादीतर्फको यात्रामा धरानको फुस्रेबाट चिउरीबास हुँदै साँघुरीडाँडा नाघेपछि धारापानीको ओरालो झर्नुपथ्र्यो। मूलघाटमा झोलुंगे पुलबाट तमोर तरेपछि उकालो सुरु हुन्थ्यो। धनकुटा हुँदै हिलेसम्मको कठिन उकालोपश्चात् मादी जान दुइटा बाटा छुट्टिन्थे। एउटालाई तल्लो बाटो र अर्कोलाई माथ्लो बाटो भनिन्थ्यो। हिलेबाट पाख्रीबास दियाले लेगुवा, आँखीभै अरुणको गढतिर हुँदै एउटा बाटो थियो भने हिलेबाट गुँरासे सिधुवा, चित्रे, वसन्तपुर, टुटे देउराली तामाफोक हुँदै अर्को बाटो मादीतिर सोझिन्थ्यो। २०२१ सालपश्चात् पिताको जागिरको सिलसिलामा हामी कहिले बर्दिया, कहिले राजविराज त कहिले विराटनगर बस्यौं। बर्दिया बस्दाको स्मृति ममा शेष छैन यद्यपि राजविराज र विराटनगरका प्राथमिक विद्यालयमा सिलोटमा अक्षर घोटेको सम्झन्छु।
हिलेबाट पाख्रिबास लेगुवा हुँदै तुम्लिङटारसम्मको छोटो बाटो जिप चल्न थालेको दशकौं भयो तर अझै स्तरोन्ननि भएको छैन। वसन्तपुरबाट मुढे, शनिश्चरे भएर पिलुवा चैनपुर हुँदै तुम्लिङटार खाँदबारीसम्मको बाटो कालोपत्र भएको पनि निकै भयो। यो बाटो पहिलेको तुलनामा आरामदायी छ तर यथोचित मर्मत नहुँदा ठाउँठाउँमा खाल्डाखुल्डीले सताउने गर्छ।
तरेली परेको मादीमा जताततै हरियाली थियो। त्यसैले होला दूध, दही, मही, घ्यु, तरकारी आदिका लागि मादी प्रसिद्ध थियो। मादीको ठेकी र बोडीबारे कतिपय पुस्तकमा पढ्न पाइन्छ। यसै पनि मादी उर्वर तथा उब्जाउ भूमि हो। मादीको मलिलो खेतमा झिनुवा, जिरासरी, गनेमसिनो, रामभोग, बच्छीलगायत मसिनो धान पनि फल्थ्यो। हाम्रा घरका बुइगलमा भकारीमा धानको भण्डारण हुन्थ्यो। मादीमा उखु खेती पनि हुन्थ्यो। कोसेर नामको उखु ज्यादै गुलियो हुन्थ्यो। त्यस्तो उखु कोलमा पेलेर सक्खर बनाउँदा उत्सवको वातावरण हुन्थ्यो। उखुबाट रस निकाल्न मान्छे कोल घुमाइरहेका हुन्थे। ठूलाठूला कराइमा उखुको रस तताइन्थ्यो र सक्खर बन्थ्यो। रस तात्न थालेपछि कटकटे स्वरूपको पाग बन्थ्यो। हामी केटाकेटी त्यो पाग स्वादले खान्थ्यौं।
चारैतिर नदीनाला भए पनि मादीमा बिजुली बलेको धेरै भएको छैन। तर उतिबेला साँझ परेपछि कुपी बालिन्थ्यो। त्यसैको उज्यालोमा हजुरआमाले विस्तारै कहिले रामायण त कहिले महाभारत वाचन गरेको मैले सुनेको छु। धरानबाट पाँच दिन लगाएर भरियाले मट्टीतेल बोकेर ल्याउँथे। लाल्टिनको प्रयोग बढ्दै गइरहेको थियो। विवाहलगायत उत्सव पर्वमा विशेषतः मइन्टोल (पेट्रोम्याक्स) बालिन्थ्यो। यसले मर्करीकै जस्तो दुधिलो उज्यालो छथ्र्यो। १९८४ सालमा हुनुपर्छ मेरा हजुरबुवा पद्मप्रसादको बिहेका बेला पेट्रोम्याक्स बालिएको थियो रे।
मादीमा बिजुली बलेको धेरै भएको छैन। तर उतिबेला साँझ परेपछि कुपी बालिन्थ्यो। त्यसैको उज्यालोमा हजुरआमाले विस्तारै कहिले रामायण त कहिले महाभारत वाचन गरेको मैले सुनेको छु।
पुराना सन्दर्भ छचल्किँदै जाँदा भूत–प्रेतका अनेकौं प्रसंग मैले सम्झिएँ। कुनै रात पँधेरोछेउको पर्खाल गल्र्यामगुर्लुम ढलेको आवाज सुनेको हजुरआमा बताउनुहुन्थ्यो। तर बिहान हेर्दा पर्खाल जस्ताको तस्तै हुन्थ्यो। अब कसैको मृत्यु हुन्छ भन्ने भविष्यवाणी हजुरआमा गर्नुहुन्थ्यो। रामवेनी दोभानमा मुर्कुट्टा अर्थात् टाउको नभएको भूत देखेको दाबा गर्नेहरू पनि थिए। रात छिप्पिँदै जाँदा त्रास पनि बढ्दै जान्थ्यो। वयस्कहरू रातका बेला एक घरबाट अर्को घर जानुपर्यो भने राँको बालेर हिँड्ने गर्थे। बाँसका भाटा÷कप्टेराबाट बनाइएका त्यो मुठ्ठा बलुञ्जेल गन्तव्यमा पुगिसक्नु पथ्र्यो। कहिलेकाहीं चिसो सिरेटोले त्यो निभ्थ्यो अनि जन्मिन्थ्यो भूतको त्रास। कसैकसैले राँके भूत देखेको कुरा सुनाउँथे। चेतनाको दियो बल्दै गए पनि अन्धविश्वासको जरो पनि गहिरो थियो त्यो बेला। कोही बिरामी पर्दा धामीझाँक्री लगाउँथे, कोही झारफुक गर्थे। धामी कामेको देख्दा अर्कै जीव निजको शरीरमा प्रविष्ट गरेको भान हुन्थ्यो।
हाम्रो घरको तेस्रो तल्लामा एउटा कोठा थियो, जहाँ अन्तरे हजुरबा कि जेठी पत्नीको असामयिक मृत्युपश्चात् उक्त कोठामा जोजो बस्न पुगे, राति तर्साउने र घिसार्नेसम्मको अनुभूति भएपछि त्यो कोठामा भूत छ भन्ने चर्चा व्याप्त भयो। तर स्वयं अन्तरे हजुरबा र उहाँकी कान्छी पत्नी त्यो कोठामा सुत्दा भने भूतले कुनै प्रतिक्रिया जनाउँदैनथ्यो रे। हामी केटाकेटी पत्याउँथ्यौं र त्यो कोठाभित्र जाँदैनथ्यौं।
२०७६ फागुन १६ गते बिहानको पहिलो कार्यक्रम ओखरबोटेस्थित मादी नगरपालिकाको कार्यकक्षमा थियो। नगरका मेयर, उपमेयर तथा जनप्रतिनिधिहरूले बुवासहितको हाम्रो टोलीलाई न्यानो स्वागत गरे। ५८ वर्षअगाडि बुवा मादी गाउँ पञ्चायतको पहिलो प्रधानपञ्च हुनुहुन्थ्यो। म जन्मिएको जमिन मादी नगरपालिकालाई प्र्रदान गरी नामसारीसमेत भइसकेको छ। अर्को संक्षिप्त स्वागत कार्यक्रम मादी बहुमुखी क्याम्पसमा सम्पन्न भयो। पँधेरोवरिपरिको पैत्रिक जग्गा बुवाले यही क्याम्पसलाई प्रदान गरिसक्नुभएको छ। मादी क्याम्पसको कार्यकक्षमा मेरा प्रपितामह श्रीप्रसाद दाहालसहित दाताहरूको फोटो लहरै राखिएको रहेछ। क्याम्पस स्थापनार्थ २०५५ मा उहाँको स्मृतिमा परिवारजनका तर्फबाट ५१ हजार सहयोग गरिएको थियो। पूर्वाञ्चलकै नाम चलेका धनाढ्य व्यक्तिको पहिचान थियो श्रीप्रसाद दाहालको। म जन्मिदा उहाँको देहान्त भएको साढे तीन वर्ष बितिसकेको थियो। यद्यपि मैले उहाँलाई संक्षिप्त दाहाल वंशावलीमा यसरी पढेको थिएँ–
श्रीमान् मान्य र हृष्टपुष्ट गतिला बस्ने सदाचारमा
नामी खुब ती श्रीप्रसाद जसका छन् आठ छोरा यहाँ।
फागुन १६ मध्यान्ह मादी माध्यमिक विद्यालयमा आयोजित तेस्रो कार्यक्रममा हामीलाई जनप्रतिनिधिहरू विद्यालय सञ्चालक समितिका सदस्य तथा अभिभावक, शिक्षक र विद्यार्थीले गुराँस सयपत्रिका फूलमालाले हार्दिक स्वागत गरे। डा. देवेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यमा विद्यालय प्रांगणमा खुला कार्यक्रम सुरु भयो, जहाँ बुबा बद्रीप्रसाद विशेष अतिथि हुनुहुन्थ्यो। जुन विद्यालयमा कुनै बेला बुवाले अध्ययन गर्नुभएको थियो र केही महिना अवैतनिक तवरमा अध्यापन पनि गर्नुभएको थियो। ५० वर्ष अर्थात् आधा शताब्दीपछि म मादी विद्यालयको प्रांगणमा उभिएको थिएँ। कार्यक्रममा भाग लिन टाढाटाढाबाट सयौं नागरिक आएका थिए। हिमालय बचाऊ अभियानको अवधारणापत्र, गीत कविता मन्तव्यको समन्वयसहित उत्सवको वातावरणमा कार्यक्रम सम्पन्न भयो।
१८५२ सालमा विर्ता प्राप्त गरी (सट्टापट्टा) मेरा पुर्खाहरू मादी आएका थिए। मादी मलिलो भूमिले हामी÷हाम्रा पुर्खाहरूलाई आ श्रय दियो। हाम्रा पुर्खाले यस भूमिमा सेवा गर्ने क्रममा जानीनजानी कुनै गल्ती गरेको भए वा कसैका मनमा चोट पुगेको भए परिवारजनको तर्फबाट क्षमा अभ्यर्थनासहित मैले मन्तव्य सुरु गरें। त्यो जमिन जहाँ मैले पहिलो श्वास फेरेको थिएँ, जहाँ म उभिएँ, हुर्किएँ, त्यो हाम्रो पैत्रिक जग्गाजमिनमाथि २०५८ सालमा माओवादीले धावा बोले। १८ वर्षदेखि माओवादी कब्जामा रहेको जग्गा अझसम्म फिर्ता भएको छैन। त्यो नियतिको क्रूर इच्छा थियो वा प्रारब्धको खेल, यद्यपि बाँच्नका लागि प्रकृति÷ईश्वरले दिएको यथेष्ट हामीसँग छ। तसर्थ हाम्रो कसैसँग कुनै गुनासो÷सिकायत छैन। तथापि आफ्नो पैत्रिक भूमिमाथि कसैको बलात् कब्जा÷आक्रमणको पीडा र त्रासदीको तीतो अनुभव हाम्रो परिवारसँग छ। त्यो तीतो जति सम्झियो त्यति कोक्याउने गर्छ। भविष्यमा कसैले पनि अर्काको सम्पत्ति हडप्ने दुस्साहस नगरून् र कसैले पनि त्यस्तो त्रासदी भोग्नु नपरोस् भन्ने हामी सबैको चाहना र कामना हो।
मादीमा रहेको हाम्रो परिवारको जग्गाजमिनको एउटा अंश आमा राधादेवीका नाममा थियो। २०७६ असोजमा आमाको देहावसान भयो। आमाका नाममा रहेको त्यो जग्गा मादी माध्यमिक विद्यालयलाई प्रदान गर्ने घोषणा त्यही कार्यक्रममा गरियो। साथै हजुरआमा कृष्णकुमारी दाहाल र आमा राधादेवीका नाममा प्रत्येक वर्ष दुईजना विद्यार्थीलाई पुरस्कृत गर्ने गरी एक लाखको अक्षयकोष स्थापनार्थ नगद पनि प्रदान गरियो। मादीमा प्राप्त हार्दिकता आत्मीयता र उदारता हाम्रा लागि अविस्मरणीय रह्यो। मादी मुक्तकण्ठले हामीलाई स्वागत गरिरहेको थियो तर हामी भने मादीबाट बिदा मागिरहेका थियौं। पुग्न जति आतुर, फर्कन त्यति नै आतुर। सायद यो मेरो नियति भइसकेको थियो।