पुरानो इनार र रूख

पुरानो इनार र रूख

( श्रुति परम्पराबाट जीवित हाम्रो लोकजीवन अहिले संकटमा छ। घरघरमा कथा कहने, गाथा गाउने, ‘गाउँ खाने-दिने’ जुन चलन थियो, त्यो झन्डै लोप हुँदो छ। लोकवार्ताका विभिन्न रूप हाम्रा मौलिक पहिचान हुन्। लोककथा, दन्त्यकथा, किंवदन्तीहरू तत्कालीन समाज हेर्ने आँखीझ्याल हुन्। हामी यस स्तम्भमा संकलन नभएका ती कथ्य सामग्री छापिरहेका छौँ। यस्ता कथामा जातीय, लैंगिक, क्षेत्रीय, धार्मिक, साम्प्रदायिक अनेक विभेद पनि झल्किन सक्छन्, अन्धविश्वास पनि प्रस्तुत हुन सक्छ। ‘पलिटिकल करेक्ट’ हुने नाममा हामी यिनलाई संशोधन गर्ने छैनौं, किनभने यिनका आधारमा हामीले हाम्रो समाजको अवलोकन-विवेचन गर्ने हो। सच्चिने हो, न कि यिनैलाई सच्याएर छाप्ने। यहाँहरू पनि आफ्नो क्षेत्रका, समुदायका, पाका पिँढीका लोककथा-मिथहरू संकलन गरी पठाउन सक्नुहुन्छ।)

रत्ननाथबारेको किंवदन्तीअनुसार हाल दाङको चौघेरा त्यति बेला घना जंगल थियो। थारू राजा रत्नपारखु एक दिन जंगलमा सिकार खेल्न गए। एउटा बँदेललाई वाण हाने। घाइते बँदेल भाग्यो। रत्नपारखु घोडा चढेर बँदेलको रगतको डोब पछ्याउँदै हिँडे। जंगलका बीचमा एक जना योगी धुनी बालेर बसेका थिए। उनको छेउमै घाइते बँदेल पनि थियो। बँदेलको शरीरमा लागेको तीर धुनीमा गाडिएको थियो। रगत बगिरहेकै थियो। रत्नपारखु घोडाबाट ओर्लिएर आफ्नो सिकार बँदेल दिन जोगीलाई आग्रह गरे। जोगीले मानेनन्। बरु सम्झाइबुझाइ गरे। कुनै पनि राजा मान्छे र सबै जीवजन्तुको पालक तथा संरक्षक बन्न सक्नुपर्छ भने। तर राजा रत्नपारखुले सिकार गर्ने र जनावरको मासु खाने छुट धर्मले दिएको धारणा राखे।

ती योगीले उसो भए छाती, खुट्टा, मुख, पखेटा र रगतमासु नभएको जनावरको सिकार गर भने। रत्नपारखु अकमक्क परे। काम, क्रोध, लोभ, मोह, अहंकार यी पाँच चिजको राजाले सिकार गर्न सक्नुपर्ने योगीले बताएपछि रत्नपारखुले तिमी को हौ भनेर सोधे। योगीले भने— म गोरखनाथ हुँ। शिव भगवान्को अवतार।

आफूसँग कुरा गरिरहेका जोगी गुरु गोरखनाथ भएको थाहा पाएपछि रत्नपारखु अचम्ममा परे। उनी गोरखनाथका चेला बने र दीक्षा पाएपछि सम्पूर्ण राजकाज र सम्पत्ति जनतालाई दिए। राजा रत्नपारखु रत्ननाथ योगी बने। गोरखनाथले रत्ननाथलाई एउटा अमृत पात्र (भाँडो) दिएर त्यसको नित्य पूजा गर्न सुझाए। त्यही समयमा शुद्ध जल जोहो गर्न रत्ननाथले इनार खन्न लगाएको विश्वास छ।

यो इनार दाङमा अहिले पनि छ। अब यसको कुरा गरौं।

यो इनार (कुवा) १३ सय वर्ष पुरानो भएको जन श्रुति छ। दाङको घोराही उपमहानगरपालिका-१७, चौघेरास्थित गोरक्ष रत्ननाथ मन्दिर परिसरमा छ, यो। यही इनारको पानीले मन्दिरमा पूजाआजा गरिन्छ। यो पिउन र अन्य प्रयोजनका लागि पनि प्रयोग हुन्छ। प्रमाण त छैन तर यसलाई जन श्रुतिले जिल्लाकै सबभन्दा पुरानो र गहिरो बताउँछ। अझ श्रुति के पनि छ भने पातालबाट भाले बासेको सुनिएपछि इनार खन्ने क्रम रोकियो।

पहिले गाउँभरिकाले यही कुवाको पानी खान्थे। तर, पछि घरघरमा धारा-कुवा बने। इनार वरिपरि फलामे बार लगाइएको छ। चारैतिर बाक्लिएको घाँस र झाडी छिचोलेर नियाल्दा इनार गहिरै छ।

इनारनजिकै गलैंचीको रूख छ। स्थानीय नारायणनाथ योगी, ८५ का अनुसार यो रूख पनि इनारजस्तै पुरानो हो। रत्ननाथले पानीका लागि इनार र फूलका लागि गलैंची रोपेको मठाधीश देवनाथ बताउँछन्।

संस्कृतिविद् डा. गोविन्द आचार्य इनार र रूख यति नै पुरानो भनेर तथ्य-प्रमाणका आधारमा भन्न नसकिए पनि इतिहासमा जन श्रुतिको पनि महत्व हुने बताउँछन्। सवारीकोट राजाको आवास क्षेत्र रहँदै गर्दा कुवा निर्माण गरिएको उनी बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.