नक्कली प्रमाणपत्रमा सात मुद्दा
काठमाडौं : नक्कली शैक्षिक प्रमाणपत्र (सर्टिफिकेट) पेस गरी जागिर खानेको बिगबिगी देखिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार एकै दिन यससम्बन्धी सातवटा मुद्दा विशेष अदालतमा चलाएको छ।
चितवनस्थित साझापुर उच्च मावि मेघौलीका राहत शिक्षक नारायण शर्माले बीएससीको प्रमाणपत्र नक्कली पेस गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। उनी २०६५ वैशाख ८ मा माविको विज्ञान शिक्षक नियुक्त भएका थिए। उनले २०६७ फागुन २ गतेसम्म बहाल रही लाभ प्राप्त गरेको अख्तियारले जनाएको छ।
नेपाल विद्युत् प्राधिकरण हेटौंडा वितरण केन्द्रका इलेक्ट्रिसियन शंकरबहादुर तामाङ २०४१ सालमा दैनिक ज्यालादारी कुल्ली पदमा नियुक्त भएका थिए। कक्षा ८ पास गरेको नक्कली प्रमाणपत्र पेस गरी उनले २०५० सालमा स्थायी नियुक्ति पाएका थिए। तामाङले तह ३ कुल्ली पद (इलेक्ट्रिसियन)मा बढुवा भई सरकारी सेवाको सुविधा लिएको अख्तियारले जनाएको छ।
विद्युत् प्राधिकरणकै ग्रिड महाशाखा हेटौंडाका हेल्पर लोकनाथ खनालले कक्षा ९ पास गरेको झुठ्ठा प्रमाणपत्र पेस गरी २०५४ सालमा ज्यालादारी काम सुरु गरेका थिए। उनले २०६८ सालमा जुनियर हेल्पर पदमा स्थायी नियुक्ति पाएका थिए।
विद्युत् प्राधिकरणकै जलेश्वर महोत्तरीका तत्कालीन सुपरभाइजर महन्थ मण्डलले मध्यमा तह पास गरेको नक्कली प्रमाणपत्र पेस गरेको खुलेको छ। उनले २०५० भदौ ४ गते तह ३ इलेक्ट्रिसियन पदमा नियुक्ति पाई सुपरभाइजर तह ५ सम्म बढुवा भई लाभ लिएको आरोपपत्रमा उल्लेख छ।
माध्यमिक विद्यालय, लगडी गदियानी सिरहाका प्रावि द्वितीय श्रेणीका शिक्षक रामनारायण यादवले भारतबाट हाई स्कुल तह पास गरेको नक्कली प्रमाणपत्र पेस गरेका पाइएको छ। उनले २०४६ भदौ १ मा अस्थायी नियुक्ति पाएका थिए। उनले २०४८ भदौ १२ देखि स्थायी नियुक्ति लिएका थिए। २०६८ चैतदेखि द्वितीय श्रेणीमा विशेष बढुवा नियुक्ति लिई सरकारी सुविधा एवं लाभसमेत लिएको अख्तियारको अनुसन्धानमा देखिएको छ।
सूर्योदय उच्च मावि हुम्लामा माध्यमिक तहको तृतीय श्रेणीको विज्ञान शिक्षक पदमा नियुक्त जितेन्द्रकुमार झाको प्रमाणपत्र पनि नक्कली देखिएको छ। शिक्षाशास्त्र विषयमा अध्यापन नगरेको र शैक्षिक तालिम पनि नलिएको व्यक्ति सप्तरीबाट नक्कली अध्यापन अनुमतिपत्र लिई महादेव मावि दार्मा हुम्लामा माध्यमिक तहको विज्ञान शिक्षकमा नियुक्त भएका थिए। उनले बिहारबाट जारी गरिएको नक्कली प्रमाणपत्र पेस गरी २०६५ वैशाख १५ देखि महादेव मावि दार्मा हुम्लामा अस्थायी नियुक्ति लिएको अनुसन्धानमा खुलेको छ। उनले २०७१ साउनदेखि लागू हुनेगरी माध्यमिक तहको तृतीय श्रेणी विज्ञान विषयको स्थायी शिक्षकमा नियुक्ति भई सूर्योदयमा कार्यरत रहेको पाइएको देखिएको छ।
भानु नगरपालिकाका कार्यालय सहयोगी हेलन गुरुङ नक्कली प्रमाणपत्र पेस गरी नियुक्त भएको पाइएको छ। उनले कक्षा ८ पास गरेको प्रमाणपत्र पेस गरी २०७५ वैशाख २० मा उक्त पदमा नियुक्ति लिएका थिए।