भण्डारण क्षमता पर्याप्त

भण्डारण क्षमता पर्याप्त

काठमाडौं : सरकारसँग करिब पाँच लाख टन क्षमताको भण्डार गृह (गोदाम) छ। आपतकालीन अवस्थामा देशभर खाद्यान्न परिचालन गर्न भण्डार गृह पर्याप्त रहेको सरोकारवालाले जनाएका छन्। आपतकालीन समयमा यस्ता गोदाममा ६ महिनादेखि एक वर्षसम्मका लागि पुग्ने प्रमुख खाद्यान्न चामल, दाल र खानेतेल भण्डार गरी राख्न सकिन्छ।

पूर्ण सरकारी स्वामित्व र पब्लिक प्राइभेट लिमिटेड अवधारणामा रहेका निकायसँग रहेको यस्ता भण्डार गृहमध्ये अधिकांश राणाकालीन र पञ्चायतकालीन हुन्। केही मात्र स–सानो क्षमताका त्यसपछिका समयमा निर्माण गरिएका हुन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी, कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनको विभिन्न स्थानमा रहेको भण्डार गृहको कुल क्षमता ४ लाख ८७ हजार ४ सय टन छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालकाअनुसार संकटकालीन र आपतकालीन अवस्थामा मुलुकलाई आवश्यक पर्ने खाद्यान्न खरिद गरी लामो समयसम्म भण्डारण गर्न सकिन्छ।

‘आवश्यक परेको अवस्थामा उक्त भण्डार गृहबाट अति आवश्यक खाद्यान्न देशभर परिचालन गर्न सहज हुन्छ’, खनालले भने, ‘हामीसँग भएको भण्डार गृह करिब प्रत्येक प्रादेशिक संरचनाअनुसार भएकाले प्रदेशभर परिचालन गर्न कुनै समस्या छैन।’

खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग ३३ जिल्लामा आफ्नै १ सय ४६ गोदाम छन्। यो सम्पूर्ण गोदामको क्षमता करिब १ लाख टन छ। यसबाहेक साविकको नेसनल ट्रेडिङ लिमिटेड (हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा गाभिएको) को छुट्टै विभिन्न जिल्लामा गरी ६३ हजार ४ सय टन क्षमताको गोदाम छन्। यसरी ती दुवै निकायको जोड्दा कम्पनीसँग १ लाख ६३ हजार ४ सय क्षमताको गोदाम छन्।

‘हामीसँग भएका गोदाम वर्षभरि प्रयोग गर्न सकिने पूर्ण क्षमतामा हुन्’, खनालले भने, ‘एक पटक खरिद गरिएका वस्तु तीनदेखि ६ महिनासम्मका लागि भण्डारण हुन्छ। त्यसपछि खाली अवस्थामा रहने हो। कुल क्षमताको करिब ५० प्रतिशतमात्रै प्रयोगमा आएको छ।’ कम्पनीले हालसम्म चामल, कर्णालीको कोदो, फापर, गेडागुडी संकलन गरी भण्डारण गर्ने र दुर्गमको २४ जिल्लासहित राजधानी केन्द्रित यस्ता वस्तुको कारोबार गर्दै आएको छ।

यसबाहेक कम्पनीसँग अहिले विश्व खाद्य कार्यक्रमले वीरगञ्जमा हालै निर्माण गरिएको १ हजार र हेटौंडामा निर्माण गरिएको अर्को १ हजार टनको अतिरिक्त गोदाम पनि छन्। यस्तै नेपालगञ्जमा १ हजार टन र सुर्खेतमा २ हजार टनको निर्माण कार्य सुरु गर्न लागिएको खनालले जानकारी दिए। केही समयपश्चात यो चारसहितको गरी १ लाख ६८ हजार ४ सय टन क्षमताको भण्डार गृह कम्पनीसँग हुनेछ। कम्पनीसँग भएको गोदाममध्ये नख्खुको ११ वटा र थापाथलीको दुई वटा २०४१ सालतिर निर्माण भएको हो।

पब्लिक प्राइभेट लिमिटेड अवधारणामा सञ्चालनमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनसँग आफ्नै १ लाख ७० हजार टन क्षमताको भण्डार गृह छ। यसबाहेक निजी क्षेत्रको भाडामा लिएर छुट्टै ८० हजार टन क्षमताको भण्डार गृह सञ्चालनमा राखेको छ। कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठकाअनुसार साल्टले मुख्य गरी नुन, चिनी, खानेतेल, दाल, रासायनिक मलजस्ता वस्तुको खरिद गरी भण्डारण र कारोबार गर्दै आएको छ। ‘हामीसँग पनि अहिले पर्याप्त परिमाणमा गोदाम छन्’, श्रेष्ठले भनिन्, ‘भएकै क्षमताको गोदाम पूर्ण रूपमा प्रयोग गर्न पाएका छैनौं। सामान ल्याएर केही राख्ने र त्यसपछि बजारीकरण हुने भएकाले गोदाम पूर्ण क्षमतामा प्रयोग भएको छैन।’

श्रेष्ठकाअनुसार आपत र संकटकालीन समयमा भण्डार गृहको अभाव भएको अवस्थामा साल्टसँग भएको रासायनिक मलको गोदामलाई पनि वस्तु भण्डार गर्न प्रयोग गर्न सकिन्छ। गोदाममा मल वर्षैभरि भण्डारण नहुने भएकाले केही महिनाका लागि उक्त गोदाम प्रयोग गर्न मिल्ने उनले जानकारी दिए। उनकाअनुसार खानेतेलको सबालमा छुट्टै गोदाम भने आवश्यक छ। खानेतेल विशिष्ट प्रकृतिको हुने भएकाले गुणस्तर कायम राख्न छुट्टै भण्डार गृह बनाउनुपर्ने उनको सुझाव छ।

कृषि सामग्री कम्पनीसँग भने साविकको बीउवीजन कम्पनीसहित ७४ हजार टन क्षमताको रासायनिक मल राख्ने भण्डार गृह छ। कम्पनीको आफ्नै ६७ हजार र बीउवीजनको ७ हजार टन क्षमताको भण्डार गृह छ। कम्पनीका प्रवक्ता विष्णु पोखरेलले मल राख्ने विशिष्टकृत भण्डार गृह भए पनि आपतकालीन अवस्थामा केही सुविधा थप गरी अतिआवश्यक वस्तु भण्डार गर्न सकिने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.