कञ्चनजंघा क्षेत्र सुनसान

कञ्चनजंघा क्षेत्र सुनसान

ताप्लेजुङ : ६ महिनालाई पुग्ने खाद्यान्न, लत्ताकपडा र टे«किङका सामान लिएर घुन्साका दिपक शेर्पा हप्ता दिनअघि गाउँ फर्किए। चिसो छल्न काठमाडौं गएका उनी पर्यटकीय सिजन सुरु भएसँगै फिरेका हुन्। दिपकजस्तै हिउँदभरि गाउँ छाडेका कञ्चनजंघा पदमार्गका स्थानीय गाउँ पुगिसकेका छन्। तापेथोकको रानीपुलदेखि खच्चडलाई सामान बोकाएर प्रत्येकले गोदामसमेत भरिसके। घरको सरसफाइलगायत व्यवस्थापन सकेका उनीहरू अब पर्यटकको पर्खाइमा छन्।

तर, पर्यटक भने छैनन्। ‘गत वर्ष यतिबेला होटल भरिभराउ भइसकेका थिए, मध्यफागुनदेखि नै पर्यटकको ताँती हुन्थ्यो’, कञ्चनजंघा गेस्ट हाउसका सञ्चालक दिपकले भने, ‘अहिले सुनसान छ।’ बुकिङ गर्नेहरूले समेत धमाधम रद्ध गर्न थालेको उनको गुनासो छ। उनले भने, ‘१० ग्रुप विदेशीले माघमा गरेको बुकिङ नै रद्ध गरे, नयाँ सम्पर्कमा छैनन्।’

याम्फुदिनका तेञ्जिङ शेर्पाले पनि क्याम्प साइडको सरसफाइ र गाउँले मिलेर पदमार्गको मर्मत गरिसके। याम्फुदिन बस्तीमा घर रहेका तेञ्जिङसहित गाउँले बन्दोबस्तीका सामानसहित चेइराम, ओक्तान र सेलेले क्याम्पसाइडमा पुगेका हुन्। कञ्चनजंघा क्षेत्रका हरेक व्यवसायी पर्यटक आगमनको तयारीमा जुटेका छन् ।

यी क्षेत्रमा अन्न र सागसब्जी केही पनि उत्पादन हुँदैन। केही ठाउँमा आलु उत्पादन भए पनि त्यो पर्याप्त हुँदैन। पर्यटकका लागि भने उनीहरूको चाहनाअनुसार प्रयोग हुने सागपातदेखि खसी, कुखुरा, च्यांग्रासमेत जोहो बाहिरबाटै गर्नुपर्छ।

कोरोना भाइरसका कारण सरकारले विदेशी पर्यटकलाई रोक लगाएपछि यो क्षेत्र सुनसान बनेको पर्यटन व्यवसायी बताउँछन्। लाखौं खर्चेर तयारी गरेका व्यवसायी पर्यटक नपुग्दा उनीहरू चिन्तामा छन्। होटल पूरै खाली रहेको घुन्साका टाँसी तेञ्जिङले बताए। ‘भारी बोक्नेलगायत काम खोज्दै आएकालाई पनि समस्या छ, यहाँ त रोगको भन्दा घर खर्च कसरी चलाउने भन्ने त्रास पो बढ्यो’, उनले भने।

झापाका पर्यटन व्यवसायी धर्मराज प्रसाई ८ जना विदेशी र ४ जना नेपाली पर्यटक लिएर चैत तेस्रो साता कञ्चनजंघा आधार शिविर जाने तयारीमा थिए। तर, बाहिरका पर्यटक नआउने भएपछि टे«क नै रोकेको उनले सुनाए। भने, ‘विदेशीले अप्रिल ३० पछि हेरौं भनेका छन्, नेपाली साथीहरू पनि डराउनुभयो त्यसैले तत्काल जान सकिएन’, प्रसाईले भने।

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा (८५८६ मि.)मा गत वर्ष १ हजार ३ सय पर्यटक आएको कञ्चनजंघा संरक्षण क्षेत्रको तथ्यांक छ। भ्रमण वर्ष भएकाले यो वर्ष उक्त संख्या बढ्ने स्थानीय व्यवसायीको अपेक्षा थियो। उत्तरी र दक्षिणी दुई आधार शिविर रहेको कञ्चनजंघा हिमाल भ्रमण गर्न तीन साता समय लाग्छ।

फुङलिङ बजारबाट फक्ताङलुङ गाउँपालिकाको लेलेपसम्म गाडीमा जान सकिन्छ । यहाँबाट तीन क्याम्पमा घुन्सा बजार पुगिन्छ । घुन्साबाट खम्वाचेन, लोनाक हुँदै उत्तरतर्फको आधार शिविर पुग्न दुई दिन लाग्छ। पूर्वतर्फ सिरिजंघा गाउँपालिकाको याम्फुदिनसम्म मोटरबाटो पुगेको छ। त्यहाँदेखि चेइराम दुँदै ओक्तान पुग्न तीन दिन लाग्छ।

कञ्चनजंघासहित नेपालका सय पर्यटकीय गन्तव्यमा समेटिएको तिम्वुङ पोखरी र फुङफुङ्गे झरना क्षेत्र पनि सुनसान छन्। प्रसिद्ध तीर्थस्थल पाथीभरामा पनि न्यून पर्यटक आएको फेदी प्रहरी चौकीका इन्चार्ज धनराज तुम्बापोले बताए।

कोरोना संक्रमणको जोखिम हुने भन्दै अध्यागमन विभागले मार्च १५ देखि अप्रिल ३० सम्म पदयात्रा नगर्न भनेको छ। पर्यटन विभागले पर्वतारोहणका लागि जारी गरिएका र जारी गरिने अनुमति पत्र समेत हाललाई स्थगित गरेको छ।

पर्यटन क्षेत्रलाई ठूलो घाटा भए पनि सरकारको निणर्यमा आफूहरूको ऐक्यबद्धता रहेको टे«किङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) की महासचिव सरिता लामाले बताइन्। ‘गत वर्षको आँकडा अनुसार पर्यटन क्षेत्रमा दैनिक ११ अर्ब घाटा भइरहेको छ’, लामाले भनिन्, ‘यो जटिल समयमा सरकारलाई हाम्रो सपोर्ट छ।’ स्वास्थ्य नै ठूलो कुरा भएकाले स्वस्थ रहन सके व्यवसाय पछि पनि गर्न सकिने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.