मैले देखेको साइप्रस

मैले देखेको साइप्रस

गणतन्त्र साइप्रस भू-मध्य सागरमा अवस्थित एक टापु राष्ट्र हो। पूर्वी युरोपमा पर्ने यो मुलुक भू-मध्य सागरको तेस्रो सबैभन्दा ठूलो टापु हो भने जनसंख्याका हिसाबले पनि भूमध्यसागरको तेस्रो ठूलो टापु नै हो।

यो टापु टर्कीको दक्षिण, सिरिया र लेबनानको पश्चिम, इजरायल र प्यालेष्टाइनको उत्तरपश्चिम, इजिप्टको उत्तर र ग्रिसबाट दक्षिणपूर्वी दिशामा अवस्थित छ। संयुक्त राष्ट्रसंघको पछिल्लो तथ्यांकअनुसार गणतन्त्र साइप्रसमा ११ लाख ९८ हजार ५ सय ७५ जना मानिसको बसोबास छ।

कुल ९ हजार २ सय ५१ वर्ग किलोमिटर क्षेत्रफल भएको यस देशको राजधानी निकोसिया हो। साइप्रसको जनसंख्याको बृद्धिदर ०.०२५ मात्रै छ। क्षेत्रफलका हिसाबले गणतन्त्र साइप्रस विश्वको १५८ औं देश हो। यस देशको प्रतिव्यक्ति वार्षिक आम्दानी ४१ हजार ५ सय ७२ अमेरिकी डलर छ। यस देशमा युरो मुद्रा प्रचलनमा छ। सानो टापु मुलुक भए पनि यो विश्वका देशहरूमध्ये मानव विकास सूचकांक अति उच्च भएको देश हो। साइप्रस टापु राजनीतिक हिसाबले दुई भागमा विभक्त छ। दक्षिणी साइप्रस जसलाई अन्तर्राष्ट्रिय समुदायले गणतन्त्र साइप्रस भनेर चिन्दछ त्यो युरोपेली युनियनको सदस्य रहेको सार्वभौम मुलुक हो। तर राजधानी निकोसियाबाटै उत्तरतर्फ केही भूभाग टर्कीको अधिनमा छ।

टर्की अधिनस्थ क्षेत्रमा टर्किस लिरा प्रचलनमा छ र त्यहाँको सुरक्षा व्यवस्था पनि टर्की सरकारको हातमा छ। त्यस भू-भागलाई अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको छैन। टर्की अधिनस्थ साइप्रसमा बस्ने मानिसलाई टर्किस सिप्रोट र गणतन्त्र साइप्रसमा बस्ने मानिसलाई ग्रीक सिप्रोट भन्ने चलन छ।

ग्रीक सिप्रोटहरू ग्रीक भाषा बोल्छन् र अर्थोडक्स क्रिश्चियन धर्म मान्छन्। भाषा र संस्कृतिका हिसाबले यिनीहरू युरोपको अर्को प्रभावशाली मुलुक ग्रिससँग निकट छन्। उता टर्की अधिनस्थ क्षेत्रमा मुस्लिम बाहुल्य छ। यिनीहरू टर्किस भाषा बोल्दछन्। ग्रीक सिप्रोटहरू टर्कीले दखल गरेको क्षेत्रलाई occupied area भन्छन् र एकदिन उक्त भू-भाग पनि सार्वभौम साइप्रसकै हिस्सा बनेर एकीकृत हुनेछ भनी आशा राख्दछन्।

यही सानो देशको मुटु बनेर बसेका हामी नेपालीहरू लगभग १२ हजारको संख्यामा छौं। नेपाली मूलका मानिसहरूको उक्त जनसंख्यामध्ये ८ हजारजति कामदार भिसा र ४ हजारको हाराहारीमा विद्यार्थी भिसामा आएका मानिसहरू छौं। विभिन्न जातजाति, भाषा, धर्म, लिंग, भेषभुषाको आफ्नै पहिचान बोकेका हामी नेपालीहरू यही सानो समुद्री टापुमा बसोबास गरिरहेका छौं।

यस देशमा नेपालीहरूको आउने दर दिनप्रतिदिन बढिरहेको छ। नेपालमा बेरोजगारी र राजनीतिक अस्तव्यस्तताकाबीच भविष्य नेदेखेर युवाहरू अन्य देशमा गएजस्तै साइप्रसमा पनि आउँछन् भन्दा अतिशयोक्ति नहोला। साइप्रसमा बस्ने नेपालीहरूले आ-आफ्नो धर्म, राजनीतिक र जातीय रूपमा विभिन्न संघ संगठनहरू स्थापना गरेका छन्। यहाँ मैले भन्न खोजेको सिधा कुरा के हो भने हामी नेपाली दाजुभाइ दिदीबहिनीहरू यति टाढा सात समुद्रपारि आइपुगेर पनि जाति, भाषा, धर्म र अझ राजनीतिक आस्थाका आधारमा विभक्त छौं।
हामी नेपाली एउटै हौं भन्ने चिन्तन र सोँचको विकास अझै  हुन नसक्नु चिन्ताको विषय हो। तर, भन्नुपर्ने कुरा यही हो कि हामी नेपालीहरू अनेकतामा विभाजित भए पनि यो मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउन ठूलो सहयोग पुर्‍याएका छौं। 

मुलुकको समृद्धिका लागि हामी नेपालीहरूले केही भूमिका खेल्दै आएका छौं र  आगामी दिनमा नेपालको विकास र समृद्धिमा हामी सबै एकताबद्ध भएर जानुपर्छ भन्नेमा प्रष्ट छौं। विदेशमा बस्ने हामी सबै नेपालीहरू एकताबद्ध भएर अगाडि बढ्नु आजको आवश्यकता हो।

हामी नेपाली यहाँ राजनीतिको नाममा होस्, धर्म वा जातजातिको नाम होस् विभाजित छौं। विदेशमा रहेर पनि एक भएर बढ्न नसक्दा हामी आज उठ्न नसकेको अवस्था छ। नेपालीहरूले यहाँ आयोजना गर्ने हरेक कार्यक्रममा हाम्रो एकरूपता नभएको प्रष्ट देखिन्छ।

एकजुट नभइ हामी आफ्नो देश र मातृभूमिलाई कसरी विकास र समृद्धिको बाटोतिर अघि बढाउन सक्छौं? यो गम्भीर चिन्तनको विषय हो। साइप्रसमा बस्ने अन्य देशका विदेशी नागरिकहरू आफूलाई भइपरि आउने समस्यासँग सामना गर्न एकजुट हुन्छन्। तर, हामी नेपालीहरूमा त्यो एकता पटक्कै देखिन्न। हामी कता जाँदै छौं त?

हाम्रो गन्तव्य मुलुक साइप्रसलाई एकचोटि नियाल्न्न सक्छौं, बेलायती उपनिवशेबाट मुक्ति पाएसँगै टर्कीसँग भएको संघर्ष र वर्षौंसम्म चलेको लडाइँबाट पाठ सिक्दै यस मुलुकले विकासमा जुन फड्को मारेको छ, त्यो हामीले आफ्नै आँखाले देखेका छौं। आज हामी नेपाली दाजुभाइ तथा दिदीबहिनी रोजगारी र पढाइको शिलाशिलामा यहाँ छौं।

जुन सीप र तालिम यहाँ हामीले सिकेका छौं त्यो नेपालको विकासको लागि एकदमै काम लाग्ने कुरा हो। सबैभन्दा ठूलो हामीमा एकता छैन भने, हामी अगाडि बढ्नसक्दैनौं र हामी जहाँको त्यहीँ हुनेछौं। यसतर्फ हामी सबै गम्भीर हुन अन्यन्त जरुरी छ। (लेखक हाल साइप्रसमा बस्छन्)
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.