भीडमा भन्दा सतर्कतामा गर्भवती

भीडमा भन्दा सतर्कतामा गर्भवती

उत्तरी छिमेकी चीनबाट सुरु भएको ‘कोरोना भाइरस’ अर्थात् कोभिड १९ को संक्रमण दक्षिणी छिमेकी भारतमा आइपुग्दा नेपालमा त्रास बढ्नु स्वाभाविकै हो। यो भाइरसको संक्रमण विश्वका १ सय ८५ देशमा फैलिइसकेको र १० हजारभन्दा बढीको मृत्युसमेत भइसकेको छ। यस यस अवस्थामा हामी भयरहित कसरी बस्न सक्छौ। सरकारले पनि यसबाट जोगिन सर्तकताका उपाय अपनाएका छन् र जनताका हितका लागि कडाइ पनि गरिएको छ।

कोरोनाको संक्रमणले हाम्रो देशमा भयावह स्वरूप लिएको छैन, तर लिन सक्दैन भन्नचाहिँ सकिँदैन। यसबाट सुरक्षित रहनु हरेक नागरिकको कर्तव्य हो। अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै सबैभन्दा राम्रो उपाय हो। रुघाखोकी लागेको तथा श्वासप्रश्वासका बिरामीको नजिक नजाने तथा हातको सरसफाइ नियमित गरेमा संक्रमणको सम्भावना कम रहन्छ। नियमित रूपमा साबुनपानीले हात धुने, खोक्दा, हाच्छ्युँ गर्दा नाकमुख छोप्ने, संक्रमित व्यक्तिबाट टाढा बस्ने, मास्क लगाएर हिँडडुल गर्ने, पशुजन्य मासु तथा अन्डा राम्रोसँग पकाएर खाने, जंगली र घरपालुवा पशुपन्छीको असुरक्षित सम्पर्कबाट टाढा राख्ने आदि उपायले मात्र पुग्दैन।

कोरोनाको संक्रमण हुनेबित्तिकै सबैलाई ज्वरो आउने, रुघा लाग्ने वा श्वास फेर्न गाह्रो हुँदैन। अर्थात् संक्रमण हुनेबित्तिकै सबै रोगी हुँदैनन् तर त्यस्ता संक्रमितले पनि भाइरसको संक्रमण सार्न सक्छ। त्यसैले भाइरसको संक्रमण रहेको क्षेत्रबाट आएको जोकोही पनि १४ दिन अनिवार्य क्यारेन्टाइनमा बस्नुपर्ने हुन्छ। भारतीय गायिका कनिका कपुर यसरी क्यारेन्टाइनमा नबसेका कारण संसद्लगायत धेरैमा कोभिड– १९ को संक्रमण देखिएको छ। नेपालमा पनि रोग नदेखिएका तर यस्ता संक्रमितहरू कति छन् वा छैनन् भन्न सकिने अवस्था छैन। त्यसैले यस अवस्थामा आफैं सुरक्षित बस्नु महत्वपूर्ण हुन्छ र यसका लागि घरबाहिर ननिस्कनु, बाहिरबाट आएका मानिसलाई नभेट्नु तथा भीड नगर्नु उत्तम उपाय हुन सक्छ।

घरभित्र बस्न भनेको अवस्थामा गर्भवती परीक्षण गर्ने कि नगर्ने ? गर्भवतीले नियमित परीक्षण गर्नुपर्ने हुन्छ र कतिले कुन–कुन मितिमा चिकित्सकसँग भेट्ने भनेर कार्यतालिका पनि बनाइसकेका हुन्छन्। समयमा परीक्षण गराउन नजाँदा गर्भमा असर पर्ने त होइन भन्ने डर गर्भवतीमा हुनु स्वाभाविक हो। अस्पतालमा बिमारी आउने भएकाले कोभिड– १९ का संक्रमित पनि आउने सम्भावना हुन्छ। त्यसैले अस्पताल जाँदा संक्रमणको खतरा बढि हुन्छ भने नजाँदा गर्भमा खतरा बढ्ने हो कि डर। वर्तमान अवस्थामा अस्पताल नियमित परीक्षणका लागि नै जानु उपयुक्त हँुदैन। तर गर्भावस्थामा पनि केही आकस्मिक र जटिलता हुन सक्छ, जुन अवस्थामा समयमा अस्पताल पुगिएन भने आमा र बच्चा दुवैलाई खतरा हुन सक्छ। सामान्यतयाः गर्भको बच्चाको चाल वा चलेको गर्भवतीले महसुस गर्नुपर्छ। गर्भको बच्चा राम्ररी चलिरहेको छ भने तत्कालै अस्पताल जानु पर्दैन। तर ६ महिनाभन्दा बढीको गर्भ भएको अवस्थामा र अझै गर्भको अन्तिम अवस्थामा गर्भको बच्चा चलेको महसुस नभएको अवस्थामा तुरुन्त अस्पताल जानुपर्छ। त्यस्तै व्यथा लागेमा, रगत वा पिसाबजस्तो पानी बगेमा, धेरै नै पेट दुखेमा अस्पताल जानैपर्छ। गर्भास्थामा अलिअलि पेट दुख्दैमा वा अलिअलि कम्मर दुख्दैमा अहिलेको अवस्थामा अस्पताल धाउनु उपयुक्त नहुन सक्छ। त्यस्तै यस अवस्थामा नियमित गर्भ परीक्षणका लागि अस्पताल नजानु नै उपयुक्त हुन्छ। यस अवस्थामा गर्भको भ्रूण र गर्भवतीको स्वास्थ्यका लागि सरसफाइमा ध्यान पु¥याउनु सँगै पोषणयुक्त खाना खानुपर्छ। नियमित रूपमा खाने आइरन तथा क्याल्सियम खाइरहनुपर्छ। गर्भवतीले लिने खोप टीडी केही हप्ता ढिलाइ भएमा कुनै नराम्रो नहुने भएकाले यसका लागि पनि खोप केन्द्र वा अस्पताल जानु उपयुक्त नहोला।

गर्भवतीलाई वातावरणीय तापक्रमको वृद्धिले पिसाब संक्रमण हुने सम्भावना बढ्ने हुन्छ। त्यसैले यसबाट बच्न प्रशस्त मात्रामा पानी तथा झोल खानेकुरा सेवन गर्नुपर्छ। यस बेला सामान्य रुघा वा ज्वरो आएमा पनि आत्तिनु हुँदैन। बरु सामान्य ज्वरोका लागि सिटामोल सेवन गर्ने, आराम गर्ने र घरमै बस्नु उपयुक्त हुन्छ। तर असामान्य रूपमा कुनै समस्या धेरै भएमा अस्पताल जानु ठीक हुन्छ। गर्भवती महिला अस्पताल जानैपरे पनि धेरै भीडभाडमा पर्खिने वा अनावश्यक रूपमा अस्पतालमा धेरै समय खर्चिनु हुँदैन।

स्मरण रहोस्, कोभिड १९ भाइरसले हुने रोगका लागि कुनै खास उपचार छैन। यो भाइरसले निम्त्याएका लक्षणका आधारमा उपचार गरिन्छ र यस भाइरसको विरुद्ध हालसम्म कुनै खोप पनि बनेको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.