बन्द अस्पतालमा आइसोलेसन वार्ड
इलाम : इलाम नगरपालिका–६ सिंगफ्रिङस्थित बन्द रहेको डा. मेघबहादुर पराजुली सामुदायिक अस्पताललाई क्वारेन्टाइन तथा आइसोलेसन वार्डका रूपमा प्रयोग गर्ने इलाम नगरपालिकाले काम सुरु गरेको छ।
वार्ड सञ्चालनका लागि आवश्यक कारबाही अगाडि बढाउन कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि इलाम नगरपालिका, नगर कार्यपालिका कार्यालयअन्तर्गत गठित समितिलाई कार्यपालिकाले निर्देशन दिएको इलाम नगरपालिका प्रशासकीय अधिकृत रामकुमार शाहले जानकारी दिए। नगरपालिकाबाट आवश्यक सहयोग गर्नेसमेत निर्णय भएको इलाम नगरपालिका प्रशासकीय अधिकृत रामकुमार शाहले जानकारी दिए।
अत्यावश्यक सेवाअन्तर्गत रहेका स्वास्थ्य संस्था पूर्णरूपमा सञ्चालन गर्नुका साथै दमकल, खानेपानी, सरसफाइ, जिन्सी र नगर प्रहरी सेवा पूर्णरूपमा सञ्चालन गर्ने, कार्यालयको सवारीसाधन तथा मेसिनरी उपकरण र चालकलाई जुनसुकै समयका लागि तयारी अवस्थामा राख्ने, कर्मचारीलाई किरिया बिदा, बिरामी बिदा र प्रसूति बिदाबाहेक अन्य बिदा नदिने निर्णय गरेको छ। खानेपानी सेवाका मिटर रिडरलाई चेतनामूलक तथा सन्देशमूलक पर्चासहित घरदैलो अभियानमा परिचालन गरिने भएको छ।
यसैगरी, इलाम नगरपालिकाअन्तर्गतका वडा कार्यालयबाट प्रवाह हुने सेवा प्रवाह स्थगन गर्ने तर कर्मचारीलाई तयारी हालतमा राख्नेसमेत शाहले बताए। यसअघि इलाम अस्पतालमा २ शड्ढया आइसोलेसन कक्ष स्थापना गरिएको इलाम अस्पतालका व्यवस्थापक क्षीतिज खतिवडाले बताए। उनले एम्बुलेन्स तयारी हालतमा राखेको पनि जानकारी दिए।
इलामको पशुपतिनगर नाकामा भारतबाट आउने मानिसको जाँच थप कडा बनाइएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ।