बन्दको हल्लाले नुन र चामल लिनेको भिड
मुगु : सरकारले आइतबारदेखि अति आवश्यकबाहेक लामो दूरीका सवारीसाधन बन्द गर्र्ने निर्णय गरेपछि मुगुमा नुन र चालम किन्नेको भिड लागेको छ।
कोराना (कोभिड–१९) भाइरस संक्रमण नफैलियोस भनेर सरकारले निर्णय गरेपछि नुन र चालमको जोहो गर्न खाद्य संस्थान र साल्ट ट्रेडिङमा सर्वसाधारणको भिड लागेको हो।
सरकारले आइतबारदेखि चैत्र २१ गतेसम्म अति आवश्यकबाहेक सबै क्षेत्र बन्द गर्ने निर्णय गरेपछि सर्वसाधारणको भिड लागेको हो।
गाउँगाउँबाट सर्वसाधारण सानासाना बालबालिका बोकेर खाद्यन्न जोहो गर्न सहर आइपुगेका छन्। छाँयानाथ रारा नगरपालिका—५ कि करिष्मा भामले आइतबार एक घण्टा लाइन बसेर ३० केजी चामल लिएकी छन्।
सोही नगरपालिका—१३ का प्रेम रावतले समेत एक घण्टा लाइन बसेपछिमात्र खाद्यन्न पाएको बताए। बजारको मूल्य भन्दा १ सय ५० रुपैयाँ कम पर्ने भएकाले खाद्यमा सर्वसाधारणको भिड लागेको हो।
खाद्यले ३० किलोको एक बोरा मात्र चामल दिएपछि ठूलो परिवार हुनेलाई समस्या भएको छाँयानाथ रारा नगरपालिका ११ का बिर्ख बुढाले गुनासो गरे।
खाद्य संस्थान मुगु शाखाममा अहिले २६ क्विन्टल चामल मौज्जाद रहेको छ। सोरु गाँउपालिकाको सोरुकोट डिपोमा ३ सय क्विन्टलमा मौज्जाद रहेको छ।