फूलचोकीमा हराउनुहोला है !

फूलचोकीमा हराउनुहोला है !

ललितपुर : फूलचोकी जंगलमा गत बिहीबार तीन युवा हराएको खबर प्रहरीमा पुग्यो। गोदावरी नगरपालिका–३ स्थित फूलचोकी घुम्न गएका उनीहरूले फर्किने बेला बाटो भुलेका थिए। मध्याह्न १२ बजे त्यहाँ पुगेका उनीहरूलाई राति ९ बजेर ३५ मिनेटमा उद्धार गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख टेकप्रसाद राई बताउँछन्।

उनीहरूको उद्धारका लागि बाडेगाउँका प्रहरी निरीक्षक अरुण भट्टराई नेतृत्वको टोली खटिएको थियो। स्थानीय मिसन लामाको सहयोगमा प्रहरीले कैलालीका १८ वर्षीय सञ्जीव राउत, नुवाकोटका १७ वर्षीय दीपेन्द्र श्रेष्ठ र पाल्पाका १८ वर्षीय बाबुराम गौतमलाई उद्धार गरेको परिसर प्रमुख राई सुनाउँछन्।

प्रहरीले पाँच वर्ष अवधिमा उक्त जंगलबाट करिब २ सय किशोरकिशोरीको उद्धार गरेको छ। दुई जना पुरुषले भने ज्यान गुमाएको परिसरको तथ्यांक छ। बारम्बार हराउने समस्या भए पनि घुम्न जानेहरू सचेत नभएको प्रहरीको निष्कर्ष छ। घुम्न गएपछि फर्किने बाटो पहिल्याउन नसक्दा धेरै अलपत्र पर्ने गरेको देखिएको छ।

प्रहरीले यस वर्ष पुससम्म २५ जनाको उद्धार गरेको थियो। यसको संख्या बिहीबारको थप तीन जनासहित २८ पुगेको छ। त्यसमध्ये २५ पुरुष र तीन महिला छन्। २०७५ सालमा ५० जनाको उद्धार गरिएको थियो। एक जनाको मृत्यु भएको थियो। २०७४ मा १२ महिला र २३ पुरुष गरी ३५, २०७३ मा ३० पुरुष र १० महिला गरी ४०, २०७२ मा २५ पुरुष र १० महिला गरी ३५ जनालाई उद्धार गरिएको थियो। एक जनाको ज्यान गएको थियो।

थसिखेलको अजय शिक्षा सदनमा अध्ययनरत १७ वर्षीय जोन तामाङ दुई वर्षअघि हराएका थिए। उनलाई ६ दिनमा मात्रै उद्धार गरिएको थियो। पहिलो पटक २०७१ सालमा एक व्यक्ति हराएको उजुरी आएको प्रहरीले जनाएको छ। उनको खोजी गर्दा जंगलको खोंचमा मृत अवस्थामा भेटिएको थियो। फूलचोकी जंगल १३ किलोमिटरमा फैलिएको छ।

परिसर प्रमुख राईका अनुसार घुम्न जानेलाई सजिलो होस् भनेर ठाउँ–ठाउँमा नक्सा तथा सूचना राखिएको छ। ‘तर, प्रहरीको सल्लाह मानेको देखिएन’, उनले भने।

किशोरकिशोरी एकान्त खोज्दै जाँदा बाटो बिराउने गरेको प्रहरीको ठम्याइ छ। फूलचोकी जाँदा भिरालो बाटो, जंगली जनावरको त्रास र चोरी पनि हुन सक्ने जानकारी प्रहरीले दिँदै आएको छ। लोकेसन पत्ता लगाउन नसक्दा, फोनको नेटवर्क नहुँदा खोज्न समस्या हुने देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.