जिल्लैपिच्छे आइसोलेसन र क्वारेन्टाइन

जिल्लैपिच्छे आइसोलेसन र क्वारेन्टाइन

विराटनगर : कोरोना भाइरसको संक्रमणबाट जोगिन प्रदेश १ का प्रायः सबै जिल्लामा क्वारेन्टाइन र आइसोलेसन कक्ष स्थापना भइरहेको छ।

प्रदेश १ सरकारले सेनासँगको समन्वयमा मोरङको टाँडी र उदयपुरको कटारीमा २/२ सय बेड क्षमता र झापाको भद्रपुरमा ४० बेडको क्वारेन्टाइन निर्माण सकेसँगै अन्य जिल्लामा स्थानीय तह र सामाजिक संस्थाले धमाधम क्वारेन्टाइन र आइसोलेसन कक्ष निर्माण गरिरहेका छन्।

धनकुटामा जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय सरोकारवालाको सक्रियतामा धनकुटा–६ स्थित अमलेटारमा औद्योगिक ग्रामको स्वामित्वमा रहेको टहरामा क्वारेन्टाइन डेस्क र आइसोलेसन कक्ष तयार गरिएको छ। ग्रामभित्रको १३ वटा पक्की भवन प्रयोग गरी १५ बेडको क्वारेन्टाइन तथा २ जनाका लागि आइसोलेसन कक्ष तयार गरिएको छ।

आवश्यक परे तत्कालै थप ५४ जनाका लागि क्वारेन्टाइन र १० जनाका लागि आइसोलेसन कक्ष विस्तार गर्न सकिने गरी बेडलगायत सामग्री तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीले जानकारी दिए।

इलाममा २ बेडको आइसोलेसन कक्ष सञ्चालनमा ल्याएको छ भने १० वटा दुई दिनभित्र सुरु गरिने जिल्ला प्रशासन कार्यालय इलामका सूचना अधिकारी सफल पोर्तेलले बताए। उनका अनुसार संक्रमणको खतरा देखिएमा त्यहाँ राखेर तत्काल अन्यत्र रिफर गर्न सो व्यवस्था गरिएको हो। इलाम नगरपालिका–६ सिंगफ्रिङस्थित बन्द रहेको डा. मेघबहादुर पराजुली सामुदायिक अस्पतालमा दुई दिनमा सञ्चालनमा ल्याउने गरी १० बेडको क्वारेन्टाइन तथा आइसोलेसन वार्ड बनाउन थालिएको नगर प्रमुख महेश बस्नेतले बताए।

पाँचथरमा २५ बेडको आइसोलेसन कक्ष निर्माण थालिएको छ। सदरमुकाम फिदिममा सञ्चालित समर्पित अस्पतालमा १५ बेड र फाल्गुनन्द गाउँपालिकास्थित राँके बजारमा रहेको रेडक्रस भवनमा १० बेडको आइसोलेसन कक्ष निर्माण गर्न थालिएको हो।

भाइरसबाट संक्रमित भएर आएका बिरामीलाई तत्काल उपचारका लागि आइसोलेसन कक्ष तयारी गरिएको जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले जानकारी दिए। तयारीस्वरूप पाँचथरमा तीन जना चिकित्सकको नेतृत्वमा मेडिकल टिमसमेत निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले बताए। चिकित्सक बुद्धिबहादुर थापा, पुष्कर निरौला र पिके सिंहको नेतृत्वमा मेडिकल टिम तयार रहेको उनले जानकारी दिए।

संखुवासभा जिल्ला अस्पतालले ५ बेडको आइसोलेसन वार्ड निर्माण गरेको छ। अस्पतालले तत्कालका लागि ५ बेडको आइसोलेसन वार्ड निर्माण गरिसकेको र १५ बेड थपको तयारी पनि भइरहेको छ। आइसोलेसनका लागि आवश्यक अक्सिजन, सक्सन मेसिन, सेन्सर थर्ममिटरलगायत सामग्री पूरा भए पनि पर्सनल पोटेक्टिक इक्युपमेन्ट (पीपीई) अभाव रहेको अस्पताल प्रशासन प्रमुख दीपेश श्रेष्ठले बताए। जिल्ला अस्पताल थप १५ बेडको आइसोलेसन वार्ड निर्माणका लागि १५ वटा बेड प्रदेश सरकारसँग माग गरिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष सुमन शाक्यले जानकारी दिए। त्यस्तै, खाँदबारी नगरपालिकाले ३० जना राख्न मिल्ने गरी क्वारेन्टाइन निर्माण गरिएको नगर प्रमुख मुरारी खतिवडाले बताए। वरुण बहुमुखी क्याम्पस भवनमा क्वारेन्टाइनका लागि आवश्यक बेड, खानाको व्यवस्था गरिएको उनले जानकारी दिए।

भोजपुरमा १० बेडको आइसोलेसन कक्ष व्यवस्थापन गरिएको छ। जिल्ला अस्पतालले सम्भावित कोरोना भाइरसका शंकास्पद बिरामीका लागि आइसोलेसन कक्ष राखेको हो। आइसोलेसनसँगै भोजपुर नगरपालिका १२, टक्सारमा रहेको तत्कालीन पर्यटन सूचना केन्द्रको खाली भवनमा १० जना बिरामी क्षमताको क्वारेन्टाइनको व्यवस्था गरिएको छ।

झापामा भद्रपुर नगरपालिका–१० मा रहेको प्रशिक्षण भवन कलबलगुढीमा भद्रपुर नगरको संयोजकत्वमा स्वास्थ्यकर्मीसहितको सुविधा सम्पन्न ३२ बेडको क्वारेन्टाइन निर्माण गरेको छ। मेचीनगरपालिकाले सरस्वती माविमा १५ बेडको क्वारेन्टाइन तयार गर्दै छ भने ११ नम्बर वार्डको स्वास्थ्य चौकीमा २२ वटा बेडको क्वारेन्टाइन तयारी अवस्थामा छ। उक्त भवनको अरू २ तलामा थप ७० बेडको क्वारेन्टाइन तयार गरिँदै छ। यसैगरी, मेचीनगरकै वडा नम्बर ७ मा रहेको माइतीघरको भवनमा २२ जना बस्न मिल्ने क्वारेन्टाइन तयारी अवस्थामा छ। जिल्लाभरि मेची अञ्चल अस्पतालमा मात्र ५ बेडको आईसीयू सहितको आइसोलेसन कक्ष तयार पारिएको छ। अन्य स्थानमा आइसोलेसन छैन।

ताप्लेजुङ जिल्ला अस्पतालले सोमबारदेखि ५ बेडको आइसोलेसन कक्ष सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य कार्यालयको स्टोर भवनलाई आइसोलेसनका रूपमा प्रयोग गरिने अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले बताए।

यस्तै, सुनसरीको धरानस्थित सेनाको आर्मी स्कुलमा ६० बेडको क्वारेन्टाइन बनेको सुनसरीका सीडीओ राजेश पौडेलले जानकारी दिए। उनका अनुसार आइसोलेसनका लागि इनरुवाको जिल्ला अस्पतालमा चार वटा बेडको व्यवस्था गर्न लागिएको छ। इनरुवा अस्पतालको निर्माणाधीन भवनमा बनाउन लागिएकाले पूर्वाधार र सामग्रीका लागि आन्तरिक मामिला मन्त्रालयसँग सहयोग मागिएको उनले बताए। यस्तै, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३० वटा बेडका लागि भनिएको उनले जानकारी दिए।

(हरिबहादुर लम्जेल/धनकुटा, तोयानाथ भट्टराई/इलाम, भीमकुमार बाँस्कोटा/पाँचथर, सीताराम गुरागाईं/ताप्लेजुङ, अनिश विष्ट/संखुवासभा, प्रदीपचन्द्र राई/भोजपुर, राधा खनाल/झापा, हिमाल दाहाल/इटहरी)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.