ओलम्पिकको निर्णय चार सातापछि

ओलम्पिकको निर्णय चार सातापछि

जेनेभा : विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण ओलम्पिक खेलकुद अन्योलमा परेको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीलाई विश्व खेलकुदको महाकुम्भ ओलम्पिक तत्काल स्थगित गरिनुपर्ने चर्को दबाब परिरहेको छ। विश्वभरका थुप्रै खेलाडी, राष्ट्रिय ओलम्पिक कमिटी र आईओसीकै पदाधिकारीहरूले समेत अहिलेको अवस्थामा ओलम्पिक खेलकुद रोक्नुको कुनै विकल्प नरहेको बताउँदै आएका छन्।

यस्तोमा आइतबार राति बसेको आईओसी कार्यकारी बोर्डको बैठकले पनि अहिलको अवस्थामा ओलम्पिक हुन नसक्ने निक्र्योल निकालेको छ। यद्यपि, आईओसीले ओलम्पिक स्थगित गर्ने निर्णय भने लिएको छैन। आईओसीले ओलम्पिकको विषयमा निर्णय लिन चार साताको समय माग गरेको छ। ओलम्पिक खेलकुद आगामी जुलाई २४ देखि अगस्ट ९ तारिखसम्म जापानको राजधानी टोकियोमा आयोजना हुने कार्यक्रम छ। अबको चार सातापछि आईओसीले ओलम्पिकको विषयमा अन्तिम निर्णय लिनेछ। आईओसीको आगामी बैठकले ओलम्पिक केही समय पछि सारेर यसै वर्ष आयोजना गर्ने वा एक वर्षका लागि पछि सार्ने भन्ने विषयमा निर्णय लिने बताइएको छ।

‘अहिलेको स्थितिमा ओलम्पिक आयोजना गर्नु सम्भव छैन। तर, हतारमा अहिले नै ओलम्पिक स्थगित गरिहाल्नु पनि उपयुक्त होइन’, आईओसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ। ‘ओलम्पिक रद्द गर्नु एजेन्डमा होइन तर, गतिविधिलाई सीमित पार्न वा केही फेरबदल गर्न सकिन्छ कि भन्ने विषयमा भने छलफल हुन सक्छ’, आईओसीले भनेको छ। आईओसीका अध्यक्ष थोमस ब्याच पनि ओलम्पिक स्थगनको निर्णय लिन हतार गर्ने पक्षमा छैनन्। उनी अझै केही समय पर्ख र हेरको स्थितिमा देखिएका छन्।

चीनबाट सुरु भई विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण हालसम्म करिब १५ हजार व्यक्तिको मृत्यु भइसकेको छ। विश्वभर तीन लाखभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट संक्रमित छन्। भाइरसको संक्रमण फैलिने क्रम झनै बढ्दो छ। यस्तोमा थुप्रै खेलाडी र विभिन्न राष्ट्रका ओलम्पिक कमिटीले ओलम्पिक खेलकुद स्थगित गर्न आईओसीलाई दबाब दिँदै आएका छन्।

अघिल्लो साता जापानका प्रधानमन्त्री सिन्जो आबेले अहिलेको स्थितिमा पनि आफूहरू ओलम्पिक आयोजना गर्न तयार रहेको बताएपछि यससम्बन्धी विवाद झनै चुलिएको थियो। जापानले ओलम्पिक आयोजनाको अभियानलाई निरन्तरता दिँदै केही दिनअघि ग्रिसबाट ओलम्पिक ज्योतिसमेत आफ्नो राष्ट्रमा ल्याइसकेको छ।

आधुनिक ओलम्पिक खेलकुदको सुरुआत ग्रिसबाट भएको हो। त्यसैले विश्वको जुनसुकै राष्ट्रमा ओलम्पिक आयोजना भए पनि ओलम्पिक ज्योति भने ग्रिसबाट ल्याउने प्रचलन छ। आयोजक राष्ट्र जापानले ओलम्पिक अभियानलाई निरन्तरता दिइरहँदा प्रतियोगितामा भाग लिने खेलाडीहरू भने त्रसित बन्दै गएका छन्।

‘आईओसीको कार्यकारी बोर्डको बैठकले ओलम्पिक खेलकुदको विषयमा पुनर्विचार गर्ने निर्णय लिनु स्वागतयोग्य कार्य हो’, ब्रिटिस ओलम्पिक कमिटीका अध्यक्ष सर ह्युग रोबर्टसनले भनेका छन्, ‘समग्र विश्व खेलकुद यतिबेला आईओसीको ठोस निर्णयको प्रतीक्षामा छ त्यसैले यसमा विलम्ब गर्नु हुँदैन।’

आईओसीमाथि दबाब बढ्दो
गत शनिबार अमेरिकाको राष्ट्रिय पौडी संघ र बेलायतको एथलेटिक्स संघले ओलम्पिक सन् २०२१ मा गरिनुपर्ने प्रस्ताव राखेका थिए। यी दुवै संघले कोरोना भाइरसका कारण संसारका सबै खेलकुद ठूला प्रतियोगिता रोकिएको अवस्थामा ओलम्पिक क्यालेन्डर पनि सारिनुपर्ने माग राखेका थिए।

अमेरिकी पौडी संघले अमेरिकाको ओलम्पिक कमिटी र पाराओलम्पिक कमिटीमार्फत ओलम्पिक सारिनुपर्ने प्रस्ताव राखेको हो। ‘ओलम्पिकको मुखमा हामीले नसोचेको महामारी खेपेका छौं। यसले खेलाडीमा सन्त्रास फैलिएको छ। पहिलो प्राथमिकता भनेको मानिसको जीवन नै हो’, अमेरिकी पौडी संघका प्रमुख हिन्चेले भनेका छन्।

यसैगरी बेलायत एथलेटिक्स संघका अध्यक्ष निक कोवार्डले अहिले ओलम्पिक आयोजना गरेर केही फाइदा नहुने बताएका छन्। उनले ओलम्पिक स्थगित गरिनुपर्ने माग पनि राखेका छन्। कोरोना भाइरसका कारण अहिले विश्व खेलकुद नै प्रभावित बनेको छ। सबै खाले खेलकुद गतविधि ठप्प भएका छन्। यसै वर्ष आयोजना हुने भनिएको युरो कप फुटबल र कोपा अमेरिका फुटबल पनि एक वर्ष सार्ने निर्णय भइसकेको छ।

आईओसीकी सदस्य हेली विकनहेजरले पनि अहिलेकै स्थितिमा ओलम्पिक खेलकुद आयोजना गरिनु ‘संवेदनहीन र गैरजिम्मेवार’ कार्य हुने धारणा व्यक्त गरेकी छन्। ‘अहिले विश्वभर आइपरेको संकट ओलम्पिक खेलकुदभन्दा निकै ठूलो हो’, यसै वर्ष आयोजना हुने ओलम्पिक तत्कालका लागि स्थगित गरिनुपर्ने धारणा राख्दै उनले भनेकी छन्।

‘कोरोना भाइरसले विश्वलाई गाँजेको छ। आगामी २४ घण्टाभित्र अवस्था कस्तो हुन्छ भनेर कल्पना गर्न सक्ने स्थिति छैन। यस्तो स्थितिमा ओलम्पिक आयोजना गर्छु भन्नु राम्रो कुरा होइन’, पूर्वखेलाडीसमेत रहेकी ४१ वर्षीया हेलीले भनेकी छन्।’ हेलीसहितको क्यानेडियन टोलीले शीतकालीन ओलम्पिकमा लगातार चार पटक आइस हकीको स्वर्ण पदक जितेको थियो।

यसैगरी ब्रिटेनका धावक गुय लियरमन्थले पनि तत्कालका लागि ओलम्पिक खेलकुद स्थगित गरिनुपर्ने बताएका थिए। उनले गत वर्ष सम्पन्न युरोपियन इन्डोर एथलेटिक्स च्याम्पियनसिपमा ब्रिटिस टोलीको कप्तानको भूमिका निर्वाह गरेका थिए। उनी आठ सय मिटर दौडका धावक हुन्। गुय लियरमन्थ ओलम्पिक रोक्न माग गर्ने पहिलो ब्रिटिस खेलाडी हुन्।

‘ओलम्पिक आयोजना गर्ने यो उपयुक्त समय होइन। मानिसको जीवनभन्दा ठूलो कुरा अरू केही हुन सक्दैन। यसतर्फ सबैको ध्यान जानु आवश्यक छ’, उनले भनेका छन्, ‘सफल ओलम्पिक हामी सबैको चाहना हो तर, त्यसका लागि उपयुक्त समय पर्खनु बुद्धिमानी हुनेछ।’ आईओसीका अर्का सदस्य डिक पाउन्डले पनि यही अवस्थामा ओलम्पिक हुन नसक्ने बताएका छन्। ओलम्पिकलाई लक्षित गरी गरिएको तयारी पनि कतिपय देशले स्थगित गरिसकेका छन्।

क्यानडाले ओलम्पिकमा भाग नलिने
क्यानडाले जापानमा आयोजना हुने ओलम्पिक खेलकुद प्रतियोगितामा भाग नलिने भएको छ। क्यानडाले ओलम्पिक र पारा ओलम्पिक दुवै प्रतियोगितामा आफ्ना खेलाडी नपठाउने निर्णय लिएको हो। क्यानडाले आईओसीलाई तत्काल ओलम्पिक खेलकुद एक वर्ष पछाडि सार्न सुझाव पनि दिएको छ। ‘हाम्रा लागि अहिले आफ्ना खेलाडीको स्वास्थ्यभन्दा ठुलो कुरा अरू केही हुन सक्दैन’, विज्ञप्तिमा भनिएको छ।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण क्यानडाले यस्तो निर्णय लिएको हो। क्यानडा आगामी ओलम्पिकमा भाग नलिने निर्णय गर्ने पहिलो राष्ट्र बनेको छ। ‘अहिलेको स्थितिमा ओलम्पिक खेलकुद आयोजना गर्नु हुँदैन। यदि ओलम्पिक निर्धारित समयमै हुन्छ भने हामी आफ्ना खेलाडी सहभागी गराउँदैनौं’, क्यानडाको ओलम्पिक र पारा ओलम्पिक कमिटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पक्कै पनि हाम्रा लागि यो निर्णय लिनु सहज थिएन।’

यसैबीच, अस्ट्रेलियाले पनि अहिलेको स्थितिमा ओलम्पिक खेलकुद आयोजना हुन नसक्ने निष्कर्ष निकालेको छ। ओलम्पिक खेलकुद आगामी जुलाई २४ देखि अगस्ट ९ तारिखसम्म जापानको राजधानी टोकियोमा आयोजना हुने कार्यक्रम छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.