कृषिजन्य वस्तुको बजार घट्यो

कृषिजन्य वस्तुको बजार घट्यो

काठमाडौं : बजारमा कृषिजन्य वस्तुको बिक्री घटेको छ। यसले केही कृषिजन्य वस्तुको व्यवसाय नै धरासायी हुने अवस्थामा पुगेको छ। कोरोना भाइरसको त्रासका कारण माग घट्नुका साथै बजार बन्द हुँदा दूध, दुग्धजन्य पदार्थ, मासु, अण्डा, पुष्पजन्य व्यवसायमा ठूलो असर परेको छ। कृषिजन्य वस्तुको सबैभन्दा ठूलो बजार काठमाडौं उपत्यका हो। पछिल्ला केही दिन यता थुप्रै मानिसले उपत्यका छाडिसकेका छन्।

कोरोना भाइरसको त्रासले दुग्ध विकास संस्थान (डीडीसी), नेपाल डेरी एसोसिएसन, नेपाल डेरी उद्योग, नेपाल फ्लोरिकल्चर एसोसिएसन, कुखुरा र अण्डा व्यवसायी समस्यामा परेका छन्। उत्पादन भएका पदार्थ र वस्तुको बिक्रीमा करिब ३० प्रतिशतले कमी आउँदा यस्ता क्षेत्रलाई ठूलो आर्थिक धक्का लागेको सरोकारवालाको भनाइ छ।

दूध र दुग्धजन्य पदार्थ (नौनी, घिउ, वटर, चिज) मा रोगसँग लड्ने प्रतिरोधी क्षमता वृद्धि गर्ने तत्व भए पनि कोरोना भाइरसको त्रासका कारण यसको उपभोग घटेकाले यो क्षेत्र अहिले आर्थिक संकटमा परेको नेपाल डेरी उद्योग संघका पूर्वअध्यक्ष अरनिको राजभण्डारीले जानकारी दिए। उनका अनुसार दूध र दुग्धजन्य पदार्थ बढी खपतहुने होटेल, रेस्टुराँ, पार्टी प्यालेस, वैक्वेट बन्द भएको, स्कुल, कलेज र सभासम्मेलन बन्द भएको र राजधानीबाट ठूलो जनसंख्या बाहिरिएकाले दूधको खपतमा करिब ३० प्रतिशतले कमी आएको राजभण्डारीले बताए।

निजी क्षेत्रबाट प्रशोधन गरिएको चार लाख लिटर दूध दैनिक खपतहुँदै आएकोमा पछिल्लो चारदेखि यसको बजार घटेर दुई लाख ८० हजार लिटरमा सीमित भएको छ। दैनिक एक लाख २० हजार लिटरको दूध बजारमा बिक्रीहुन छाडेको संघको भनाइ छ। ‘बल्लबल्ल यो क्षेत्र सप्रिएको थियो तर कोरोना त्रासले यो क्षेत्रलाई ध्वस्तै बनाउन थाल्यो’, राजभण्डारीले भने। यस्तै डीडीसीको बजारमा ४४ प्रतिशतले कमी आएको छ। डीडीसीको बजार व्यवस्थापन विभागका प्रमुख सञ्जीवकुमार झाका अनुसार डीडीसीले दैनिक एक लाख ७२ हजार लिटर दूध उपत्यकाको बजारमा पठाइरहेको थियो। तर पछिल्लो समयमा बिक्री घट्दा करिब ९६ हजार तीन सय २० लिटर मात्रै बजारमा बिक्री भइरहेको छ। दैनिक डीडीसीको ७५ हजार ६ सय ८० लिटर बजारमा बिक्री हुन नसकेको डीडीसीले जनाएको छ।

चिसोको कारण कोरोनाको संक्रमण अत्यधिक बढ्छ भन्ने आशंकामा दही बिक्रीमा ६० प्रतिशतले कमी आएको झाले जानकारी दिए। ‘हामीले उत्पादन गरेको दूधको माग नै बजारमा घटेको छ’, झाले भने, ‘दूध संकलन अत्यधिक तर बिक्री घट्दा व्यवस्थापन गर्नै कठिन भएको छ।’

डीडीसीले पर्यटन वर्षलाई लक्षित गरी ठूलो परिमाण उत्पादन गर्न सुरु गरेको याक चिजको बजार पनि अहिले अन्योलमा परेको छ। वार्षिक ५० टन चिज उत्पादन गर्दै आएको डीडीसीसँग अहिले पुरानो २८ हजार किलो चिज मौज्दात छ। चिज मुख्य गरी नेपालमा भित्रिने पर्यटकले खरिद गर्दै आएका थिए। पर्यटन वर्षलाई लक्षित गरी डीडीसीले उत्पादनमा वृद्धि गर्न याक किसानलाई एक करोड २३ लाख अग्रिम भुक्तानी गरेको थियो।

अग्रिम भुक्तानी पाएका किसानले उपलब्ध गराउने याकको दूधबाट ५० हजार टन चिज उत्पादन हुँदै छ। सरकारले तत्कालका लागि पर्यटन वर्षमा रोक लगाएको र पर्यटकको आगमनमा पनि रोक लागेका कारण उत्पादन हुन लागेको यो चिजको बजारीकरण गर्न डीडीसीलाई ठूलो समस्या आएको छ।

उद्योगीका अनुसार खपतहुन नसकेको कच्चा दूधलाई पाउडर दूधमा परिणत गर्न पनि ठूलो समस्या सिर्जना भएको छ। नेपालमा डीडीसीको विराटनगरमा र निजी क्षेत्रको पोखरामा सुजल र चितवनमा चितवन मिल्क छ। तीनवटै पाउडर प्लान्टको कच्चा दूध भण्डारण गर्ने क्षमता पूर्ण रूपमा भरिसकिएको छ। खपत नभएको दूधबाट पाउडर बनाउन पाउडर प्लान्टसँग भण्डार क्षमता नै अहिले छैन। ‘खपत नभएको दूधलाई पाउडर बनाउ भने प्लान्टको क्षमता नै सकिएको छ,’ नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले भने, ‘दूधको खपत दर निजी क्षेत्रको उद्योगमा खपत नभएको एक लाख ६० हजार लिटर दूध दैनिक पाउडरमा परिणत गर्न सुजल र चितवन मिल्कमा पठाउने गरिएको छ। दुवै उद्योगले यसअघि नै एक करोड २० लाख लिटर दूध प्रशोधन गरी एक हजार टन पाउडर दूध उत्पादन गरिसकेका छन्। पाउडर दूध चैत्रदेखि साउनसम्मको अवधीमा दूध उत्पादन कमहुँदा प्रयोगहुन्छ। ‘तर यही समयमा कच्चा दूध नै खपत नभएको अवस्थामा पाउडर दूधको खपत कसरी गर्ने विषय जटिल बनेको छ’, सापकोटाले भने।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसीका अनुसार कुखुराको मासुको बजारमा अहिले ३० प्रतिशतले गिरावट आएको छ। राम्ररी पकाएर खान विज्ञले आग्रह गरे पनि सर्वसाधारणले कुखुराको मासु उपभोग गर्न नै बिस्तारै बन्द गरेकाले देशभरको बजारमा ३० प्रतिशतले कमी आएको बीसीले जानकारी दिए। देशभर ५ लाख किलो प्रतिदिन बिक्री भइरहेकोमा एक लाख ५० हजार किलोले कमी आएर अहिले तीन लाख ५० हजार किलो मात्रै बिक्री भइरहेको छ।

नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमार कसजू श्रेष्ठका अनुसार पर्यटन क्षेत्रसँगै पुष्प व्यवसाय क्षेत्रमा पनि ठूलो घाटा लागेको छ। कार्यक्रम, सभा सम्मेलन, होटेल, रेस्टुराँ, वैक्वेटलगायत बन्द भएपछि पुष्प र पुष्पबाट निर्माणहुने सजावटका सामग्रीको बिक्री ठप्प भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.