लकडाउन कार्यान्वयन गर्न निषेधाज्ञा
काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) फैलिन नदिन सरकारले सुरु गरेको सातदिने लकडाउनको पहिलो दिन मंगलबार काठमाडौं उपत्यका सुनसान रह्यो । लकडाउन अवज्ञा भएपछि केही जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासनले कतिपय जिल्लामा सेना नै परिचालन गरेको छ ।
काठमाडौंमा अत्यावश्यकबाहेक अन्य सवारी साधन चलेनन् । बिहानपख भने खाद्यान्न खरिद गर्न पसलमा भीड देखिन्थ्यो । सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहरा दिइरहेका थिए । लकडाउनमा घरबाहिर ननिस्किन सरकारले आग्रह गरे पनि सर्वसाधारण गन्तव्यमा पुग्न हतास देखिन्थे ।
कफ्र्युमा जत्तिकै सुरक्षाकर्मीले चोक–चोकमा पहरा दिएका थिए । खानेपानी, ग्यास, अस्पताल, एम्बुलेन्स र सञ्चार संस्थाका सवारी साधन फाट्टफुट्ट चलेका थिए । प्रहरीले टोल–टोलमा माइकमार्फत सरसफाइमा ध्यान दिन सचेतना अभिवृद्धि गराउँदै हिँडेका थिए । मोटरसाइकलमा ग्यास र चामलका बोरा बोकेर सर्वसाधारण गन्त्यव्यमा लागेको देखिन्थ्यो ।
उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयमा सवारी साधनको पास लिन घुइँचो थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाडौंमा कुनै पनि प्रकारको अभाव हुन नदिन सरोकारवाला निकायसँग समन्वय गरेर काम गरिरहेको बताए । ‘लकडाउनको अर्थै सर्वसाधारणलाई घरबाहिर ननिस्किई जीवनयापन गर्नु भन्ने हो’, उनले भने, ‘खाद्यान्न, ग्यास र खानेपानीको व्यवस्थापनका लािग आपूर्ति मन्त्रालय र खानेपानी मन्त्रालयसँगै निजी खानेपानी वितरण संस्थासँग समन्वय भइरहेको छ ।’ उनले दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाइने बताए ।
महानगरपालिकाको एम्बुलेन्स सेवा
काठमाडौं महानगरपालिकाले कोरोना संक्रमणको आशंका भए अस्पतालसम्म लैजाने व्यवस्थाका लागि महानगरपालिकाको सहयोगमा सञ्चालित नेपाल एम्बुलेन्स सेवा (१०२) मा फोन गर्न आग्रह गरेको छ । उसले जनशक्ति र स्वास्थ्य सामग्रीसहित तयारी अवस्थामा एम्बुलेन्स राखिएको जनाएको छ । काठमाडौं महानगरको टोल फ्री नम्बर ११८० लाई २४ सै घण्टा सञ्चालनमा ल्याइएको मेयर विद्यासुन्दर शाक्यले बताए ।
किराना र तरकारी पसल खुल्ने
गृह मन्त्रालयले लकडाउनमा किराना र तरकारी पसल खोल्न मिल्ने जनाएको छ । भीडभाड नगरी पसल खोल्न नरोकिएको मन्त्रालयका प्रवक्ता केदरानाथ शर्माले जानकारी दिए । ‘अत्यावश्यक वस्तु चाहिन्छ । रोक्न मिल्दैन । उपभोग्य वस्तु खरिद गर्न सर्वसाधारण बाहिर निस्किन पाउँछन्’, उनले भने, ‘तर, अनावश्यक हिँडडुल गर्न सर्वसाधारणलाई रोक लगाइन्छ ।’
२ सय साधन नियन्त्रणमा
बुटवल ः लकडाउन अवज्ञा भएपछि केही जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
प्रदेश ५ का गुल्मी, अर्घाखाँची, कपिलवस्तु, बर्दिया, पश्चिम नवलपरासीमा निषेधाज्ञा जारी गरिएको छ ।
सुरक्षाकर्मीले नागरिकलाई घरबाहिर निस्किन दिएका छैनन् । अत्यावश्यक कामबाहेकलाई सडकमा हिँड्न रोकिएको छ । गुल्मी सदरमुकाम तम्घासमा निषेधाज्ञाका कारण घरको पेटीमा पनि सुरक्षाकर्मीले बस्न दिएका छैनन् । ‘घरभित्रै बस्नुस्, बाहिर बस्ने होइन’ भन्दै भित्र पठाउने गरेको सर्वसाधारणले जनाएका छन् ।
काम परेरै बाहिर निस्किनेले पनि अनिवार्य मास्क लगाउनुपर्ने प्रशासनले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले स्थानीयलाई घरबाहिर ननिस्किन माइकिङ गरिरहेको छ ।
लकडाउनको पहिलो दिन भएकाले अलपत्र यात्रुलाई जाँच गरी गन्तव्यमा जान दिएको प्रहरी प्रमुख राजेन्द्रसिंह खड्काले बताए । उनले लकडाउन अवेज्ञा गर्ने केही मोटरसाइकललाई नियन्त्रणमा लिई पछि छाडिएको जनाए । सदरमुकाम तमघास ठप्प बन्द छ ।
प्रहरीले हिँडडुल गर्न दिएको छैन । निषेधाज्ञाले बर्दियाको गुलरिया सुनसान छ । गुलरिया नगरपालिका–६ निवासी शिवकुमार उपाध्याय कोरोना महामारीका कारणले लकडाउन गरिएपछि चौतर्फी ठप्प भएको बताउँछन् । लकडाउन भएपछि बोर्डरबाट मानिस आवतजावत गर्न छाडेका छन् ।
बजारमा देखिएकालाई सुरक्षाकर्मीले सोधपुछ गर्दै अनावश्यक हिँडडुल गर्नेलाई घर फर्काएका छन् । बर्दियाका गुलरिया, मधुवन, राजापुर, बारबर्दिया, ठाकुरबाबा, बाँसगढी नगरपालिका र गेरुवा तथा बढैयाताल गाउँपालिकाका बजार अत्यावश्यक सामाग्री बाहेक पूर्णरूपमा बन्द छन् ।
बर्दियासँग सीमा जोडिएका भारतको उत्तरप्रदेशलगायत प्रान्तमा कोभिड—१९ बाट संक्रमित हुनेको संख्या बढ्दै गएपछि संक्रमणबाट जनसमुदायलाई जोगाउन निषेधाज्ञा जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।
निषेधाज्ञा अवज्ञा गर्नेलाई कानुनबमोजिम कारबाही गरिने उनले बताए ।
लकडाउनले पाल्पा सुनसान छ । सदरमुकाम तानसेनलगायत १० वटै स्थानीय तहका बजार पूर्णरूपमा बन्द छन् ।
सिद्धार्थ राजमार्गको बतुंग, तानसेन बसपार्क, जिल्ला भित्रने तथा बाहिरी नाका प्रहरीले सवारी साधन प्रवेशमा रोक लगाएको छ । पाल्पामा अत्यावश्यक सेवा, एम्बुलेन्स, दूध, पानी, तरकार तथा खाद्यान्न, औषधि ओसारपसारका लागि जिल्ला प्रशासन कार्यालयबाट सवारी साधन सञ्चालन एकदिने पास लिएर मात्र सञ्चालनको व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी यादवराज सुवेदीले बताए ।
पाल्पा जिल्लाको मुख्य नाका, सिद्धार्थ राजमार्गको दोभान, राम्दी, स्याङजा, तनहँु, नवलपरासीको सीमा नाका रामपुर अर्घाखाँचीको छहरा, गुल्मीको अर्गली, नवलपरासीको मित्याल, गोठादीलगायत नाकामा प्रहरीले सवारी साधन आवतजावतमा रोक लगाइएको पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपेन्द्र जीसीले बताए ।
परासीमा पनि निषेधाज्ञा
लकडाउन अवज्ञा भएपछि पश्चिम नवलपरासीमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासीले जिल्लामा निषेधाज्ञा जारी गरेको हो । सरकारले मंगलबार बिहान ६ बजेदेखि गरेको लकडाउनको सर्वसाधारणले बेवास्ता गरेपछि प्रशासनले कार्यालय परासीले आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव दहालले बताए । अर्को आदेश नहुदाँसम्म निषेधाज्ञा जारी रहने जनाइएको छ । प्रशासनले निषेधाज्ञा अवज्ञा गरिए कारकाही गर्ने चेतावनी दिएको छ । मंगलबार लगडाउन अवज्ञा गर्दै मोटरसाइकल, साइकल तथा पैदल यात्रु हिँडेका थिए ।
सेना खटाइएपछि सुनसान
नेपाल प्रहरीले नागरिकलाई घरभित्रै बस्न गरेको अनुरोध नमानेपछि राजविराजमा नेपाली सेना परिचालन भएका छन् । कोरोना भाइरस (कोभिड–१९) फैलिन नदिन सरकारले देशभर लकडाउन गरेकाले बाहिर नजान र गाडी नचलाउन अनुरोध गर्दै सेना निस्किएपछि सडक सुनसान छ । कोरोना रोकथामका लागि उच्च सतर्कता अपनाउन सेनालाई सडकमा उतार्नुपरेको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनील खनालले बताए ।
प्रहरीका साथै सडकमा उत्रिएको भीमदल गणका सैनिकले लकडाउन कार्यान्वयनलाई कडाइ गरेका छन् । आवतजावत रोक्न चोक तथा भित्री सडकमा माइकिङ गरी सावधानी अपनाउन र घरबाट ननिस्किन प्रहरीले अनुरोध गरिरहेको छ । सामाजिक सञ्जालमार्फत सर्वसाधारणले सरकारको निर्णयको खुलेर प्रशंसा गर्दै लकडाउनप्रति पूर्ण समर्थन जनाएका छन् ।
जिल्ला प्रहरी सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले सर्वसाधारण जनताबाट लकडाउनको पालना भइरहेको र नजानेर पालना नगर्नेलाई सम्झाइबुझाइ गरेर फर्काएको बताए । लकडाउनमा उपचार, खाद्यान्न आपूर्ति र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन प्रहरी उपरीक्षक प्रसाईंले आग्रह गरे । कोरोना संक्रमण फैलिने सम्भावनालाई ध्यानमा राखेर अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्किन र अनुमतिप्राप्त गाडी, सुरक्षा र स्वास्थ्यकर्मीका गाडीबाहेक अन्य नचलाउन उनले आग्रह गरे ।
भारतबाट नेपाल आउने नागरिकलाई सीमा नाकामा रोकेर नजिकै रहेको क्वारेन्टाइनमा १४ दिन राखिने प्रजिअ खनालले बताए । क्वारेन्टाइनका लागि राजविराजसहित हनुमाननगर कंकालिनी, बोदे बर्साइन नगरपालिका, तिलाठी कोइलाडी, छिन्नमस्ता, बलान बिहुल गाउँपालिकामा व्यवस्था गर्न लगाइएको छ । ०००
(बर्दियाबाट यादव आचार्य, गुल्मीबाट गंगा खड्का, पाल्पाबाट कृष्ण पोखरेल, नवलपरासीबाट हरि शर्मा, बुटवलबाट सुदीप भण्डारी, सप्तरीबाट मनोहर पोखरेल)